• ९ मंसिर २०८१, आइतबार

मकै र कोदो खेतीको विकल्पमा किवी

blog

म्याग्दी, भदौ ५  गते ।  किवी खेतीमा संलग्न हुनुहुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुनुहुन्थ्यो । 

वि.स. २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो । “दुई वर्ष मलेसिया र एक वर्ष बहराइनमा काम गरेर आएपछि आफन्त मार्फत बेलायत जाने भिसा पनि लागेको थियो,” उहाँले भन्नुभयो “बेलायतको राहदानी त्यागेर सुरु गरेको किवी खेतीले सफलता मिल्न थालेको छ । घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु ।”

सचिन्द्रा कृषि तथा पशुपन्क्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किवीले आम्दानी दिन थालेको छ । गत वर्ष प्रतिकिलो रु। दुई सय ५० का दरले दश क्विन्टल किवी बेचेका पुन यसपालि राम्रो फल लागेकाले उत्पादन र आमदानी बढ्ने आशामा हुनुहुन्छ । किवी खेतीसँगै फर्निचर उद्योग पनि सञ्चालन गरेका पुनले आफू र श्रीमती बाहेक तीन जनालाई रोजगारी दिनुभएको छ । बाख्रापालन पनि सहायक पेसाको रूपमा रहेको छ । 

कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा र वडा कार्यालय मार्फत प्राविधिक तालिम, निःशुल्क र अनुदानमा किवीका बिरुवाका साथै सिँचाइका लागि ड्रम सहयोग गरेका छन् । बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनका अनुसार भकिम्लीका २० जना भन्दा बढीले व्यावसायिक किवी खेती गरेका छन् । 

“हावापानी र भूगोल अनुकूल भएकाले भकिम्लीको माथिल्लो क्षेत्रमा किवी र तल्लो भेगमा सुन्तला खेती प्रवर्द्धनमा जोड दिएका छौ,” उहाँले भन्नुभयो “किवी र सुन्तला खेती गरेका मध्य धेरैजसो विदेशबाट फर्किएका युवाहरू छन् । व्यावसायिक कृषिमा आबद्ध गराएर युवाहरूलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौ ।”

लछु पुनले दश वर्षअघि भकिम्लीमा किवी खेती भित्र्याउनु भएको थियो । अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले उच्च पहाडी भूगोलमा अवस्थित भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यावसायिक किवी खेती विस्तार गरेका छन् । 

लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किवी खेती गर्न सकिने बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ । 

अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रूपमा चिन्ने गरिएको छ । किवी चिनमा विकास भएको फलफूल हो । न्युजील्याडले किवीलाई प्रमुख फलफूल  बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा रु। एक सय छ । निजी नर्सरीबाट रु। तीन सय सम्ममा बिक्री हुन्छ । 

प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५  सम्म किवीका बिरुवा लगाउन सकिन्छ । फुल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो । किवीलाई बजारीकरण र सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यान गृह स्थापनाका लागि पहल गरेको वडा अध्यक्ष पुनले बताउनुभयो । रासस