सल्यान समाचारदाता
सल्यान, भदौ ७ गते । शारदा नगरपालिका–६ का छविलाल खत्रीले व्यावसायिक भैँसीपालन गर्दै आउनुभएको छ । २०७६ सालदेखि भैँसीपालन गर्दै आउनुभएका उहाँले दुध बेचेर मासिक ५० हजार रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । उहाँसँग आठ वटा दुहुना भैँसी छन् ।
यस्तै त्रिवेणी गाउँपालिका–६ का खिमबहादुर चलाउनेले पनि व्यावसायिक भैँसीपालन गर्नुभएको छ । भैँसीको दुध बिक्रीका लागि समस्या नभएको उहाँको भनाइ छ । यहाँका स्थानीय तहमा किसान व्यावसायिक पशुपालनमा आबद्ध हुन थालेका छन् । सल्यानको दार्मा गाउँपालिका यहाँ वार्षिक तीन सय मेट्रिक टन दुध उत्पादन तथा बिक्री हुने गरेको छ ।
जिल्लाभर उत्पादन हुने दुधको ७५ प्रतिशतभन्दा बढी दुध ढाकाडामबाट आपूर्ति हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले गत वर्ष मात्र तीन सय मेट्रिक टन दुध बिक्री हुँदा एक करोड ८० लाख रुपियाँ किसानका हातमा परेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा २२४ मेट्रिक टन दुध उत्पादन हुँदा किसानले एक करोड २३ लाख रुपियाँ आम्दानी गरेका थिए । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा ७६ मेट्रिक टन दुध उत्पादनमा वृद्धि आएको छ ।
व्यावसायिक भैँसी तथा गाईपालन गर्ने किसानमा वृद्धि हुनुका साथै नस्ल सुधारलगायतका कारण दुध उत्पादनमा वृद्धि आएको हो । दुधमा प्रतिलिटर पाँच रुपियाँका दरले किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएपछि जिल्लामा दुध उत्पादन वृद्धि भएको हो । गत वर्ष मात्रै दुई लाख ६६ हजार ८९५ लिटर दुधमा अनुदान दिएको उहाँले बताउनुभयो । जसबाट किसानलाई अनुदान मात्र १३ लाख ३४ हजार ४७५ रुपियाँ वितरण गरिएको छ ।
दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर केसीले कर्णाली प्रदेश सरकारले डेरीमा दुध बिक्री गर्ने किसानलाई प्रतिलिटर पाँच रुपियाँ अनुदान दिन थालेपछि दुग्ध उत्पादक किसानको वृद्धिसमेत भएको छ । उहाँका अनुसार दार्मालाई दुध पकेट क्षेत्र निर्माणका लागि पालिकाले पनि आवश्यक बजेट कार्यक्रम अघि सारेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले हरेक वर्ष दुध उत्पादनलाई वृद्धि गर्न एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तर्गत कार्यालयले बागचौर, शारदा नगरपालिका, दार्मा, त्रिवेणी र कपुरकोट गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रका रूपमा विकास गरेको छ ।