• १६ भदौ २०८१, आइतबार

काठमाडौँमा थाई फिल्म फेस्टिभल

blog

काठमाडौँ, भदौ ११ गते । काठमाडौँस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ । दूतावासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले सो जानकारी दिनुभएको हो । नेपाल र थाइल्यान्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा थाई फिल्म फेस्टिभल गर्न लागिएको हो । 

यो चौथो थाई फिल्म फेस्टिभल हो । दशकअघिदेखि रोकिएको फिल्म फेस्टिभल पुनः सुरु गर्न लागिएको हो । पहिलो थाई फिल्म फेस्टिभल सन् २०१३ मा भएको थियो । भदौ १४ गते शुक्रबारदेखि ठमेलस्थित छाया सेन्टरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने जनाइएको छ । प्रदर्शनी भदौ १६ गतेसम्म सञ्चालन हुने छ । 

राजदूत सिरिसोर्नले नेपाल र थाइल्यान्डबिचको लामो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन फेस्टिभलको आयोजना गरिएको बताउनुभयो । 

दर्शकले कमेडी, रोमान्स र हरर श्रेणीका चलचित्रको आनन्द लिन सक्ने छन् । प्रदर्शनीमा निःशुल्क थाई खानाको स्वाद चाख्न पाइने जनाइएको छ ।फेस्टिभलको उद्घाटनमा सदन ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ चलचित्रको प्रदर्शन गरिने र फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ ।