• १६ भदौ २०८१, आइतबार

मुस्ताङमा हिमपहिरो : ९ घर जोखिममा

blog

तस्बिर : कुमार अनुरागीको फेसबुकबाट

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ ७ गते । मुस्ताङको थासाङ गाउँपालिका २ मा पर्ने बोक्सी खोलामा शुक्रबार दिउँसो हिमपहिरो खस्दा खोला थुनिएको छ । हिमपहिरोले खोला थुनिँदा ९० प्रतिशत जति पानी खोलामा कम भएको स्थानीयले बताएका छन् ।

खोला थुनिएको ठाउँ मुस्ताङ सदरमुकाम जोमसोमबाट १८ किलोमिटर टाढा पर्छ । थुप्रिएको भाग एकै पटक खोलिएमा तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । 

“खोलाको किनारमा नौ घर छन् । अहिले सुरक्षा टोली त्यही घर भएको क्षेत्रमा छ,” पन्तले भन्नुभयो, “हिमपहिरो गएको ठाउँको अवस्था बुझ्न सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । करिब दुई घन्टा (बेलुका ६ बजेसम्म) टोली त्यहाँ पुगेपछि यथार्थ अवस्था जानकारी हुन्छ ।”

मानापाथी हिमालको फेदबाट खसेको हिमपहिरोले खोला थुनिएको बताइन्छ । २०७८ सालमा पनि पानीपाथी हिमालबाट हिमपहिरो खस्दा बोक्सी खोला थुनिएको थियो ।