आजभन्दा सयौँ वर्षअघि मानिस नेपाल खाल्डोबाट चारभन्ज्याङ काटेर कुन बाटो जान्थे र भित्रिन्थे होला । युरोपियन पादरीहरू तथा काश्मीरी मुसलमानहरू भारत, नेपाल हुँदै तिब्बत पुग्दथे, चिनियाँ भिक्षुहरू तिब्बतबाट नेपाल हुँदै भारत पुग्दथे । त्यसबेला भारतबाट ब्रिटिसहरूले तिब्बतसँग व्यापार गर्थे । सन् १८४९ मा अङ्ग्रेज अफिसरका रूपमा कर्कपेट्रिक पहिलो पटक राजधानी काठमाडौँ उपत्यका भित्रिएका थिए । त्यसताका तत्कालीन श्री ३ जङ्गबहादुर राणा बेलायतको यात्रामा निस्किनुभएको थियो । तत्कालीन समयको त्यो बाटो थियो थानकोट–चन्द्रागिरि पर्वत हुँदै चित्लाङ, भीमफेदी, कुलेखानी, वीरगन्ज रक्सौल पुग्ने एक मात्र बाटो थियो । यही बाटो तराईका जङ्गलमा सिकार खेल्न तत्कालीन श्री ३ महाराजहरूका परिवार, पाहुनापासा र नातागोता पनि लावालस्कर लागेर जाने गर्दथे । चन्द्रशमशेर आफैँ पनि यही बाटो विसं १९६० (सन् १९०३) मा बेलायत भ्रमणमा जानुभएको थियो ।
त्यसरी आउजाउ गर्ने उतिबेलाको एउटै मात्र मुख्य बाटो भनेको चिसापानीगढीको थियो । चिसापानीगढीको बाटो थानकोट भएर चन्द्रागिरि पर्वतको उकालो चढेर चित्लाङ, मार्खु, कुलेखानी हुँदै हिँडेर गढी पुग्न सकिन्थ्यो । त्यसपछि भीमफेदी, भैँसे, हेटौँडा, अमलेखगन्ज (भिक्षाखोर) निस्केर तराईको सिमरा, परवानीपुर हुँदै वीरगन्ज भएर भारतको रक्सौल पुगिन्थ्यो । यो कुरा पुराना पुस्तालाई थाहा भए पनि आजका पुस्तालाई सय वर्षअघि नेपालमा पहिलो पटक चलेको रेल, रोपवे र सडकबारे थाहा नहुन सक्छ ।
सय वर्षअघि अर्थात् १९८१ सालतिर चन्द्रशमशेरले रक्सौलबाट अमलेखगन्जसम्म रेल चलाउने, अमलेखगन्ज–धोर्सिङ–भीमफेदीसम्म मोटर बाटो बनाउने र धोर्सिङसम्म आइपुगेको सामान मातातीर्थसम्म रोपवेमा ल्याई राजधानी पुर्याउने योजना बनाए । त्यो योजना विसं १९८१ मा सुरु भई विसं १९८४ मा करिब तीन वर्षमै सम्पन्न पनि भएको थियो । यो योजना साकार हुनुअघि सामान ल्याउन लाग्ने १२/१५ दिनको बाटो छोटिएर झन्डै एकै दिनमा राजधानीमा सामान आइपुग्ने अवस्था बनेको थियो । चन्द्रशमशेरको यस कामलाई तत्कालीन समयमा भएको चानचुने काम मान्न सकिन्न ।
चन्द्रशमशेरले त्यसबेला भारदारी बैठकसमेत बोलाई धोर्सिङदेखि मातातीर्थ रोपवे निर्माण गर्ने कि नगर्ने ? भन्ने सम्बन्धमा राय लिन विसं १९८० मा कचहरी बोलएका थिए । त्यस कचहरीमा उपस्थित भएका केही भारदारले भने भरियाको गरिखाने पेसा बन्द हुने भएकाले रोपवे बनाउने काम गरिनुहुन्न भनेर भनेका थिए भनी सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ मा लेखेका छन् ।
