हामी अहिले मिडियालगायत विविध प्रविधिको व्यापक प्रयोग गर्ने युगमा छौँ । एक अर्थले हामी यन्त्रका दास जस्तै भइसकेका छौँ । हुन त यी सबको आविष्कार, निर्माण गर्ने मस्तिष्क पनि मान्छेकै हो । यी सब भनिरहनुको उद्देश्य हामी मानव समाज, मानवताको कुरा त्यो यन्त्रबाट गर्छौं तर मानवीय मूल्य भुल्दै गइरहेका पो छौँ कि भन्ने अनुभूत हुन्छ । हामीलाई अरूको कमीकमजोरी औँल्याउने र आलोचना गर्ने, विमति पोख्ने मनोरञ्जन लिने त एउटा माध्यम छ सामाजिक सञ्जाल । यो आफ्नो न्यायाधीश आफैँ हुनका लागि त पर्फेक्ट माध्यम नै हो ।
मान्छेभित्र आत्मसम्मान पनि हुन्छ भनेर हामी भनिरहेका हुन्छौँ । आफ्नो आत्मसम्मान बचाएर राख्न खोज्ने हामीहरू बेलाकुबेला फेरि अरूको आत्मसम्मानमाथि धावा पनि बोलिराखेका हुन्छौँ । प्रत्येक मानव मूल्य महìवपूर्ण र विशेष छ, जसलाई हामी मानव मर्यादा या गरिमा पनि भन्छौँ । स्वभावतः मानिस केही न केही रूपमा विरोधाभाषी पनि हुने रहेछन् कि ? नत्र आफूलाई अलिकति पनि अरूबाट आँच नआओस् भन्ठान्ने मान्छे अरूलाई जुनसुकै बेला आलोचना गर्न अघि सरि हाल्छ । यसैले पनि कतिपय अवस्थामा समाजमा सामाजिक विद्रोह हुने गर्छ । आफ्नो समुदायको हितविपरीत भई मानवीय मर्यादामा आँच आउँदै जाँदा विश्वमा नै विद्रोह र युद्ध हुँदै आएका छन् ।
मानव मर्यादाको सम्मान गर्नुको अर्थ हामीहरू अरूसँग मित्रवत् र दयालु हुनु पर्छ भन्ने हो । अरूलाई दुःखी बनाउनु तथा उनीहरूलाई आफैँप्रति खराब महसुस गर्ने बनाउनु पनि मानवीय मर्यादाविपरीत हो । मानव मर्यादा नैतिकता र मानव अधिकारसँग सम्बन्धित छ । प्रत्येक व्यक्तिका अन्तरनिहित मूल्य र अधिकार छन् । मानव सभ्यताभित्रको मानवीय मूल्य र मान्यता समयसापेक्ष परिमार्जन हुँदै आएका छन् । भनिन्छ हाम्रो भित्री मूल्य, पहिचान र मर्यादा खोस्ने शक्ति कसैसँग छैन । लचिलो, सम्मानित व्यक्तिले पीडाको क्षणमा पनि आफ्नो जीवनमा करुणा र समानुभूति बाँड्छन् भनिन्छ ।
मर्यादा मानव अधिकारभित्रको प्रमुख शब्द हो । यो हामी सबैसँग हुन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १ मा नै घोषणा गरिएको छ कि सबै मानव जाति स्वतन्त्र रूपमा जन्मेका हुन् र मर्यादा र अधिकारमा समान छन् । मानिस जन्मेपछि यस धर्तीमा पाउनुपर्ने सम्पूर्ण हक अधिकारको दाबेदार छ । आत्मसम्मान र मर्यादाको साथ बाँच्न पाउनु पर्छ । आत्मसम्मानका साथ मर्न पाउनुपर्ने अधिकारका विषय पनि उठिरहेका छन् । कसैलाई मानवीय व्यवहार गर्नु भनेको उनीहरूको मानवता र मर्यादासँग मेल खाने तरिकाले व्यवहार गर्नु हो ।
विभिन्न समस्या तथा द्वन्द्वको समाधान खोज्न सबैका लागि एउटा चुनौती भनेको हामीले भेट्ने मान्छे हुन सक्छन् । जसले अर्को समुदाय या मान्छेलाई मर्यादा वा सम्मानको साथ व्यवहार गर्दैनन् । अमानवताको सामना गर्दा हामीले हाम्रो मानवतालाई कसरी पालनपोषण गर्ने ? आतङ्कवाद र युद्धको भयावहताले मानव मर्यादालाई यसको आधारभूत सिद्धान्तबाट निर्दयी रूपमा उखेल्छ । जब हामी प्रत्येक व्यक्तिको गहिरो मूल्यलाई अँगाल्छौँ, हामी पारस्परिक सम्मान र साझा मानवता रक्षका लागि आवश्यक आधार बनाउँछौँ । जसलाई हामी सामञ्जस्यपूर्ण सहअस्तित्वको आधारभूत कदमको रूपमा पनि लिन सक्छौँ ।
अरूको व्यवहारमा आफ्नो गरिमा गिरिरहेको अनुभूत गर्यौ भने हामी आफैँ आत्मसम्मान र सम्मानको जगको खेती गर्न सक्छौँ । समाजमा द्वन्द्व, लडाइँ, झगडा, भोकमरी, गरिबी र युद्ध छ तर पनि मान्छेको आत्मसम्मान पनि, त्यसको गरिमा कायम रहिरहनु पर्छ ।
