चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ६ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –७ खेबाङका वडाध्यक्ष बुद्धिप्रसाद दाहालले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितालाई अढाइ लाख रुपियाँ नगद सहयोग गर्नुभएको छ ।
वडाध्यक्ष दाहालले उपविजेताले पाउने पुरस्कार राशिसहित प्रतियोगिता आयोजकलाई सो सहयोग गर्नुभएका हो । प्रतियोगिताका उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार पाउनेछन् ।
वडाध्यक्ष दाहालले प्रतियोतिगाका लागि दुई लाख ५२ हजार ५०५ रुपियाँ नगद आयोजकलाई सहयोग गर्नुभएको छ । प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङ र कोषाध्यक्ष निरोज श्रेष्ठलाई दाहालले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
लाखेजात्रा पर्वको अवसर पारेर आयोजना गरिएको यस पटकको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले पाँच लाख ५५५ रुपियाँ र उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ राशिको पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
खेल क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले प्रतियोगिताका लागि नगद उपलब्ध गराएको वडाध्यक्ष दाहालको भनाइ छ । दाहाल गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
यता प्रतियोगिता अन्तर्गत क्वार्टर फाइनल चरणका खेल बिहीबार सम्पन्न हुँदैछ । आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र बिर्तामोड युनाइटेड फुटबल क्लब झापाबिच हुनेछ । खेल दिउँसो २ः३० देखि सुरु हुने लाखेजात्रा सञ्चालन समितिका सचिव टिकेन्द्र नेपालीले जानकारी दिनुभयो । कुल आठ टोली सहभागी रहेको प्रतियोगितामा भारतको सिलिगुढी, पाँचथर र रुपन्देही बाहिरिइसकेका छन् ।