• २२ पुस २०८१, सोमबार

रामेछापका गाउँ गाउँमा लाखे नचाइँदै

blog

रामेछाप समाचारदाता

रामेछाप, भदौ ८ गते । रामेछापका मन्थली, चिसापानी, साँघुटारलगायत नेवार बस्तीमा लाखे नचाइएको छ । मन्थलीका नेवार समुदायले नागपञ्चमीका दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म हरेक साँझ लाखेनाच निकाल्ने गरेका छन् । ढोल र झ्याम्टाको आवाजको तालसँगै हरेक साँझ लाखेनाचले मन्थली बजारवासीलाई आकर्षित गरिरहेको छ । हरेक साँझ झ्याली र बाजाको तालमा दुई वटा लाखे मन्थली बजारमा नचाइन्छ ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण र कंसको नाच प्रदर्शनपछि कृष्णले धनुषवाणमार्फत कंसको वध गरेपछि लाखेनाचको समापन हुन्छ । दानवीबाट देवत्वमा परिणत भएको लाखेले बालबालिकाको रक्षा तथा महामारी, रोगव्याधि जस्ता सङ्कटबाट संरक्षण गर्ने दायित्व लिएको पौराणिक कथन रहिआएको छ । यही जनविश्वासका कारण लाखेनाच नेवारी समुदायको परम्परागत मौलिक संस्कृति नै बनेको छ । लाखेनाच हेर्न गएका बालबालिका तथा किशोरकिशोरीले ‘लाखे भूत’ भन्दै जिस्काउँदा लाखेले दौडिएर लखेट्ने र लाखेले पैसा मागेको जस्ता दृश्य रोचक देखिन्छ । लाखेनाचसहित धिमेनाच, लौरोनाच, नेवारी नित्यसमेत दर्शकले खुवै रुचिसाथ हेर्ने गरेका छन् । 

मन्थलीका नेवार समुदायले आफ्ना कला, संस्कृति र वेशभूषाको संरक्षण तथा जगेर्ना गर्न भन्दै ‘नेवारी कला संस्कृति पहिचान बचाऊ, संस्कृति सभ्यता कायम राखौँ’ भन्ने नारासाथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेवाः खलः रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठका अनुसार साउन २५ गतेबाट मन्थलीमा सुरु भएको नेवार समुदायको धार्मिक र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध रहेको लाखेनाच कृष्णाष्टमीको भोलिपल्ट भदौ ११ गतेसम्म सञ्चालन हुने छ । लाखेनाच नेवारी समुदायको परम्परागत मौलिक संस्कृति हो ।

संस्कृति जोगाउन पालिकाको सहयोग 

मन्थलीका नेवार समुदायको संस्कृति जोगाउन मन्थली नगरपालिकाले सहयोग गर्दै आएको छ । विगतका वर्षमा नेवार समुदायको संस्कृतिसँग जोडिएका धिमेलगायतका प्रमुख बाजा खरिदका लागि सहयोग गरेको नगरपालिकाले पछिल्ला वर्षमा पनि बजेट विनियोजन गर्ने गरेको छ । नेवाः खलः रामेछापका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा एक लाख रुपियाँ बजेट दिएको थियो । चालु आवमा नगरले एक लाख रुपियाँ बजेट विनियोजन गरेको छ । मन्थली नगरपालिका–८, चिसापानी, रामेछाप नगरपालिका–८, भँगेरी, खाँडादेवी गाउँपालिका–३, भिरपानी चिसापानी र गोकुलगङ्गा गाउँपालिका–२, ठोसेका नेवार समुदायले पनि परम्परागत रूपमा लाखेनाच निकाल्ने गरेका छन् ।