रेल चल्ने लिक मातातीर्थ १० नं. स्टेसनबाट सुरु भई सतुङ्गल, तीनथानाको विष्णुदेवी मन्दिर, घट्टेपाखा हाल सिभिलहोमको बस्ती, कलङ्की बोक्सीदह, गाङ्खेल हुँदै टेकु भन्सारसम्म छदेखि १२ डिब्बाको रेल (ट्रली) चल्थ्यो ।
विसं १९८४ अघिसम्म रक्सौलको सामान राजधानी काठमाडौँ उपत्यका ल्याउनुपर्दा त्यहाँबाट भरियाले बोकेर वीरगन्ज, परवानीपुर, सिमरा अमलेखगन्ज, हेटौडा, भैँसे हुँदै चिसापानी गढीको बाटो भएर कुलेखानी, मार्खु, चित्लाङको ठाडै उकालो चन्द्रागिरि पर्वत काटेर थानकोट आउनु पर्दथ्यो । यसरी भरियाले भारी बोकेर सामान ओसारपसार गर्न करिब १२/१५ दिनसम्म लाग्थ्यो । योबाहेक अर्को विकल्प पनि थिएन ।
चन्द्रशमशेरलाई यति ठुलो योजना सम्पन्न गर्न आर्थिक स्रोत जुटाउने आँट भने त्यसबेला यसरी भएको देखिन्छ । प्रथम विश्वयुद्धपछि ब्रिटिस सरकारले नेपाल सरकारलाई एक लाख ४० हजार पाउन्ड स्टर्लिङ अर्थात् त्यतिबेलाको नेपाली करिब २१ लाख रुपियाँ सहयोग प्राप्त भएको थियो । त्यतिबेलाको समयमा यो रकम सानो पक्कै थिएन । त्यसैले यो खुसीको कुरा सुनाउन चन्द्रशमशेरले १९७७ सालमा टुँडिखेलको खरिको बोटमा ठुलो भेला बोलाई सहयोग प्राप्त भएको कुरा मात्र सुनाएनन् कि यो पैसाबाट आफूले रक्सौल–काठमाडौँ यातायात विकासमा खर्च गर्ने भनी घोषणा गरेका थिए । त्यसबेला रक्सौलदेखि अमलेखगन्जसम्म न्यारोगेजको बिजुलीबाट चल्ने रेल कलकत्ताको मर्टिन एन्ड बरन कम्पनीले बनाएको थियो । अमलेखगन्जबाट धोर्सिङ भीमफेदीसम्मको मोटर चल्ने सडक नेपाली सेनाले तयार पारेका थिए । यस काममा नेपाली सेनाका चिफ इन्जिनियर कर्णेल दिल्लीजङ्ग थापालाई जिम्मा लगाइपठाइएको थियो । धोर्सिङबाट मातातीर्थसम्म चल्ने रोपवे भने ब्रिटिस कम्पनीद्वारा निर्माण गरिएको थियो भनी पाँडेले लेखेका छन् । यो नै नेपालकै पहिलो रेल र रोपवे (रज्जुमार्ग) थियो ।
विसं १९८४ बाट रक्सौलको सामान न्यारोगेजको बिजुलीबाट चल्ने रेल चढेर अमलेखगन्जमा ओर्लने भयो र त्यहाँबाट गाडी चढेर धोर्सिङ भीमफेदीसम्म आउने भयो । धोर्सिङबाट भने रोपवे (रज्जुमार्ग) भएर चन्द्रागिरिको फेदैमा रहेको मातातीर्थको (हाल चन्द्रागिरि नगरपालिका) तत्कालीन १० नं स्टेसनमा ओर्लने भयो । त्यहाँबाट सामान सजिलै थानकोटसम्म चलेको मोटर बाटो भएर राजधानी प्रवेश गर्ने गर्दथ्यो ।
चन्द्रशमशेरका पालामा थुप्रै सामाजिक सुधारका कामदेखि विद्युत् उत्पादनलगायत अन्य धेरै काम पनि भएको पाइन्छ नै तथापि यो रेल, मोटरबाटो र रोपवे चलाउने कार्य तत्कालीन समयको क्रान्तिकारी काम नै मान्नु पर्दछ । रेल, बाटो र रोपवे (रज्जुमार्ग) ले गर्दा विदेशबाट आउने सामान अब सहज रूपमा नेपालको राजधानी भित्रिन थालेका थिए । रोपवे (रज्जुमार्ग) बाट आउन नसक्ने सामान