• ८ मंसिर २०८१, शनिबार

कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकाको दाबी

blog

गाजापट्टी (प्यालेस्टिनी क्षेत्र), भदौ ८ गते । संयुक्त राज्य अमेरिकाले शुक्रबार इजिप्टको सीमामा इजरायली सेनाको उपस्थिति प्रमुख अवरोधका रूपमा देखापरेपछि गाजा युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको अमेरिकाले बताएको छ । 

“युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको छ । अब दुवै पक्ष एकजुट भएर सम्झौता कार्यान्वयन गर्न आवश्यक छ’’, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभयो ।

युद्धविरामका लागि जारी कूटनीतिक पहल असफल भएको हल्ला गलत रहेको  र बिहीबारबाट सुरु भएको प्रारम्भिक वार्ता रचनात्मक प्रकृतिको भएको उहाँले बताउनुभयो । 

एक इजिप्टियन स्रोतले इजिप्ट र कतारी गुप्तचर प्रमुखहरूले पनि वार्तामा भाग लिइरहेको एएफपीलाई जानकारी दिएको छ ।

“आइतबारदेखि सुरु हुने विस्तृत चरणको वार्ताको तयारीका लागि मध्यस्थकर्ताबिच कायरोमा छलफल भइरहेको छ”, स्रोतले भन्यो ।  “वासिङ्टनले मध्यस्थकर्तासँग इजरायल र हमासबीचको अन्तर कम गर्न र योजना कार्यान्वयन गर्ने संयन्त्रका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको छ ।”

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी र कतारी अमिर शेख तमीम बिन हमद अल–थानीसँग टेलिफोनमा आगामी वार्ताका बारेमा छलफल गर्नुभएको थियो ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न महिनौँदेखि पहल गरिरहेका छन् । रासस/एएफपी