• २५ पुस २०८१, बिहिबार

मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ ६ गते । गोरखामा अविरल वर्षाका कारण पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल घ्याम्पेसाल सडक एकतर्फी सञ्चालनमा आएको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्र्तगत भिमसेन थापा गाउँपालिका–१ मसेलमा गएको पहिरोले अवरुद्ध निबेल घ्याम्पेसाल सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको हो । 

झण्डै सय मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरुमा ढुंगा, माटो र ठुला रुखहरुलाई पन्छाउन भिमसेन थापा गाउँपालिकाको जेसिबी प्रयोग गरी १२ घण्टापछि सडक एकतर्फी सञ्चालनमा आएको भिमसेन थापा गाउँपालिककाको अध्यक्ष लोक प्रसाद बञ्जराले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक धादिङ हुँदै गोरखाको आरुघाट गाउँपालिका, भिमसेन थापा गाउँपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिका हुँदै यात्रा गर्ने सवारीसाधनहरु आवतजावत गर्ने मुख्य सडक भएकाले गाउँपालिका, प्रहरी र नेपाली सेनाको सहयोगमा छिट्टै नै सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। 

भिमसेन थापा गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम निरन्तर रुपमा भइरहेता पनि उक्त क्षेत्रमा पहिरो गईरहेकाले दुई तर्फ सञ्चालनमा ल्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ । सय मिटर माथिबाट आएको पहिरोले गर्दा सफा गर्न राखिएको एउटा जेसिबी नै पहिरोमा पुरिएपछि त्यसलाई निकाल्न झण्डै ६-७ घण्टा लागेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । 

सडक एकतर्फी रुपमा सुचारु भएपछि मध्यपहाडी लोकमार्ग भएर आवतजावत गर्ने यात्रुबाहक सवारीसाधन सुचारु हुन थालेको भिमसेन थापा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो ।  

बुधबारदेखि परेको अविरल वर्षाका कारण भिमसेन थापा गाउँपालिका अन्र्तगत निबेल घ्याम्पेसाल सडक खण्डमा ठुलो पहिरो गईरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्याक बाहेक अन्य काममा यात्रा नगर्न भीमसेन थापा गाउँपालिकाले अपिल गरेको छ । सय मिटरबाट माथिबाट आएको पहिरो पूर्ण रुपमा पन्छाई दुईतर्फी सञ्चालनमा ल्याउन अझै केहि समय लाग्ने गाउँपालिकाले जनाएको छ ।