• १६ भदौ २०८१, आइतबार

गुल्मीमा पुरुष मृत फेला

blog

रमेश विश्वकर्मा
गुल्मी, भदौ ११ गते ।
गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर – ५, डाँडापोखरीका अन्दाजी ५५ वर्षीय टोपबहादुर चुँदारा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार चुँदारा सोमबार साँझ इस्मा गाउँपालिका वडा नम्बर–२, झर्नास्थित तम्घास–सिमलटारी पक्की सडक खण्डदेखि अन्दाजी सात मिटर तल खेतबारीमा मृत अवस्थामा फेला पर्नुभएको हो । स्थानीयवासीले निजलाई मृत अवस्थामा देखे लगत्तै वडाध्यक्ष शेरबहादुर कुँवरले प्रहरीलाई खबर गर्नुभयो ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक बिनय कुमार श्रीवास्तबको कमाण्डमा गएको प्रहरी टोलीले घटनास्थल सुरक्षा गरी राखेको थियो । चुँदारा टिबी रोगका बिरामी भन्ने बुझिएको छ ।

निजको शवलाई स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।