• ८ मंसिर २०८१, शनिबार

स्थानीयको पीडा : कमलावारि बस्ती, पारि खेत

blog

जीवछ यादव 

लहान, भदौ ४ गते । मधेशको जीवनरेखा भनिएर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने तिथि तोकिने समयमा पुल भासिएपछि स्थानीयले देखेका सुन्दर सपना चकनाचुर भयो । कमला नदीको वारि सिराहामा पूर्वतिर बस्ने बस्ती र पारि पश्चिम धनुषा जिल्लामा खेत रहेका किसानका व्यथा पीडादायी छ ।  

कमला पुलमा जोडिएको बाँसबाट आवतजावत गरेर गाईबस्तुका लागि घाँस ल्याउने गरेका महिला पुरुषको दैनिकी कष्टकर छ । सिराहा–६, बसबिटाका ५० वर्षीय धर्मकुमार यादव छोराबुहारीसहित कमला पुल भासिएको ठाउँमा बाँस जोडिएर बनाएको सिँढीबाट भर्खरै ओर्लिनुभयो । उहाँले भन्नुभयो, “क्यामरा लिएर पत्रकार पुलको तस्बिर लिन आइपुग्दा आशा जाग्छ । हाम्रो जीवन त मर्नु न बाँच्नु भएको छ । चार बिघा जमिन कमला नदीको पारि धनुषा कमला नगरपालिकामा पर्छ । बस्ने घर मात्रै वारि सिराहा नगरपालिकामा छ । गाईवस्तुका लागि घाँस र खेतीपातीको कामका लागि पारि जानै पर्छ । असारदेखि असोजसम्म बाढीले खोला तर्न सक्दैनौँ ।” 

यस्तै पीडा छ, रामकुमारी यादवको पनि । उहाँले भन्नुभयो, “पुलमा जोडिएको बाँसको सिँढी प्रयोग गरेर ओहोरदोहोर गर्दा कुनै दिन बाँसबाट लडेँ भने के होला भनेर सोच्दा मर्नु न बाँच्नु जस्तै भएको छ ।” यो पीडा बसबिटा गाउँका अधिकांश किसानको हो । 

धनुषा जिल्लाको कमला नगरपालिका–४, सगराहा स्थायी बसोबास भएका ५५ वर्षीय शत्रुघ्न यादवले भन्नुभयो, “शनिबारबाहेक सिराहामा रहेको सहरी विकासमा मिस्त्रीको काम गर्न दिनहुँ साइकलसहित पुलमा जोडिएको बाँसको सिँढी चढेर ओर्लिने र झर्ने गर्दा कुनै दिन खुट्टा चिप्लियो भने बाढीमा बग्नुबाहेक अर्को कुनै विकल्प छैन । गुजारा गर्न वर्षाको बेला पनि ओहोरदोहोर गर्ने नियति नै बनेको छ ।” धनुषा कमला नगरपालिका–१३ का ४० वर्षीय श्रीराम साहले एक हप्तामा तीन दिन सिराहा बजारमा हातमा लगाउने चुरा र कपडाको व्यापार गर्न कमला नदीको पश्चिमबाट मोटरसाइकल पुलमाथि राखेर सिराहा बजारमा पुग्नुपर्ने सुनाउनुभयो । 

साउन २७ गते स्थानीयको समस्या समाधान गर्न सिराहाका स्थानीय इन्जिनियर प्रवीण यादवले सयाँै युवासहित मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसँग भेटेर एकसूत्रीय माग बुझाउनुभएको थियो । मुख्यमन्त्री सिंहले आफू पनि त्यही बाटो भएर गृहजिल्ला सप्तरी पुग्न सहज हुने भन्दै जायज माग पूरा गराउन सङ्घीय सरकारसँग पहल थाल्ने विश्वास दिलाउनुभएको थियो ।  

पुल निर्माणको सुरुवात 

४७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै सम्पन्न गर्ने गरी २०६८ मङ्सिरमा २४ करोड ९१ लाखमा पप्पु बिल्डर्स कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । पटक पटक म्याद थप्दा पनि पुल निर्माण अघि नबढ्दा २०७५ सालमा हुलाकी मार्ग निर्माणका लागि वरिष्ठ लेखक रामरिझन यादवको नेतृत्वमा रिले अनशन गरेर दबाब सिर्जना गर्दा हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । 

२०७८ असार १३ भित्र सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार काम तीव्र गतिमा अघि बढ्यो । काम सम्पन्न भएर उद्घाटन गर्ने तयारी भइरहेको अवस्थामा २०७८ असार १७ गते आएको बाढीले पुलको पूर्वपट्टिको पाया भासिएको थियो । पश्चिमपट्टिको पायामा समेत असर परेको थियो । 

पुलको पुनर्निर्माणका लागि पत्रकार देवकुमार यादव र हुलाकी सडक निर्माण सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले स्थानीयको सहयोगमा दबाब दिएपछि पुल पुनर्निर्माणका लागि तत्कालीन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, पूर्वउपप्रधान चथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वउपप्रधान तथा भौतिक पूर्वाधार तथा  यातायातमनत्री रघुवीर महासेठले स्थलगत निरीक्षण गुर्नभएको थियो । त्यसपछि चाँडै पुलको पुनर्निर्माण हुने आश्वासन दिइए पनि काम सुरु नभएपछि स्थानीय चिन्तित र आक्रोशित देखिएका छन् ।