भने भीमफेदीबाट मानिसले बोकरै ल्याउने गर्दथे । त्यसताका राजधानी उपत्यकाबाट बाहिर जाने बाटोका रूपमा थानकोटसम्म मात्र मोटर चल्ने बाटो थियो । तथापि त्यस समय पनि राजधानी काठमाडौँमा मोटरगाडीहरू भने चलेकै थिए । त्यसबेला राणाहरू र केही ठुला साहु महाजनले चढ्न ल्याइने गाडी ल्याउँदा गाडीका खोल्न मिल्ने पार्टपुर्जाहरू भीमफेदीमा खोली गाडीलाई पचासौँ जनाले नोल लगाई बोकेर ल्याइन्थ्यो र त्यो मानिसले बोकेर ल्याइएको गाडी राजधानी आई चुस्त दुरुस्त बनेपछि त्यसले बल्ल मानिस बोक्न थाल्थ्यो । करिब २८ वर्ष शासन गरेर विसं १९८६ मङ्सिर ३० गते चन्द्रशमशेरको मृत्यु भएको थियो । त्यसपछि उनका भाइ ६४ वर्षीय भीमशमशेरले शासन सञ्चालन गरे । यहाँ यातायात क्षेत्रको कुरा गर्दा अर्को छुटेको अथवा नलेखिएको पाटा के छ भने भीमशमशेरले राजधानीमा पनि सामान बोक्ने रेल मातातीर्थ १० नं. स्टेसनबाट टेकु भन्सारसम्म चलाएका थिए । त्यसलाई आममानिसले ट्रली भन्थे । त्यो रेल चल्नुभन्दा अघि धोर्सिङ, भीमफेदीबाट मातातीर्थसम्म रोपवे (रज्जुमार्ग) बाट आएको सामान भरियालाई बोकाएर वा गाडाबाट राजाधानी पु¥याउने गरिन्थ्यो ।
विसं १९८८ सालमा भीमशमशेरले दाजुको कामलाई निरन्तरता दिन, काठमाडौँका जनतालाई पनि रेल देखाउने र सस्तोमा चामल खुवाउने भनि मातातीर्थ १० नं. स्टेसनबाट रेल चल्ने लिक बिछ्याई टेकु भन्सारसम्म पुर्याएका थिए । यो रेल (ट्रली) डिजेलबाट चल्ने थियो । रेल चल्ने लिक मातातीर्थ १० नं. स्टेसनबाट सुरु भई सतुङ्गल, तीनथानाको विष्णुदेवी मन्दिर, घट्टेपाखा हाल सिभिलहोमको बस्ती, कलङ्की बोक्सीदह, गाङ्खेल हुँदै टेकु भन्सारसम्म छदेखि १२ डिब्बाको रेल (ट्रली) चल्दथ्यो ।
हामीले देख्दा भने विसं २०१६ सालतिर बन्द भएको रेलका लिक, ठाउँ ठाउँमा रहेका बाइपास, गुमज (तल मान्छे हिँड्ने माथिबाट रेल चल्ने बाटो) पछिसम्म पनि रहेका थिए । त्यस्तै तीनथाना–मच्छेगाउँ जाने बाटोमा पर्ने बल्खुखोला (इन्द्रावती) माथि रेल हिँड्न बनाइएको फलामे जख्खु पुल थियो । सोही फलामे पुलमाथि रेल हिँड्ने लिक बिछ्याइएको थियो । त्यस पुलमा रहेको स्टिल फलामको प्लेटमा फलामकै अक्षरले भीमशमशेरले पाएका मानपदवी, अलङ्कारसमेत उल्लेख गरिएको थियो । यो पुल सन् १९३० मा अमेरिकाको युएसए स्टिल प्रडक्स कम्पनीमा बनेको र विसं १९८८ (सन् १९३१) मा पुल निर्माण भएको कुरा लेखिएको थियो । सो पुल र प्लेटमा लेखिएको कुरा तीनथाना गाविसबाट २०५५ मा प्रकाशित तीनथाना परिचयमा पनि उल्लेख भएको छ । सो स्टिल बेलिब्रिज पुल आजभन्दा सात/आठ वर्षअघि नयाँ पुल बनाउने क्रममा भत्कियो र सो पुलमा रहेको तिथिमिति लेखिएको स्टिलप्लेट