• ९ पुस २०८१, मङ्गलबार

ज्येष्ठ नागरिक (कथा)

blog

ज्येष्ठ नागरिक सिटमा कोही न कोही बसेकै हुन्थे । ज्येष्ठ होइन, कनिष्ठ । सिट अरू खाली हुँदा म खाली सिटमै गएर बसिदिन्थेँ । खाली नहुँदा के गर्ने, दुबिधामा पर्थें । भन्न अप्ठ्यारो लाग्थ्यो, “उठिदिनुस्, यो मेरो सिट हो ।” माने ज्येष्ठ नागरिकको ।

आज पनि म बसमा चढ्दा कोही बसेकै थिए, देखिए । बस भरिएको थियो, सिट एउटै खाली थिएन । म ज्येष्ठ नागरिक सिटकै छेउमा गएर उभिएँ र त्यहाँ बसेको, सिट छोड्न तत्परता नदेखाएको एक युवकको आँखामा आँखा गाडेर हेरेँ, हेर्न खोजेँ । मानौँ यसरी भन्न खोजेँ, “यो सिट मेरो हो । उठ्नुस्, मलाई बस्न दिनुस् ।” ऊ लाज पचाइरहेथ्यो । म बुझिरहेथेँ । एक जना अप्ठ्यारो मानेर असजिलो गरी उभिरहेकी बैनीले भनिन्, फुस्फुसाइन्, “भन्नुस् न दाइ, उठ्न । यो तपाईंको सिट हो ।”

म के बोलूँ के बोलूँ गरिरहेको थिएँ, उभिएकैमध्येका अर्का एक जनाले अलिक ठुलो स्वरमा भने, “भन्नुस्, भन्नुस् ! यो तपाईंको सिट हो ।”

एकैछिनमा अरूहरूको पनि आवाज सुनिन थाल्यो–

– कस्तो ढिट !

– यो मान्छे ज्याद्रो रहेछ ।

– सिनियर देखेपछि उठ्नु पर्दैन ?

– हेर त, युवा भएर ज्येष्ठ नागरिकलाई नछोडेको !

– सेतै कपाल फुलेको फुटेको आँखाले देखेन होला...।

– कस्तो लाज पचेको मान्छे रहेछ !

मैले बोल्नै परेन । त्यो मान्छे मुख लुकाउनुपर्ने स्थितिमा पुगिसकेको थियो । मुख लुत्रुक्क पारेर उठ्यो । केही नबोली टाउको लुत्रुक्क पारेरै अघि अघि बढ्दै बसको ढोकानेर पुग्यो । 

यतिन्जेलमा म ज्येष्ठ नागरिकको सिटमा बसिसकेको थिएँ । ऊचाहिँ कहाँ हिँडेको थियो कुन्नि, बालकोटमै उत्रियो । 

मैले यो मेरै हकको कुरामा पनि आफैँ अहिलेसम्म मुख खोलेको थिइनँ । अहिले भने बोलेँ, “हो, यसरी गलत गर्नेलाई सबै मिलेर बोले पो गलत गर्नेहरू पनि बाध्य हुन्छन् सच्चिन ।”

“तपाईंले चाहिँ बोल्नु पर्दैन ?” मेरा समर्थकमध्येकै कोही बोल्यो । सायद त्यो बोल्नेलाई लागिरहेथ्यो मैले नबोल्नु पनि गलत । “पर्छ नि, किन पर्दैन । तर, कसैले साथ दिँदैनन् । मैले धेरै पटक आफ्नो अधिकारका लागि बोलेको छु । कहिले त झगडै गरेको छु । ज्येष्ठ नागरिक कार्ड निकालेर देखाएको छु । तर अहँ, अरू बसमा भएका मानिसहरू कसैले साथ दिएका भए त मरिजानु ! धेरै जसो यस्तै सिट नछोड्ने मानिस देखिन्छन् । कोही त निदाएको बहाना गर्छन् । भन्यो, कोट्यायो भने पनि नसुने जस्तो गर्छन् ।”

