राजकुमार भट्टराई
खोटाङ, भदौ ५ गते । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा १६३ वर्षअघि बनाइएको लाखेको मुकुट चित्रण गर्ने मूर्ति अनावरण गरिएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा बिक्रम संवत १९१८ सालमा बनाइएको मुखुण्डोको चित्रण गर्ने लाखेको मूर्ति अनावरण गरिएको हो ।
ऐसेलुखर्क गाउँपालिकाले उपलव्ध गराएको १६ लाखमा निर्माण गरिएको ढलौटको मूर्ति गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले अनावरण गर्नुभएको हो । गाउँपालिकाबाट अनुदान पाएपछि नेवार सामाजिक गुठीले लाखेको ऐतिहासिक मुकुटको झल्को दिने मूर्ति बनाएको हो ।
ऐतिहासिक मुकुटको स्मरण र सम्मानमा लाखेको मूर्ति बनाएर राखिएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले बताउनुभयो । लाखेको मूर्ति राखेसँगै सो स्थानलाई लाखेचोक नामाकरण गरिएको छ । सबै समुदायको पहिचान झल्काउने प्रतिमूर्ति स्थापना गर्ने निर्णय अनुसार नेवार समुदायको लाखेको मूर्ति अनावरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
ऐसेलुखर्क बजारमा विक्रम संवत १९१८ सालदेखि नेवार समुदायको बसोबास भएको हो । त्यही साल ऐसेलुखर्क देसारे निवासी श्रेष्ठ थरका कालीगढले घरेलु औजार प्रयोग गरेर गुराँसको काठबाट लाखेको मुकुट बनाउनुभएको थियो । अहिले सोही मुकुटको चित्रण गर्ने मूर्ति बनाइएको हो । मूर्ति निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९-०८० मा ५ लाख र आर्थिक वर्ष २०८०-०८१ मा ११ लाख उपलव्ध गराएको नेवार सामाजिक गुठीका अध्यक्ष ध्रुव राजभण्डारीले बताउनुभयो ।
ऐसेलुखर्कमा विक्रम संवत १९१८ सालदेखि बसोबास सुरु गरेको नेवार समुदायले विक्रम संवत १९३५ सालदेखि नागपञ्चमीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म लाखेजात्रा मनाउन सुरु गरेको इतिहास छ ।