• १६ भदौ २०८१, आइतबार

‘धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न सकिन्न’

blog

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौं, भदौ ११ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा धितोपत्रसम्बन्धी संशोधन विधेयकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पौडेलले सरकार संविधान र कानूनसम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानूनरुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताउनु भयो । 

उहाँले कानून र व्यवस्था भन्दा बाहिर गएर लगानीकर्ता वा भोटबाट छनोट गर्ने कुरा कल्पना गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले कानून राज्यमा कानून र संविधानभन्दा बाहिर सरकार जान नमिल्ने कुरा सांसदहरुलाई जानकारी हुन आवश्यक रहेको पनि संकेत गर्नुभयो । अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सरकारले मन लागेको गर्ने छुट नभएको बताउनु भयो । 

धितोपत्र बोर्डको अध्यक्षमा सरकारले डियु कोर्षबाट कानूनसम्मत ढङ्गले योग्य र इमान्दार पात्रको छनोट गरिने प्रतिबद्धता जनाउनु भयो । उहाँले  योग्यता र इमान्दारिताको निरपेक्ष परिभाषा नहुने भन्दै प्रतिस्पर्धी बीचबाट छनोट गरिने बताउनु भयो । 

उहाँले सांसदहरुले इच्छुकहरुभन्दा बाहिरका पात्रहरुलाई अध्यक्षमा ल्याउनुपर्ने धारणा आएको भन्दै प्रतिष्पर्धा भन्दा बाहिर रहेका व्यक्तिहरु योग्य भए पनि सरकारले छनोट गर्न नसक्ने उल्लेख गर्नुभयो । 

उहाँले धितोपत्र बोर्डको अध्यक्षमा गैरराजनीतिक पात्रको खोजी गर्न नसकिने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुक दलीय व्यवस्थामा सञ्चालन हुने भएको भन्दै दल र दलहरुको भूमिका बिना अहिलेको व्यवस्था परिकल्पना गर्न नसकिने बताउनु भयो । अर्थमन्त्रीले धितोपत्र बोर्डको अध्यक्ष पनि निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्न सम्भव नभएको जिकिर गर्नुभयो । उहाँले दलीय आस्थाका आधारमा जिम्मेवारीमा रहँदा निर्णय गर्ने नपाउने अपेक्षा स्वाभाविक भएको बताउनु भयो । 

उहाँले धितोपत्र बोर्डको अध्यक्ष दलभन्दा बाहिरको पात्र खोजी गरियाे भने अन्यन्त्र कतै बरालिन पुगिने भन्दै सरकारले त्यस्तो नगर्ने बताउनु भयो । अर्थमन्त्री पौडेलले पुँजीबजारमा इन्साइडर टेडिङ, सामाजिक सञ्जालको दुरुपयोग गरेर लगानीकर्तालाई भ्रममा पार्ने नसक्ने र पुँजी बजार बलको रुपमा नभई दिगो रुपमा विकास होस् भन्ने भावका साथ विधेयक संशोधन गर्न लागेको बताउनु भयो । 

उहाँले झुटो प्रचार, भ्रमक अभिव्यक्ति दिने र लगानीकर्तालाई भ्रममा बनाउन नदिने विषयमा विधेयकले सम्बोधन गर्ने बताउनु भयो । बजारमा अराजकता फैलन नदिने गरी विधेयकमा व्यवस्था गरिएको पनि बताउनु भयो । बजारमा अनुशासनहीनता, स्वेच्छाचारिताका क्रियाकलाप नहुने, लगानीकर्ता पीडित नहुने गरी कानूनको तयारी भएको उहाँको भनाइ छ । वित्तीय साक्षरताको कमी र केही खेलाडीहरुले बजारलाई प्रभावित बनाउन सक्ने भन्दै त्यसलाई कम गर्न नियमनको प्रभावकारी प्रबन्ध हुने जानकारी दिनुभयो ।