काभ्रेपलाञ्चोक, भदौ ६ गते । प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर हो बनेपा । यहाँ १२२ वर्षअघि सुरु गरिएको ‘कन्या पूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई) लाई निरन्तरता दिइँदै आइएको छ । कन्या पूजा बनेपा नगरको पुरानो बजारमा बर्सैपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ ।
नेपालमा अन्य स्थानमा नगरिने यस पवित्र कार्यमा बनेपाली विसं १९५९ देखि जुट्दै आएका छन् : उही लगाव, उही तामझाम र उही रमझमसाथ । दुई वर्ष कोभिड–१९ को महामारीका कारण कन्या पूजा प्रभावित बन्यो । २०७९ देखि पुनः निरन्तरता दिइएको पूजामा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्या पुजिँदै आएका छन् ।
सनातन कन्या पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाई पुज्दै आइएको हो । यस वर्ष कृष्ण जन्माष्टमीका दिन भदौ १० गते कन्या पूजा गरिने तयारी भइरहेको छ । रजस्वला नभएका तथा बेलविवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ यहाँ । यस मान्यतासाथ पछिल्ला वर्षदेखि काभ्रेपलाञ्चोकको विभिन्न बजार तथा बस्तीमा रजस्वला नभएका कन्या (विशेष गरी १० वर्षमुनिका) लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्दै आइएको हो ।
विशेष गरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामसाथ कन्या पूजा आयोजना गरिँदै आइन्छ । यो नगरमा यस पूजाको इतिहास १२२ वर्ष पुरानो हो । बिनाटिकट स्वस्फूर्त गरिने कन्या पूजा कृष्ण जन्माष्टमीको दिनमा काभ्रेपलाञ्चोक तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब आठदेखि १० हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठुलो भिड हुने गर्दछ ।
त्यस दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार कन्या पूजामा समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्छन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवी सरह रातो टीका लगाइदिने प्रचलन पनि छ ।
पूजामा काभ्रेपलाञ्चोकको मात्र नभई छिमेकी सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका रजस्वला नभएका कन्याको सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तजनको आउने जाने प्रक्रिया चलिरहन्छ । बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् । रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको स्थानीय लम्बोदर कायस्थले बताउनुभयो ।
अर्को किंवदन्ती अनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेत मानवकन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सातगाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ नै भएकाले कन्यालाई पुज्दै आइएको हो । कन्याको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् ।
बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा नगरपालिका–३, भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्यापूजा सुरु हुने गर्दछ । इतिहासविद् स्व. ज्ञानकाजी मानन्धरको बनेपाको ऐतिहासिक लेख अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई सुरुका वर्षमा प्रचलनस्वरूप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आए पनि केही समयपछि सबै जातजातिका कन्यालाई समेत पूजामा सामेल गराइएको हो ।
बनेपामा हुने कन्यापूजामा प्रतिकन्या चार सय रुपियाँ बराबरका सामग्री उपलब्ध गराइन्छ । गत वर्ष पनि आठ हजार कन्याका लागि करिब तीन करोड रुपियाँ खर्च भएको समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै बेहोर्दै आएका छन् । बनेपामा वर्षमा दुई पटक कन्यापूजाको आयोजना गरिन्छ । नेवाः कन्यापूजाको नाममा टिकट दिएर गरिने कन्यापूजा बनेपा नगरपालिका–८, दक्षुटोलमा आयोजना गरिन्छ । कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा भने बर्सेनि करिब दुई हजार कन्या सहभागी हुने गर्छन् ।
घाम र हावाको सन्तुलन मिलाउन ठाउँ ठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली निर्माण गरिएको प्राचीन सहर हो, बनेपा । यस सहरमा नौ वटा ढुङ्गेधारा, नौ वटा चोक, नौ वटा डबली र ९९ इनार छन् ।