• १६ भदौ २०८१, आइतबार

सामाजिक सञ्जालमा नियमन जरुरी

blog

मिडिया प्रायः नराम्रो वा नकारात्मक घटनामा केन्द्रित हुने गर्छ । मिडियाले आलोचना बढी गर्ने र नकारात्मक कुरालाई उजागर गर्ने भूमिका खेल्ने गर्छ । एक सय राम्रा कुरा भएका हुन्छन्, दुई/चार वटा नकारात्मक तथा खराब घटना भएका हुन्छन् । यसका आधारमा देश खतम भयो भन्ने भाष्य निर्माण गरेर कहाँ पुगिएला ? बिहान उठेर सामाजिक सञ्जाल र मिडिया हेरेर धारणा बनाउने अभ्यासले नकारात्मकतातिर डोहो¥याइरहेको छ । बिहान उठेर पत्रिका हेर्दा देशभर सबै खराब मात्र भएको हुन्छ र ? 

परम्परागत प्रिन्ट मिडिया, रेडियो, टिभीमा यस्ता समाचार अलिक ढिलो गरेर जिम्मेवार शैलीमा आउने गर्थे र यसको नकारात्मक प्रभाव कम देखिन्थ्यो । सामाजिक सञ्जालको तीव्रतासँगै रफ्तार बढेको छ । यसर्थ बिहान मिडिया, सामाजिक सञ्जाल खोलेर नकारात्मक ऊर्जा दिमागमा भर्नुअघि आफूलाई सकारात्मक ऊर्जाले भर्न विज्ञले राय दिने गरेका छन् । विभिन्न खोज र अनुसन्धानका अनुसार सामाजिक सञ्जालले डाहा, रिसलाई जगाइदिएको छ । देखासिकीलाई बढी मलजल गरेको छ । यस्ता गतिविधि नै नेपालीमा देखिएको एकप्रकारको ‘मास फ्रस्टेसन’ को एक प्रमुख स्रोतका रूपमा देखिएको छ । अध्ययन अनुसार सकारात्मकभन्दा नकारात्मक समाचार शीर्षकमा बढी क्लिक र सेयर भएको पाइएको थियो । 

हाल अधिकांश पाठक, दर्शकको समाचार र सूचनाको मुख्य आधार सामाजिक सञ्जाल भएको छ । सञ्जालमा रहेका अत्यधिक सूचना भ्रमपूर्ण हुने गरेको र सही सूचनाभन्दा गलत सूचना छ गुणा छिटो फैलने कुरा अध्ययनले देखाएका छन् ।  सामान्यतः संयमितभन्दा आक्रामक सूचना धेरै छिटो सेयर हुने र फैलने गर्छन् । जब मानिसमा यस्ता खबर पढ्ने लत बस्छ, यस्ता सूचना प्राप्त गर्ने उत्सुकता पनि बढ्छ र उसले यसका लागि सञ्जाल हेरेकोहे¥यै गरिरहन्छ । यसको फलस्वरूप सामाजिक सञ्जालको कुलत बस्न पुग्छ  । यसरी फेक न्युज, चरित्र हत्या र हावादारी सूचनासँग लत बसेपछि मानिसले विवेक, आत्मनियन्त्रण र सिर्जनशीलता गुमाउन पुग्छ ।

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले गरेको मिडिया म्यानिपुलेसन सर्वेक्षण २०२० का अनुसार सार्वजनिक धारणालाई बदल्न संसारभरि प्रजातन्त्रका लागि बढ्दो खतरा हो, जसले सर्वेक्षण गरिएका ८० भन्दा बढी देशमध्ये प्रत्येकमा प्रमाण फेला पारेको छ । 

सङ्गठित रूपमा सामाजिक सञ्जालमार्फत आममानिसको धारणालाई नै प्रभावित गर्ने, जनमानसमा भ्रम फैलाउने अभियान ८१ देशमा भेटिएका छन्, जुन एक वर्षमा १५ प्रतिशतले बढेको देखिएको थियो । अनुसन्धान अनुसार सन् २०१९ मा ७० देशमा सरकार, सार्वजनिक सम्बन्ध फर्म र राजनीतिक पार्टीले व्यावसायिक स्तरमा नै गलत सूचना उत्पादन गरिरहेको पाइएको थियो । रिपोर्टले गलत सूचना सामान्य रणनीति हुँदै गएको साथै अनुसन्धान गरिएका ८१ मध्ये ७६ देश (९३ प्रतिशतभन्दा बढी) मा राजनीतिक प्रोपगन्डाको हिस्साका रूपमा गलत सूचना प्रयोग भइरहेको छ ।

सार्वजनिक धारणालाई तोडमोड गरेर भ्रम सिर्जना गर्ने सामाजिक सञ्जालका यस्ता हत्कन्डालाई लोकतन्त्रका लागि बढ्दो खतराका रूपमा हेरिएको छ । सञ्जालमा गलत सूचनाको उत्पादन र वितरण अब पेसा र व्यवसाय नै बनिरहेको छ । यसको कारण स्वार्थकेन्द्रित समूहमा गलत सूचनाको माग हो । 

