उत्तरपूर्वी मोरङको मिक्लाजुङ गाउँपालिकामा साल फुल्ने तराईदेखि गुराँस फुल्ने लेकसम्मको भूगोल समेटिएको छ । साबिकका रमितेखोला, टाँडी गाविस पूरै, मधुमल्ला गाविस–१ र ६ तथा जाँते गाविस–३ र ४ मिलाएर मिक्लाजुङ गाउँपालिकाको गठन भएको हो । कृषि, पर्यटन र प्राकृतिक स्रोतको उपयोगलाई आन्तरिक आयको प्रमुख स्रोत बनाएको यो गाउँपालिका मोरङमा सबैभन्दा धेरै आन्तरिक आम्दानी गर्ने गाउँपालिका मानिन्छ । २०७९ सालको निर्वाचनमा निर्वाचित गाउँपालिकाका अध्यक्ष बबिकुमार राईसँग पछिल्ला दुई वर्षमा भएका विकास गतिविधिका विषयमा गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानी ः
तपाईं निर्वाचित भएर आएपछि गाउँपालिकामा भएका प्रमुख कामहरू के के हुन् ?
मिक्लाजुङ गाउँपालिका थोरै तराई र धेरै पहाडी भूगोल भएको पालिका हो । हाम्रो पालिकाभित्रको भूगोल विषम छ । खोलानाला धेरै छन् । पालिकाको केन्द्र रहेको मधुमल्ला बजारसँग जोड्ने सडकहरू थिएनन् । अहिले अपूरा सडक र पुल, कलभर्ट सबै बनिसकेका छन् । बाह्रै महिना चिसो हुने पर्यटकीय केन्द्रहरू टेन्टटाउन, झन्डाडाँडा, लेकडाँडा र रमिते बजारसम्म पुग्ने सडक बनिसकेको छ । स्वास्थ्य क्षेत्रमा धेरै काम गरेका छौँ । मधुमल्ला अस्पताल गाउँपालिकाकै खर्चमा सञ्चालन भइरहेको छ । अस्पताल मात्र होइन, एक जना विशेष चिकित्सक र एक जना मेडिकल अधिकृतले सेवा दिइरहनुभएको छ । रोग निदानका लागि अत्याधुनिक ल्याब, मेसिन प्रयोग गरेका छौँ । हाम्रै अस्पतालमा थाइराइड, पाठेघरको क्यान्सर, भिटामिनको कमी जस्ता रोगको परीक्षण गर्ने आधुनिक मेसिन प्रयोग गरेका छौँ । दक्ष जनशक्ति ल्याबमा राखेका छौँ । मिक्लु खोला, सफेवा खोलामा पुल बनिसकेका छन् । मगर खोलामा पुल निर्माणाधीन छ । झन्डै २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सोल्टी खोलाको पुल ठेक्का लागिसकेको छ । हामीले कक्षा १२ को परीक्षा केन्द्र मिक्लाजुङमा नै स्वीकृत गराएका छौँ । एक करोड २५ लाख रुपियाँको लागतमा शीतभण्डार निर्माणको सम्झौता भइसकेको छ । यो गाउँपालिकाको आफ्नै स्रोतबाट निर्माण हुन लागेको हो । गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । विश्व शान्ति भवन निर्माण गरेका छौँ । मावा नुनसरी खोलामा डेढ किमी तटबन्ध गरिएको छ ।
मिक्लाजुङ गाउँपालिकालाई आर्थिक रूपमा समृद्ध बनाउने आधार के के हुन् ?
यस गाउँपालिका गुराँस फुल्ने पहाड र साल फुल्ने तराईबिचको भूमि हो । करिब ७० प्रतिशत भूगोल पहाडभित्र पर्छ । पालिकाको केन्द्रबाट २० मिनेट उकालो लागेपछि चिसो हावापानी भेटिन्छ । बाह्रै महिना चिसो हुने पर्यटकीय केन्द्रहरू टेन्टटाउन, झन्डाडाँडा, लेकडाँडा र रमिते बजारमा पर्यटकको आकर्षण बढेको छ । पर्यटन उद्योगलाई प्रवर्धन गर्न पालिकाले त्यहाँसम्म सडक पु¥याएको छ । केरा उत्पादनका लागि रमिते, टाडी क्षेत्र प्रख्यात छन् । वार्षिक करोडौँ रुपियाँको केरा निर्यात भइरहेको छ । अम्रिसो, अदुवा, आलु र फलफूल उत्पादनको उत्तिकै सम्भावना छ । उत्पादनलाई भण्डारका लागि नै हामीले कसैको मुख नताकी शीतभण्डार निर्माण गर्न लागेका हौँ । बाँस प्रशस्त उत्पादन हुने भएकाले बाँसजन्य घरेलु उद्योग सञ्चालन गर्न सकिन्छ । पर्यटन र कृषि उत्पादनबाट नै मिक्लाजुङ गाउँपालिकालाई समृद्ध पालिका बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
यो गाउँपालिका आन्तरिक आर्थिक स्रोत बलियो भएको पालिकाभित्र पर्छ । पालिकामा मानव संसाधन, कृषि, पशुपालन र शिक्षा क्षेत्रमा के के काम भएका छन् ?