भने हाल चन्द्रागिरि नगरपालिका–१५ मा सुरक्षित राखिएको छ । सम्भवतः चन्द्रशमशेरले सुरुवात गरेर उनका भाइ भीमशमशेरको पालामा राजधानीसम्म सिधै सामान आइपुग्ने गरी बनाइएको संरचनाको बाँकी अवशेष अब यही स्टिलप्लेट होला । विसं २०२२ सालमा जग्गाको नाप नक्सा हुँदा मातातीर्थ १० नं स्टेसनदेखि टेकु भन्सारसम्मका रेल हिँड्ने जग्गाका कतिपय ठाउँमा लिक मार्ग पनि पुराना नक्सामा देखाइएको पाइन्छ । कलङ्कीमा त अहिले पनि तत्कालीन समयमा रेल (ट्रली) हिँड्ने त्यसबेलाको रेलमार्गमा मोटरगाडी चल्ने बाटो बनाई त्यसलाई ‘लिकमार्ग’ भनी संरक्षण गरिएकै छ ।
रोपवे (रज्जुमार्ग) कै कुरा गर्दा त्रिभुवन राजपथ अझै बनी नसकेको हुँदा रेल (ट्रली) ले मात्र सामान ओसार्न नभ्याएर हो कि १० नं स्टेसन मातातीर्थबाट टेकु भन्सारसम्म तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको पालामा बेलायत सरकारको सहयोगमा राजधानीभित्र रोपवे पनि बनेको थियो । यो रातो देखिने भएकाले यसलाई रातो रोपवे पनि भन्दथे । यो १० नंं स्टेसनबाट सतुङ्गल, नैकाप, ढुङ्गेअड्डा, कलङ्कीको बोक्सीदह हुँदै टेकु भन्सारसम्म विस्तार गरिएको थियो । बुढापाकाको भनाइ अनुसार यो २००७ सालअघिको कुरा हुनु पर्छ । यसबाट त्रिभुवन राजपथ बन्नुअगाडि सामान ल्याउने लैजाने काम गरिन्थ्यो । धेरै पछिसम्म पनि पुरानो रोपवेको खम्बा, रोपवे हिँड्ने तार र कहीँ कहीँ तारमा झुन्डिएर रहेका सामान बोक्ने क्यारियर मात्र देखिन्थ्यो । पछि यसलाई राज्यस्तरबाटै कबाडी लगाई खाली गरिएको थियो ।
विसं २०१२/१३ सालमा त्रिभुवन राजमार्ग पूर्ण रूपमा खुलेपछि भने काठमाडौँको राजधानीमा गुड्ने न्यारोबडीको मालवाहक रेल (ट्रली) विसं २०१६/१७ सालतिर बन्द भएको पाइन्छ । त्रिभुवन राजपथ खुले पनि यसबाट राजधानी काठमाडौँसम्म सामान ल्याउने र यताबाट जाने क्षमतालाई वृद्धि गर्ने हेतुले होला कि विसं २०२१/२२ सालतिर अमेरिकी सहयोगमा अर्को हेटौँडादेखि टेकु भन्सारसम्म रोपवे (रज्जुमार्ग) बनाइएको थियो । यो रोपवे भने (रज्जुमार्ग ) हेटौँडा, चित्लाङ देउराली हुँदै मच्छेगाउँ कीर्तिपुर, ट्याङ्लाफाँट भएर टेकु भन्सार पुग्थ्यो । यो नेपालकै बिजुलीबाट चल्ने रोपवे थियो । यसको निर्माण भएपछि यसले बिहान ६ बजेदेखि बेलुका ६/७ बजेसम्म निरन्तर उताको सामान यता र यताको सामान उता ल्याउने लैजाने गर्दथ्यो । यसलाई कुनै झरिबादल, बाढीपहिरो केहीले पनि रोकावट नगरी निरन्तर रूपमा चलेको देखिन्थ्यो । सम्बन्धित निकायबाट यसको उचित संरक्षण र रेखदेखको अभावमा यो पनि अन्ततः पूर्ण रूपमा बन्द हुन पुगेको छ । यो रोपवे (रज्जुमार्ग) का ठाउँ ठाउँमा अझै अवशेष देख्न सकिन्छ ।