• १६ भदौ २०८१, आइतबार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा समस्या

blog

बुटवल समाचारदाता 

बुटवल, भदौ १२ गते । बुटवलमा दुई वर्षअघि उद्घाटन भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कार्यविधि स्वीकृत नहुँदा अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।  एक अर्ब ११ करोड रुपियाँ खर्च गरी आठ वर्ष लगाएर निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका १३ वटा सभा हलमध्ये अहिले एउटा ठुलो हल मात्र सञ्चालनमा छ । बाँकी १२ वटा सभा हलको काम अझै पनि सम्पन्न हुन सकेको छैन । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आयोजना कार्यालयका प्रमुख धर्मेन्द पन्थीले १२ वटा सभा हल सञ्चालनमा ल्याउन अझै १९ करोड रुपियाँ खर्च लाग्ने बताउँदै केन्द्रबाट बजेट नपठाउँदा ती सभा हल सम्पन्न हुन नसकेको जानकारी दिनुभयो । 

आयोजना प्रमुख पन्थीले १२ वटा सभा हलको बाहिरी सबै काम सम्पन्न भए पनि ‘साउन्ड सिस्टम’ जडान, पर्दा राख्ने, रङरोगन, कुर्सीको व्यवस्थापनलगायतका काम बाँकी रहँदा ती सभा हल तयारी अवस्थामा आउन नसकेको बताउनुभयो । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ भदौ ११ गते बुटवल मण्डपमा नेपालको झन्डा आकारमा निर्माण भएको सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको थियो ।  

आयोजना प्रमुख पन्थीले केन्द्रबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनेर नआउँदा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थित रूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो । 

उहाँले कार्यविधि नबने पनि सम्मेलन केन्द्रको आन्तरिक खर्च व्यवस्थापनका लागि एउटा सभा हल भाडामा लगाउने काम भइरहेको बताउनुभयो । त्यसबाट सम्मेलन केन्द्रका लागि हुने वार्षिक खर्च धान्न सजिलो भएको छ । 

सम्मेलन केन्द्रको एउटा सभा हल भाडामा लगाएबापत गत आर्थिक वर्षमा ४१ लाख ५० हजार रुपियाँ आम्दानी भएको छ भने सम्मेलन केन्द्रको सरसफाइ, बिजुली पानी, हेरालु र कर्मचारीको खर्चबापत ४० लाख रुपियाँ खर्च भएको छ । 

आयोजना प्रमुख पन्थीले भन्नुभयो, “१३ मध्ये एउटा सभा हल मात्र चलाउँदा पनि सम्मेलन केन्द्र एक लाख ५० हजार नाफामा गयो । बाँकी १२ वटा सभा हल सञ्चालन हुने हो भने प्रशस्तै आम्दानी हुने अवस्था छ । यो सम्मेलन केन्द्र घाटामा जाँदैन ।” 

आयोजना प्रमुख पन्थीले सम्मेलन केन्द्रको कार्यविधि स्वीकृतिका लागि २०७९ जेठमै सहरी विकास तथा भवन निर्माण विभागमार्फत सङ्घीय सहरी विकास मन्त्रालयलाई बुझाइएको थियो तर अहिलेसम्म कार्यविधि स्वीकृत भएर आउन सकेको छैन ।   

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सम्मेलन केन्द्र चलाउन आफूहरू तयार रहेको बताउँदै सरकारले कार्यविधि तयार गरेर जिम्मा दिए बुटवल उपमहानगरले चलाउने बताउनुभयो । 

आयोजना प्रमुख पन्थीका अनुसार सम्मेलन केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ । त्यस्तै लिफ्टको सुविधासहित अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतिक संरचना तयार पारिएको छ । सम्मेलन केन्द्र करिब साढे नौ बिघा क्षेत्रफलमा बनेको छ । 

सम्मेलन केन्द्रको मुख्य सभा हलमा ८७२ वटा कुर्सी जडान गरिएको छ भने सभा हलसहित छ वटा बैठक हल र दुई वटा बहुउद्देश्यीय हल भवन तयार भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको गहनाका रूपमा रहेको सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रले चासो देखाएको बताउँदै सरकारले छिटो कार्यविधि बनाएर सञ्चालनको वातावरण बनाउन आग्रह गर्नुभयो ।