नेपालको परिप्रेक्ष्यमा अधिकांश युट्युबर तथा टिकटकर विभिन्न दलका नेताका बारेमा चाहिने नचाहिने कन्टेन्ट निर्माण गरेर भ्रम छर्न लागेको देखिन्छ । अझ बढी भ्युज, लाइक र सेयरका लागि चल्ने कन्टेन्ट बनाउने प्रतिस्पर्धामा केपी ओली, दुर्गा प्रसाई, रवि लामिछाने, गगन थापासम्मलाई प्राथमिकतामा पारिएको देखिन्छ । राजावादीले पनि सङ्गठित रूपमा मिडियामा आफ्नो स्वार्थ अनुसारका पोस्ट बनाउने, सेयर गर्ने र पैसा तिरेर बुस्ट गरेर प्रचार गर्ने गरेको देखिन्छ ।

सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले गलत सूचना पत्ता लगाउने र नक्कली या काल्पनिक व्यक्ति बनेर गाली गर्ने, आफ्नो नेताको पक्षपोषण गर्नेहरूको खाता छानबिन गर्ने प्रयास बढाउन आवश्यक छ । सोसल मिडियामा आएर गाली बेइज्जती गर्नु, सरकारका मन्त्रीलाई तथानाम भन्नु फेसन र बहादुरीको प्रतीक जस्तो बन्न थालेपछि पछिल्लो अवस्थामा टिकटक बन्द गरिएको थियो । हाल टिकटकले फेकधन्दा बन्द गर्ने करार गरेसँगै पुनः सुचारु हुन दिने भएको छ ।

सामाजिक सञ्जालमा सर्वसाधारणका आम र यथार्थ धारणालाई गलत सूचनाका माध्यमबाट बदल्ने प्रयास बढेका छन् । सरकार र राजनीतिक पार्टीले निजी क्षेत्रका ‘साइबर सेना’ मा लाखौँ खर्च गरिरहेका छन्, जसले सामाजिक सञ्जालका यथार्थ आवाजलाई निस्तेज पार्ने या आक्रमण गरेर सही सूचना र आवाजलाई गलत र गलतलाई सही बनाउन मलजल गर्ने गर्छन् । नागरिक विचार र भावना हेरफेर गरिएका सन्देश फैलाउने गतिविधिमा दलका स्वयंसेवक, युवा समूह र व्यावसायिक सङ्गठनहरू अभ्यस्त छन् । उनीहरू आफ्ना विचारधारालाई समर्थन र विरोध गर्ने आधारमा कित्ता निर्माण गर्ने गर्छन् ।

यहाँसम्म कि सरकारी एजेन्सी, राजनीतिक पार्टी र निजी फर्मले सामाजिक मिडियालाई राजनीतिक प्रचार फैलाउन, डिजिटल जानकारी पारिस्थितिक प्रणालीलाई प्रदूषित गर्न र अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई दबाउन पनि प्रयोग गरिरहेको अनुसन्धानले देखाएका छन् । यस गतिविधिको ठुलो भाग व्यावसायिक बनिसकेको छ ।

नेपालको परिप्रेक्ष्यमा त मिडियाको झन् धेरै दुरुपयोग गरेको पाइन्छ । सामाजिक सञ्जालमा अलिक बढी फलोअर भएकाले भ्रम फैलाउनु पनि भ्रष्टाचारका रूपमा लिने गरिन्छ । एक कामबाट कमाएको फलोअरलाई अर्को काम र उद्देश्यमा प्रयोग गर्नु लोकप्रियताको दुरुपयोग हो, त्यसैले सञ्जालहरूले एक उद्देश्यमा खोलेका पेजलाई अर्को उद्देश्यमा चलाउन प्रतिबन्ध नै लगाएका छन् ।

फलोअर्स बढाउन हत्कन्डा

जसको चर्चा चलेको छ, जसको पक्षमा भिडियो बनाउँदा ज्यादा हेरिन्छ, त्यो आधारमा युट्युबर तथा टिकटककर्मीले भिडियो बनाएर हाल्ने गरेका छन । यसैले गर्दा भेलु बाजेदेखि दुर्गा प्रसाईका भिडियो चर्चित छन् । समाचार पढेर युट्युब च्यानल चलाउने र हल्लाखल्लाका विषयलाई ठुलो इस्यु बनाइदिएर अफवाह फैलाउने, एक सन्दर्भमा बोलेका भिडियो काटेर अर्को सन्दर्भ या प्रसङ्गमा राखेर दुष्प्रचार गर्ने कामले पनि नकारात्मकता फैलाइरहेको छ । 

नक्कली व्यक्ति बनेर आक्रमण

छट्टुहरू कतिसम्म चलाख हुन्छन् भने दुई/चार वटा फेक एकाउन्टबाट गाली गर्ने अनि कुरा नबुझ्ने सर्वसाधारणलाई त्यस्तै गर्न जोस्याउने गर्छन् । धेरै जसो दलका प्रवासस्थित कार्यकर्ताले नक्कली खाता बनाएर प्रमुख नेतालाई आक्रमणको तारो बनाएको देखिन्छ । जस्तैः रास्वपा र एमालेको तारोमा गगन थापा पर्छन् भने कांग्रेस र अन्य दलको तारोमा रवि लामिछाने पर्छन् । 