मिक्लाजुङ सामुदायिक क्याम्पसमा पढ्ने सबै विद्यार्थीले निःशुल्क पढ्न पाउने व्यवस्था मिलाएका छौँ । हाललाई बिबिएसको मात्र पढाइ भइरहेको क्याम्पसमा थप विषय अध्यापनका लागि पनि अध्ययन भइरहेको छ । कक्षा ११ र १२ मा विज्ञान विषयको अध्ययन सुरु गरेका छौँ । पालिकामा पैसा नभएर पढाइबाट कोही पनि वञ्चित हुनु पर्दैन । स्थानीयस्तरमा वडा र नगरले सबै समुदाय वर्ग र पेसामा आबद्धलाई सिपमूलक तालिमको प्रबन्ध गरेको छ । पालिकाका हरेक किसान कुनै न कुनै कार्यव्रmममा स्थानीय सरकारसँग जोडिऊन् भनेर किसानलाई तालिम, बिउ वितरण, कृषि यन्त्र, उपकरण वितरण गरेका छौँ । पशुपालनका क्षेत्रमा नियमित खोप, महामारी नियन्त्रण, कृत्रिम गर्भाधान सेवा, घर घरमा पशु चिकित्सकको सेवा दिइरहेका छौँ । गाउँपालिकामा पशुपन्छीसम्बन्धी चिकित्सक नै राखेर सेवा दिइरहेका छौँ ।
पालिकाको आन्तरिक स्रोतको अवस्था कस्तो छ ?
हाम्रो पालिका मोरङमै आन्तरिक आयमा अब्बल पालिकाभित्र पर्छ । चालु आर्थिक वर्षमा ५७ करोड रुपियाँ बजेटमध्ये आन्तरिक स्रोतको हिस्सा ३१ प्रतिशत रहेको छ । गत आवमा नौ करोड ८५ लाख ६५ हजार रुपियाँ आन्तरिक आय सङ्कलन भएको थियो । खोला ठेक्का, जिल्लाकै पुरानो मधुमल्ला बजार ठेक्का, सामुदायिक वनबाट उपलब्ध हुने करिब १० प्रतिशत आम्दानीको, जडीबुटी निकासीलगायतका थुप्रै आन्तरिक स्रोत पालिकासँग छन् । पालिकाले अघिल्लो आवको तुलनामा आन्तरिक आय ३९ प्रतिशतले वृद्धि गरेको छ ।
ठुला आयोजना के के छन् ? जुन स्थानीय स्रोतबाट सम्पन्न गर्न सकिने अवस्था छैन ?
पालिकाको गौरवको आयोजना रमितेमा पर्यटन पूर्वाधार निर्माण हो । हालसम्म जे जति काम भएको छ त्यो स्थानीय र पालिकाको प्रयास हो । जसरी भेडेटारमा पूर्वाधार निर्माण भए, त्यसरी नै यहाँ पनि निर्माण हुने हो भने पहाडबाट बसाइँ सर्ने व्रmमलाई नियन्त्रण गर्न सकिन्थ्यो । रोजगार सिर्जना हुन्थ्यो । बव्रmाहा, मावा, नुनसरी खोलामा दिगो तटबन्ध आवश्यक छ । बर्सेनि कटानको समस्याले सयौँ रोपनी जग्गा बगाएको छ । पालिकाको केन्द्रबाट सबै वडामा पुग्ने कच्ची सडक बन्यो तर कालोपत्रे सडक निर्माण गर्न पालिकाको स्रोतले भ्याउने अवस्था छैन ।
पालिकाका प्रमुख चुनौती के के छन् ?
मुख्य चुनौती दिगो आन्तरिक स्रोत नै हो । नागरिकका अपेक्षा धेरै छन् तर स्रोतसाधन सीमित छ । खोलाको कटान रोक्ने अर्को चुनौती छ । जङ्गली जनावरबाट हुने क्षति पनि डरलाग्दो छ । पालिकाको वडा नं. १ स्थित एकराते भन्ने ठाउँसम्म अझै कच्ची सडक पुगेको छैन । जौबारीबाट दुई घण्टा हिँडेर एकराते पुग्नु पर्छ । मोरङमा सडक नपुगेको गाउँ छभन्दा काठमाडौँका मात्र होइन, विराटनगरका मानिस पनि पत्याउँदैनन् । मधुमल्लाबाट ३२ किलोमिटर उत्तर जौबारीसम्म गाडीमा गएर दुई घण्टा हिँडेर पुग्नुपर्ने गाउँ हाम्रै पालिकामा छ । पाँचथर, धनकुटा, इलाम, झापालाई छोएको मिक्लाजुङ गाउँपालिका स्रोतसाधनले पूर्ण भए पनि धेरै चुनौतीका कारण उपयोगमा समस्या भइरहेको छ ।
यस गाउँपालिकाबाट देशका अरू पालिकाले सिक्नुपर्ने केही छ ?
स्नातक तहसम्मको निःशुल्क शिक्षा हामीले दिएका छौँ । पालिकाकै अस्पतालमा क्यान्सर रोगको परीक्षण गर्ने व्यवस्था गरेका छौँ । गाउँपालिकामा बाल अस्पताल निर्माण गरेका छौँ । डाक्टरसहितको टोलीले घर घरमा पुगेर पशुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र औषधी दिने व्यवस्था मिलाएका छौँ । दुई रोपनीभन्दा बढी अकबरे खुर्सानीको खेती गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान दिन थालिएको छ । यस्तै सरकारले बालबालिकालाई दिएको खाजा खर्चमा प्रतिविद्यार्थी पाँच रुपियाँ थप गरिदिएका छौँ । दुग्ध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप नगद अनुदान दिने व्यवस्था गरेका छौँ ।