• १६ भदौ २०८१, आइतबार

भियतनामले अक्टोबरमा नयाँ राष्ट्रपति पाउने

blog

हनोई, भदौ ११ गते । भियतनामको राष्ट्रिय सभाले अक्टोबरमा देशको नयाँ राष्ट्रपति चयन गर्ने राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।

कम्युनिस्ट पार्टीको महासचिव शीर्ष पदमा रहने भियतनामको चार–स्तम्भ नेतृत्व संरचनामा राष्ट्रपति एक प्रमुख पद हो जसमा प्रधानमन्त्री र राष्ट्रिय सभाको प्रमुख पनि समावेश छन् ।

“राष्ट्रिय सभाले अक्टोबरमा आफ्नो नियमित सत्रमा राष्ट्रपतिको रिक्त पद पूर्ती गर्नेछ”, राज्यद्वारा सञ्चालित भ्वाइस अफ भियतनामले मङ्गलबार राष्ट्रिय सभाको स्रोतलाई उद्धृत गर्दै जनएको हो ।

भियतनामका कम्युनिस्ट पार्टी, केन्द्रीय समितिका महासचिव गुयेन फु ट्रोङको मृत्युपछि वर्तमान राष्ट्रपति टू लामलाई यस महिना सत्तारुढ कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरेपछि राष्ट्रपतिको पद रिक्त भएको हो ।

सन् २०११ देखि कम्युनिस्ट पार्टी प्रमुख रहेका ट्रोङ अक्टोबर २०१८ देखि अप्रिल २०२१ सम्म आफैं राष्ट्रपतिको पद पनि सम्हाल्नुभएको थियो ।

स्थिरतमा जोड दिने एकदलीय देश भियतनाममा राजनीतिक परिवर्तनहरू दशकौँसम्म सावधानीपूर्वक व्यवस्थित गरिएको थियो । तर “ब्लेजिङ फरनेश” भनिने एउटा प्रमुख भ्रष्टाचार विरोधी शुद्धीकरणले हालका वर्षहरूमा देशका केही शीर्ष नेताहरूसहित धेरै राजनीतिज्ञ र अधिकारीहरूलाई भ्रष्टाचार अभियोग लगाएपछि भियतनामले भर्खरै राजनीतिक उथलपुथल देख्न थालेको छ ।

भ्रष्टाचार आरोप लागेपछि सन् २०२१ देखि दुई राष्ट्रपति नुयन सुआन फुकले राष्ट्रपति भएको दुई वर्ष पनि नपुग्दै र उहाँका उत्तराधिकारी भो भान थुङले राष्ट्रपति भएको १४ महिनामै राजीनामा दिएका थिए । रासस /एएफपी