• २२ पुस २०८१, सोमबार

ऐतिहासिक ‘बटौली’ बजार संरक्षण गरिँदै

blog

बटौली बजार संरक्षण गर्न आयोजित छलफलमा सहभागीहरू ।

छविलाल पाण्डे 

बुटवल, भदौ ७ गते । बुटवलको पुरानो एवम् ऐतिहासिक बजार ‘बटौली’ लाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्नेगरी संरक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले त्यसका लागि सम्वन्धित पक्षसँग छलफल सुरु गरेको हो । 

बुटवलको वडा नम्बर १ र २ मा पर्ने बुटवलको पुरानो बजार ‘बटौली’ क्षेत्रलाई पुरानै अवस्था झल्काउने गरी पुनः निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुरुमा वडा नम्बर १ का केही घरहरुको पुनः निर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पु¥याउनका लागि अध्ययन गरेर बाँकी काम अगाडि बढाउन पहल भैरहेको बताउनुभयो । उहाँका अनुसार अहिले माथिल्लो पुलको गणेशथान मन्दिरदेखि सिद्राबजार र लायन्सगेटसम्मको क्षेत्रका ४२ घरलाई पुनस्थापित गर्ने गरी योजना बनाईंदैछ ।

जसका लागि स्थानीयसँग छलफल गर्ने, इच्छुकलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्ने र नगरले आर्थिक रुपमा सहयोग गर्ने गरी प्रारम्भिक योजना बनेको छ । 

बटौली बजारलाई सांस्कृतिक र पर्यटकीय गन्तब्यको रूपमा स्थापित गर्न धेरै अघिदेखि छलफल चलाउँदै आएको बताउँदै नगर प्रमुख पाण्डेयले बुटवलको पहिचान बोकेको बटौली बजार संरक्षण प्रमुख योजना रहेको बताउनुभयो । 

पुरानो बुटवलका नामले परिचित बटौलीमा थुपै पुराना र ऐतिहासिक घरहरु छन् । ती घरहरुमध्ये जीर्ण भएका र पुननिर्माण गर्न सम्भव हुने घरहरुलाई नयाँ स्वरुप दिएर पुरानो बुटवलको मौलिकतामा लैजाने गरी शहरी विकास मन्त्रालयसँग छलफल भइरहेको छ । 

बुटवल उपमहानगरले चालु आर्थिक वर्षमा पुरानो बुटवल क्षेत्रमा हाइमास्ट लाइट र परम्परागत फल्चा निर्माणका लागि बजेट छुट्याइएको र अरु क्षेत्रगत विकासका लागि समेत बजेट विनियोजन गरेको छ । 

बुटवल उपमहानगरपालिकाका शहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले सुरुमा ४२ वटा घरलाई नमूनाका रुपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरहरुलाई पुरानै शैलीमा रुपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीय बासिन्दाबीच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको बताउनुभयो। 

तीन पक्षबिच सहमति भई काम सुरु भएमा दुई वर्षमा सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्नसक्ने गरी नगर विकास कोषले गरेको अध्ययन रिपोर्टमाथि परामर्शदाता टोली र बुटवल उपमहानगरपालिकाबीच छलफल भएको श्रेष्ठले बताउनुभयो ।

बटौली बजार कुनै समय अहिलेको मुख्य बजार भन्दा तिनाउ नदीको पश्चिममा  मात्र सीमित थियो । २०२० को दशकबाट तिनाउवारी खस्यौलीमा पनि बस्ती र बजार विस्तार हुँदै गएपछि बटौली बजार सुक्दै गएको थियो । बजार धेरै पुरानो भएपनि ६२ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको हो । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएको थियो ।