प्रकाशविक्रम शाह
गेटा (कैलाली), भदौ ४ गते । नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बहुचर्चित कैलालीको गेटास्थित गेटा अस्पतालमा पूर्ण तयारी विनै इनडोर ( बिरामी भर्ना गरे) सेवा सुरु गरिएको पाइएको छ ।
शुक्रबार इनडोर सेवा सुरु गरे पनि बिरामी भने मङ्गलबारसम्म पनि भर्ना भएका छैनन् । सार्वजनिक बिदा नभएको दिन आइतबार दिउँसो गोरखापत्रको टोली पुग्दा पनि बिरामीको सङ्ख्या शून्य रहेको थियो । अस्पतालका सूचना अधिकारी नरेन्द्रसिंह कार्कीले आजसम्म बिरामी नआएको स्वीकार गर्नुभयो ।
इनडोर चलाउनका लागि न्यूनतम औषधि, उपकरण क्यान्टिन, र स्वास्थ्यकर्मीको आवास अनिवार्य हुन्छ एक स्वास्थ्यकर्मी भने तर ती सबै कुराको व्यवस्था गरिएको छैन ।
न्यूनतम व्यवस्था मिलाएर इनडोर सुरु गर्नु पर्ने मान्यता राख्ने स्वास्थ्यकर्मीहरूको भनाइ अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चाँडै गेटा भ्रमण गर्ने भएकोले देखाउनका लागि हतारमा इनडोर सेवा सुरु गरिएको हो ।
यसअघिका मन्त्री प्रदीप यादवलाई समेत देखाउनका लागि इनडोर सञ्चालन गर्न खोजिएको थियो तर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै ढलेपछि सो योजना सफल भएन अस्पताल स्रोतले बतायो ।
गेटा अस्पतालमा फिजियोथेरापी, अल्ट्रासाउन्ड सेवासहित इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमै गेटा अस्पतालले मात्रै पहिलो पटक स्तन क्यान्सरको उपचारसमेत सुरु गर्ने जनाइएको छ ।
अस्पतालका प्रमुख डा. विप्लव सापकोटाले भने औषधी, उपकरण कुनै पनि अस्पतालमा पूर्ण हुँदैनन् भन्ने बताउँदै भन्नुभयो, इनडोर सेवा २४ सै घण्टा चलाउनुपर्छ त्यसका लागि स्वास्थ्यकर्मी तयार अवस्थामा हुनुहुन्छ । अद्यपि आलोचकहरूले आकस्मिक सेवा सुरु गरेर मात्रै इनडोर सेवा सुरु गर्नु पर्ने थियो भन्दै आएका छन् ।
उहाँले आफू काठमाडौँमै रहेको र मन्त्री कहिले गेटाको अनुगमन तथा निरीक्षणमा आउने भन्ने बारेमा उहाँसित छलफल गरेर तय हुने पनि बताउनुभयो ।
उहाँले तयारी पूरा नभएकैले गत वर्ष कात्तिक १ गतेदेखि ओपिडी सेवा सुरु भएको भए पनि आकस्मिक सेवा अहिलेसम्म सुरु नगरिएको समेत बताउनुभयो । प्रमुख डा. सापकोटाका अनुसार चाँडै अप्रेसनका काम पनि सुरु हुने भएका छन् । अहिले अस्पतालमा स्त्री रोग, जनरल सर्जरी, हाड्जोर्नी, जनरल फिजिसियन , प्याथालोजिस्ट , एनएस थेसोलिजिस्ट, रेडियोलिष्टका विशेषज्ञ गरेर ११ जना डाक्टर र २१ जना जति नर्स कार्यरत रहेको पनि उहाँले बताउनुभयो ।
अहिले ५० बेडको अनुमति छ नीति तथा कार्यक्रममा १०० बेड अनुमति दिने भनिएको छ हामीले तीन सयको माग गरेका छौ ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन खोजिएको गेटा क्षेत्रमा छ दर्जन बढी अत्यधिक भवन छन् तर स्वास्थ्यकर्मीको आवास र क्यान्टिन सञ्चालनका लागि कुनै तयारी थालिएको छैन ।
अहिले आवासको आवश्यकता भएका केही स्वास्थ्यकर्मीलाई भाडाका घरमा राखिएको छ । भने १८ जना जति स्वास्थ्यकर्मी सात सय जति अटाउने कुरुवाको घरमा बसिरहेका छन् ।
इनडोर चलाउनका लागि स्वास्थ्यकर्मी, बिरामी र बिरामीका कुरुवाका लागि गेटा अस्पतालबाट केही टाढा रहेको गेटा आँखा अस्पताल क्षेत्रबाट खाजा, खाना ल्याउने सूचना अधिकारी कार्कीले बताउनुभयो ।
उहाँले पानीको व्यवस्था भएपछि मात्रै पूर्वाधार विकास समितिले आवास क्षेत्र हस्तान्तरण गर्ने बताएको छ त्यसपछि आवास बनाउने र क्यान्टिन सञ्चालन गर्न इच्छुकका लागि टेन्डर आव्हान हुने बताउनुभयो ।