• १६ भदौ २०८१, आइतबार

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम

blog

जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको भवन ।

अमरराज नहर्की

तनहुँ, भदौ ११ गते । स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको छ । स्वास्थ्य बिमा बोर्डले चार करोड २० लाख रुपियाँ भुक्तानी नदिएकाले उपचारको लागि समस्या भएको केन्द्रले जनाएको छ ।

रकम भुक्तानी नपाउँदा आर्थिक अभावले गर्दा औषधी र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको केन्द्रका फार्मेसी अधिकृत मुकुन्दप्रसाद यादवले बताउनुभयो । पुस सम्मको भुक्तानी दिएपनि माघदेखि साउनसम्म गरी सात महिनाको चार करोड २० लाख रुपियाँ भुक्तानी नदिएकोले उपचार नै रोक्नु पर्ने स्थिति आउन लागेको उहाँले बताउनुभयो। 

औषधी, ल्याबका केमिकल, एक्स-रे लगायतका आवश्यक स्वास्थ्य सामग्री किन्ने रकम नहुँदा उपचार प्रभावित भएको यादवले बताउनुभयो । बिमाबाट औषधी मात्रै नभएर ल्याब र अप्रेसन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन हुँदा सेवा नै रोक्नुपर्ने अवस्था आउन लागेको यादवको भनाइ छ । यादवले भन्नुभयो, "औषधी तथा स्वास्थ्य सामग्री गरी मासिक ६० लाख बढी खर्च हुन्छ, भुक्तानी रोकिँदा सेवा प्रवाहमा सङ्कट आएको छ ।"

९० प्रतिशत भन्दा बढी बिरामी बिमा अन्तर्गतका हुने भएकोले लामो समय शोधभर्ना नहुँदा उपचार गर्न नसकिने अवस्था आइसकेको केन्द्रले जनाएको छ। आर्थिक अभावले गर्दा औषधी र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेकोले उधारो नदिँदा सेवामा सङ्कट आएको यादव बताउनुहुन्छ । यादले भन्नुभयो, "भुक्तानी नपाउँदा सप्लायर्सहरुले सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेका छन् इमरजेन्सी भर्ना हुन आएका बिरामीको समेत भर्ना गर्न नसकिने अवस्था आएको छ ।"

यादवका अनुसार बिमा बोर्डलाई केन्द्रको समस्या र औषधी सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भीरता नभएकोले समस्या परेको छ । औषधी, ल्याब केमिकल, एक्स-रे लगायत स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्री आपूर्ति भुक्तानी रोकिँदा प्रभावित भएको छ । थाइराईड लगायतको अप्रेसन समेत गर्न नसकिने अवस्थामा पुगेको छ । प्रत्येक फार्मेसीलाई नेपाल सरकारले औषधि खरिदको लागि २० लाख रुपियाँ बिउ पुँजी दिने गरेपनि केन्द्रले रकम नपाउँदा समस्या परेको छ। केन्द्रमा सवारी दुर्घटनाका घाइतेका अलावा विभिन्न रोगका बिरामी नियमित आउने गरेका छन् ।  

तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका सहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने केन्द्रले जनाएको छ । फार्मेसी अधिकृत यादवले चिन्ता व्यक्त गर्दै गोरखापत्र अनलाइनसँग भन्नुभयो, "स्वास्थ्य सामग्री र औषधि किन्न नसक्दा पृथ्वीराजमार्गका साथै सहायक राजमार्गमा दुर्घटना भएर घाइतेलेलाई उपचारको लागि ल्याए भने पनि उपचार गर्ने सामग्री नभई फिर्ता गर्नुपर्ने अवस्था आउन लागेको छ । उनीहरूको ज्यानै जान सक्ने जोखिम भएको छ ।"