• १६ भदौ २०८१, आइतबार

प्रतिनिधि सभा बैठक : महँगीलगायत आपराधिक घटना नियन्त्रणका लागि ध्यानाकर्षण

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा मङ्गगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपस्थित सांसदहरु । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, भदौ ११ गते । सांसदहरूले देशमा बढ्दै गएको महँगीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा  सांसद भगवती चौधरीले पछिल्लो समय देशमा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि सरकारसँग अनुरोध गर्नुभयो ।

सांसद महेशकुमार बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एकीकृत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्ययोजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद माधव सापकोटाले सङ्घमा नयाँ सरकार बनेसँगै प्रदेश सरकार निर्माणमा ढिलाइ भइरहेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, सांसद मिना तामाङले काभ्रेपलान्चोकको  बनेपा–६ की ममता काफ्लेको हालै अमेरिकामा श्रीमानद्वारा हत्या गरिएकाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही हुनुपर्ने बताउनुभयो । सांसद मेनकाकुमारी पोख्रेलले दाङको घोराही–तुल्सीपुर सडकखण्डअन्तर्गत पर्ने सेवा खोलामा निर्माणाधीन पुलको काममा ढिलाइ भएका कारण जनताले सास्ती भोग्नुपरेको बताउनुभयो । सांसद मैना कार्कीले जाजरकोटमा पछिल्लो समय भूकम्पले सताइरहेको उल्लेख गर्दै भूकम्पपीडितका लागि उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तुका विभिन्न स्थानमा बाढीका कारण जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद योगेन्द्र मण्डलले गत असार महिनामा प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सन्तोषजनक नभएको भन्दै आगामी वर्षमा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रणकुमारी बलमपाकी मगरले एसइई र १२ कक्षाको परीक्षाफल प्रकाशित भएसँगै देशमा शिक्षाको अवस्था प्रष्ट भएको भन्दै शिक्षा प्रणाली सुधार गर्न सरकार र सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । सांसद रणेन्द्र बरालीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।

सांसदहरू रामहरि खतिवडा, रोशन कार्की, लक्ष्मी तिवारी, लालवीर चौधरी, लीलादेवी लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, विक्रम पाण्डे, बिजुला रायमाझी, राजेन्द्र बजगाईँ, रुक्मिणी राना बराइली, रामकुमार राई र रामकृष्ण यादवले देशमा रहेको भ्रष्टाचार, आपराधिक क्रियाकलाप र महँगी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । रासस