एक नयाँ दलका केन्द्रीय नेताको चार/पाँच वटासम्म नक्कली फेसबुक, ट्विटर, टिकटक पाइएको छ । दलको मुख्य नेताले तलब दिएर नै स्टन्टको युट्युब कन्टेट उत्पादन गर्न लगाउने, विपक्षीलाई आक्रमण गर्न प्रयोग गर्ने गरेको पाइएको छ । सामाजिक सञ्जालबाट नै उदाएका देशविदेशका केही व्यक्तिलाई पार्टीमा प्रवेश गराउनेसमेत गरिएको छ । कतिसम्म भने पैसा खर्च गरेर बनाइएको भेरिफाइड अकाउन्टमार्फत दलका नेताका आलोचकमाथि आक्रमण गर्ने गरेको पाइएको छ । यद्यपि विरोधी बुद्धिजीवी, पत्रकारको लिस्ट बनाएर आक्रमण गर्दैमा जनमत बदल्न सकिने भ्रम पाल्नु जनताको बौद्धिक क्षमता र चेतनाको उपहास हो । यो काम नयाँ भनिएका दलबाट हुनु विडम्बना हो ।  

कमजोरी ढाकछोप गर्न मिडियालाई डिस्क्रेडिट 

आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न मिडियाको विश्वसनीयतामाथि नै हमला गर्दै बदनाम गराइदिने पपुलिस्ट नेतृत्वको अर्को डरलाग्दो प्रवृत्ति हो । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुँदा सर्वाधिक प्रयोग भएको हत्कन्डामध्ये एक मिडियालाई ‘फेक न्युज’ भन्ने आरोप लगाई जनतामा भ्रम छर्ने थियो । उनको त्यस्तो रणनीति अद्यापि कायमै छ । 

मिडियाका पनि केही कमीकमजोरी अवश्य छन् तर तिनलाई सच्याउने उपाय हुन्छन् । गलत कुराको खण्डन र जनताको खबरदारीले मिडियालाई पारदर्शी र जिम्मेवार बनाउँछन् न कि यति भाइ उति भाइ भनेर गाली गरेर । 

समाचार लेखाइने, प्रायोजन गराइने र हरेक समाचारलाई नकारात्मक आँखाले मात्र पस्किने निरन्तरको अभ्यासले लेख्नेहरूका मनस्थिति र पढ्नेहरूका खुराक पनि यस्तै खालका हुने देखिन्छ । बोली नक्कल गरेर भिडियोसम्म बनाउने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले डिप फेक भिडियो बनाएर सजिलैसँग नबोलेको र नभएको घटनालाई भएको र बोलेको बनाउनेसम्मका गलत अभ्यास सुरु भएका छन् ।

सामाजिक सञ्जालले बढाएको पहुँच र चेतनाले पहिलेको तुलनामा नेपालका मूलधारका मिडियाको विश्वसनीयतामा स्खलन आएको देखिएको छ । सामाजिक सञ्जालको तीव्र विकास, प्रसार र प्रभावले अब ठुला मिडियाले छायामा पारिदिने अल्पसङ्ख्यकका खबर या यथार्थ समाचार या ठुला मिडियाले सदियौँदेखि मन परेकालाई पालिस लगाउने र नपरेकालाई राक्षस बनाउने अभ्यास भुत्ते हुँदै गएका छन् । यसको कारणका रूपमा अब जोकोही पनि समाचारको स्रोतसम्म पुगेर सत्यतथ्य पत्ता लगाउन सक्ने सामथ्र्य विकास हुनुलाई प्रमुख मान्न सकिन्छ  ।  

हालै चर्चित सामाजिक सञ्जाल एक्स (ट्विटर) का मालिकले डोनाल्ड ट्रम्पको अन्तर्वार्ता गरेर चुनावलाई प्रवर्धन गर्न खुला अभ्यास थालेपछि सामाजिक सञ्जालको डरलाग्दो दुरुपयोग सामुन्ने आइपुगेको छ । अब सामाजिक सञ्जालका मालिकले देशका चुनाव र जनमतमा खेल्न थाल्ने विकृत अभ्यास सुरु हुने देखिएको छ । यसका लागि सरकार या एकाध पक्षको मात्र प्रयासभन्दा पनि संयुक्त राष्ट्रसङ्घ या अन्तर्राष्ट्रिय विश्वसनीय निकायको अनुगमन र सचेत नागरिकको सशक्त हस्तक्षेपको आवश्यकता देखिएको छ । मिडिया, सामाजिक सञ्जाल र राजनीतिक नेतृत्वले गर्न सक्ने बदमासी र दुरुपयोगबारे जनचेतना, मिडिया र सामाजिक सञ्जाल सदुपयोगको शिक्षा नै यी यावत् समस्याका दीर्घकालीन समाधानका उपाय हुन् ।   

Author

डा. जगन कार्की