• १६ भदौ २०८१, आइतबार

मनाइयो भैरव कुमारी जात्रा

blog

भैरव कुमारी जात्रा प्रदर्शन गरिँदै ।

दोलखा समाचारदाता

दोलखा, भदौ १० गते । दोलखामा भैरव कुमारी जात्रा मनाइएको छ । सांस्कृतिक परम्परा अनुसार भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्ठीसम्म पाँच रात मनाउने चलन रहेको छ । भैरव कुमारी जात्रामा भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर तलेजु भवानी मन्दिरअगाडि घण्टाकर्णको स्वरूप बनाइन्छ । बाजागाजासहित देवी भगवतीको बलि पूजा गरिन्छ । घण्टाकर्णलाई देवी भगवतीको प्रसाद चढाएर दही चिउरा खुवाई खुकुरीले प्रहार गरी मारेर दोलखा सहरभन्दा केही पश्चिमतिरको खोल्सामा फ्याँकिन्छ । त्यसरी घण्टाकर्ण फ्याक्न लैजाँदा बाजागाजासहित लगिन्छ ।

किंवदन्ती अनुसार राक्षस र देवीबिचको लडाइँ सकिएपछि विष्णु भगवान् आरामका लागि सुत्नु भएको थियो । त्यही मौका पारी राक्षस सक्रिय भएको देखेर भगवतीले घण्टाकर्ण राक्षसलाई मार्नुभयो । यही सम्झनास्वरूप उपत्यकामा र दोलखामा घण्टाकर्ण जात्रा मनाउँदै आइएको हो । 

यसरी घण्टाकर्णको मृत्यु भएपछि राक्षस झन लडाइँका लागि तत्पर हुन थालेकाले कालिञ्चोक भगवतीको शक्ति साधनाका लागि पूजाआजा गरिन्छ । यही लडाइँको सम्झना गर्दै अभिनय गर्न यहाँका गुठियार डापा खलक जनैपूर्णिमाको अघिल्लो दिन बाजागाजासहित कालिञ्चोक मन्दिरमा जान्छन् । भोलिपल्ट बिहानै अथवा जनैपूर्णिमाका दिन बिहानै भगवतीको पूजा गरी सैन्यशक्ति प्रदान गरेको स्वरूप सल्लाका सुरिला ससाना आठ/नौ वटा रुख लिएर आउँछन् । यसलाई सैन्यशक्तिको निसान मानिन्छ । यसलाई इन्द्रजात्राको दिन दोलखा सहरको मुख्य मुख्य आठ टोलमा ठड्याइन्छ । यो रुखको टुप्पोमा इन्द्र भगवान् राखिएको हुन्छ ।