यति बोलेर म चुप लागेँ ।  

“म बोल्दा बोल्दा थाकेको । कसैले साथ नदिएर आजकल म चुप लाग्ने गरेको । आज भने खुसी लाग्यो, तपाईंहरू सबैले साथ दिनुभयो । एक स्वरमा त्यसको विरोध गर्नुभयो । यस्तो समर्थन पाए त बोल्न पनि मन लाग्छ नि, किन नबोल्थेँ । नभए त मानिसहरू कोही मतलब नै नराख्ने । कोही त के हल्ला गरिराख्या होला भने जस्तो गरी उल्टै मेरो आँखामा हेर्ने । अनि मन मरेर बोल्न अलि कम गरेको...।” आफ्नो अन्तरकुन्तर फेरि यसरी खोलेँ ।  म सिरुटारको चारदोबाटो चोकबाट बसमा चढेको थिएँ । जानु थियो– बानेश्वर । यसैबेला लोकन्थलीमा एउटी महिला चढिन् । उनका दाँत फुक्लेका थिए । कपाल त सेतै फुलेका थिएनन् तर हातमा लट्ठी थियो । उनी मभन्दा बुढी हुन् कि जस्तो लाग्दैथ्यो । 

सिट यसबेला पनि खाली थिएन । 

मसित ज्येष्ठ नागरिक सिटमा म जत्तिकै उमेरका अर्का व्यक्ति थिए । ज्येष्ठ नागरिकका लागि छुट्याइएका दुई सिटमध्ये एक सिटमा उनी बसेका थिए । ती महिला ठेलिँदै हामीनजिक आइन् । म झ्यालपट्टि थिएँ । म जस्तै अर्का ज्येष्ठ नागरिकचाहिँ छेउमा । उनले छोडिदिए हुन्थ्यो सिट– म सोच्दै थिएँ– नभए, म छोडिदिन्छु । 

“आउनु्, यहाँ बस्नुस्,” मैले आफू उठ्ने उपक्रम गर्न खोजेँ । त्यसैबेला मेरा साथै सिटमा बसेका सहयात्री बोले, “पख्नुस्, पख्नुस् ।” फेरि ती वृद्धातर्फ हेर्दै सोधे, “तपाईं कति वर्ष हुनुभयो ?”

ती वृद्धा दाँत पुक्लेको गिजा देखाएर हाँसिन् । अनि बोलिन्, “५० वर्ष !” 

उनी निरन्तर हाँसिन् । म भने उनको उमेर सुनेर 

छक्क परेँ । 

ती मेरा छेउका सहयात्री ज्येष्ठ नागरिक पनि आफ्नो जित भएको जस्तो गरी हाँसे । अनि मतिर सोझिँदै भने, “देख्नुभयो, उहाँ त ज्येष्ठ नागरिक नै हुनुभएको छैन । कहिले पुग्नु साठी ?” 

मेरा दिमागमा अनेक सोच चल्मलाउन थाले । कस्तो कस्तो नरमाइलो जस्तो लाग्यो । म पैँसट्ठी वर्षको भन्दा र मेरा साथका छेउका सहयात्री पनि साठी त नाघेकै होलान्, नत्र यस्ता कुरा किन गर्थे, भन्दा वृद्ध लाग्ने यी महिला यत्रो उमेरमै किन यस्ती ? अचानक म ३० वर्षअघिको स्मृतिमा पुगेँ । मैले काम गर्ने बैङ्कमा ऋण लिन आएका एक जना यस्तै मानिस थिए । उनलाई उमेर सोध्दा मात्र ४० वर्ष बताएका थिए तर ती मानिसको दाँत फुक्लेको थियो । कपाल सेतै फुलेका । मलाई लागेको थियो– गरिबी, अभाव र विपन्नताले मानिसलाई असमयमै यसरी बुढो बनाउँदो रहेछ । राम्रो खान, राम्रो लगाउन, सुख, सन्तोष भए कोही मानिस किन यसरी असमयमै बुढा हुन्थे होलान् र ? म फेरि वर्तमानमा बौरिएँ । तत्क्षण मैले निर्णय 

लिएँ– अहँ, यो सिट मैले ती महिलालाई छोड्नु पर्छ । 

“खोइ, छोड्नु् त !” मैले मेरा सहयात्री साथका ती ज्येष्ठ नागरिकसित मलाई निस्किन बाटो मागेँ । उनले आश्चर्यले मेरा आँखामा हेरे । आँखामा हेर्दै भने, “अघि त बानेश्वर जाने भन्दै हुनुहुन्थ्यो त ?” 

“बानेश्वर नै हो उत्रिने ।” यति भन्दै मैले ती उभिएकी महिलालाई भनेँ, “आउनुस्, यहाँ बस्नुस् । तपाईंलाई गाह्रो भइरहेछ । म उभिन्छु ।” 

ती महिला फेरि पनि हाँसिरहेकै थिइन् । केही बोलिनन्, आएर म बसेको सिटमा बसिन् । ती मभन्दा वर बसेका मानिसले छेउतिर, अघि म बसेकोतिर सरेर ती महिलालाई यतै बस्न ठाउँ खाली गरिदिएनन् । 

यसैबेला बस कोटेश्वर पुगेर रोकियो । ती मानिस सिटबाट उठे । मलाई यत्रो यत्रो आँखा फुकालेर हेर्दै उनी बसबाट उत्रिए । म उनकै छेउमा उभिइरहेको थिएँ, अहिले फेरि उनी बसेकै सिटमा बसेँ । 

“कहाँ हिँड्नुभएको ?” मैले ती महिलासित कुराकानी सुरु गरेँ । उनले भनिन्, “बानेश्वर !” यति जवाफ दिँदा पनि उनको अनुहार हँसिलै थियो । 

“किन हिँड्नुभएको ?” 

“छोरीलाई भेट्न ।” 

“अनि यो लौरी चाहिँ किन टेक्नुभएको ?”

“यो घुँडा सप्पै दुख्छ नि, कटकटी खान्छ ।” 

उनी सङ्क्षिप्त बोलिरहेकी थिइन् । 

मैले फेरि सोधेँ, “छोरीको घर बानेश्वर हो ?”

उनी अहिले भने अलिक मज्जैले हाँसिन् र बोलिन्, “आम्मै, हाम्रो घर काँ पाउनु बानेश्वरमा बाबै नि । छोरी अस्पतालमा छे । सुत्केरी भएर राखेको छ । के जाति के भन्छन् सिबिल कि के भन्ने अस्पतालमा अरे ।”

यतिबेलासम्म उनको पूरै धक फुकेको जस्तो देखियो । सायद त्यसैले एकै पटक फररर सबै बेलिविस्तार लगाइन् । 

मेरा मनमा कुरा खेले– सिभिल अस्पताल जान त यतै उत्रिनु पर्छ, किन होला बानेश्वर ?

मैले केही सोध्नुअगाडि फेरि उनले आफैँ खुलाइन्, “मलाई बुढाले बानेश्वरमा उत्रिनु भन्नुभएको छ । मलाई लिन आउनुहुन्छ बानेश्वरमा । मलाई था’छैन, भुत्तिन्छु भनेर ।” 

“अनि बुढा आउनुभएन भने ?” मैले सोधेँ ।

“फुन छ नि, फुन गर्नु भन्नुभाको छ ।” 

उनले बोकिराखेको झोलाबाट सानो नोकियाको मोबाइल निकालिन् र देखाइन्, “यी यो...!”

“चलाउन जान्नुहुन्छ त ?”

यस पटक उनी बोलिनन् । बरु फोन लगाइन्, “हलो, म याँ बानेश्वर आउन लागेँ । तपाईं काँ हो ?”

“ल ल आइज । म अस्पतालमा छु, झट्टै आइहाल्छु ।” उताको आवाज प्रस्टै सुनिन्थ्यो ।

त्यसपछि उनी मतिर हेर्दै मानौँ आफैँ दङ्ग पर्दै बोलिन्, “कस्तो रछ त, मलाई आउँछ नि ।” 

त्यतिबेलै बानेश्वर पनि आइपुग्यो । म उठ्दै उनलाई पनि भने, “उठ्नुस्, आयो बानेश्वर ।”  

मैले उत्रिँदै गर्दा हातमा निकालेको ज्येष्ठ नागरिकको कार्ड गेटमा बसेको खलाँसी कम कन्डक्टरलाई देखाएँ र भनेँ, “मेरो पूरै भाडा लिनुस् । मैले पाउने छुट उहाँलाई है त ।”

खलाँसी कम कन्डक्टर ट्वाल्ल परेर मलाई हेर्दै थियो । 

ती महिलाको हातमा २० को नोट थियो, “मसित त यति मात्र छ...।” उनी बोल्दै थिइन् । 

मैले “अरू पर्दैन” भनेँ । 

खलाँसी कम कन्डक्टरले केही नबोलेर उनीसित २० रुपियाँ र मसित फुल भाडा लियो । 

उत्रिएर जाँदै गर्दा मैले फर्किएर उनीतिर हेरेँ । उनी आफ्नो लोग्नेलाई मतिर देखाउँदै नमस्कार गर्दै थिइन् । मैले देखेँ, उनको लोग्नेले पनि मलाई दुई हात जोडेर नमस्कार गरिरहेका छन्... ।

Author

नारायण तिवारी