समाज र यस समाजका युवा विशेष गरी आफ्नो भविष्यप्रति चिन्तित पनि छ । परिवारको हर सदस्यको उत्तिक्कै महìव हुने कुरालाई भुलेर कमजोर अनि ज्येष्ठ सदस्यमाथिको बेवास्था र आवेग बढिरहेका छन् । हामी प्रतिस्पर्धी, महत्वाकाङ्क्षी, धेरै धनसम्पत्तिको आकाङ्क्षी हुने क्रममा परिवारमै पनि दोस्रो सदस्यको आत्मसम्मानमा चोट पु¥याउन पछि परेका छैनौँ । हामीले हाम्रा गाउँघरमा केही परिवारमा मात्रै यसो अनुमान ग¥यौँ भने पनि परपीडक व्यवहार पाउन सक्छौँ । परिवारमा सम्मानित सदस्यको आत्मसम्मान अर्थात् मर्यादाको धज्जी उडाएको एक उदाहरण यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठान्छु ।
कुनै कामविशेषले पङ्क्तिकार फिल्डमा थियो । एक घरमा थकाइ मार्न बसेको थिएँ । परिवारमा बाआमा, छोराबुहारी र नातिनातिना सबै थिए । छोराले सबैले देख्ने गरी आमालाई केही रकम दिन्छ, त्यो आमालाई केही खर्च होस् भनेर दिएको थियो होला । पैसा आमालाई दिन छोराले के हात तन्काएको थियो उसको पत्नीले सो रकम खोस्छिन् । यस्तो अवस्थामा मलाई त्यो दृश्य हेर्न पनि कठिन भयो । छोराको अनुहार निलो भयो । तर उसले केही भन्न सकेन । आमाको आँखाभरि आँसु टिलपिल भयो । होला पत्नीसँग छलफल नगरी त्यो छोराले आफ्नो आमालाई केही रकम दियो । पत्नीले किन त्यसरी पैसा नै खोसेर त्यस्तो दुष्ट व्यवहार देखाइन होला ? उसै त महिलाको शत्रु महिला नै हुन भन्ने भाष्य सिर्जना भएको छ । आमाको आत्मसम्मान र मर्यादामा अवश्य पनि चोट प¥यो साथै उक्त घटनामा ती छोराको पनि आत्मसम्मान खस्कियो । एकको आत्मसम्मानमाथि हमला गर्ने त आखिर यहाँ मान्छे नै रहेछन् नि । मानव मर्यादालाई महिलापुरुष ठुलो सानो भन्दा पनि एक मानवले अर्को मानवलाई बुझ्नुपर्ने अवस्था रहेछ ।
सामाजिक तथा सार्वजनिक रूपमा पनि हामी अर्काको विषयमा कुरा गर्नु पर्दा एकदमै हौसिएर उनीहरूका व्यक्तिगत सम्बन्धदेखि लिएर उनीहरूका कामलाई पनि उल्लिबिल्ली लगाएर उडाइरहेका हुन्छौँ । हाम्रो ख्यालमा यी कुरा आएको हुँदैन कि, हाम्रो खिल्ली उडाइले उक्त दोस्रो पक्षको आत्मसम्मान र मर्यादामा खलल पुगिरहेको हुन्छ भनेर । उदाहरणको रूपमा हामी हालसालैको एक टिभी सोमा प्रश्नकर्ताको प्रश्न पनि र उत्तरदाताको जवाफले पनि अर्को व्यक्तिको आत्मसम्मानमा चोट पुगेको कुरा त हामीले सञ्चार माध्यममार्फत जानकारी पाई नै हाल्यौँ ।
मानवीय संवेग, आँसु, हाँसो, खुसी, ईष्र्या, रिसले कहिलेकाहीँ मानवीय मर्यादाको बाटो छेकिरहेको हुन सक्छ तर एक सचेत मानव भएर यस पृथ्वीमा जन्मिसकेपछि जिन्दगी बाँच्ने नियमभित्र हामीले मानवीय मर्यादालाई अपनाउँदै र पछिका सन्ततिलाई पनि सिकाउँदै लैजानुपर्ने हुन्छ ।
हामी कल्पना गरौँ त मानिस मानिसबाटै एक अर्काको मर्यादामा आँच आउने काम गरिरहेका हुँदा रहे । यहाँ पितृसत्तात्मक संरचनाले महिलालाई आफूभन्दा कमसल सम्झेर महिलाको मर्यादामा वर्षौंदेखि खलल पु¥याउँदै आएको रहेछ । समाजभित्रैको कुरा गरौँ न । एक विभिन्न समस्याबाट प्रभावित, एक्लो, निरिह जस्तो लाग्यो भने त्यस्तो महिलालाई बोक्सीको आरोपमा सजाय दिन पछि पर्दैन हाम्रो समाज । एक महिला जो बोक्सीको आरोपले प्रताडित छन् भने उनको मर्यादा र आत्मसम्मान कहाँ रह्यो ? त्यस्तै जातीय उचनिचले ठुलो जातले तल्लो जात भन्दै एउटा समुदायमाथि नै अन्याय गर्दै ती समुदायको मर्यादामा पनि वर्षौंदेखि आँच पु¥याइरहेको रहेछ । आदिवासी जनजातिप्रति सुविधा सम्पन्न स्थानमा बस्ने समुदायले उनीहरूको आत्मसम्मान र मर्यादामा असर पु¥याइरहेको रहेछ । विभिन्न युद्धमार्फत महिला र बालबालिकामाथि नै बम बारुद र आक्रमणले उनीहरूको बाँच्न पाउने अधिकार अनि मानवीय मर्यादामाथि नै खेलबाड गरिरहेको हामीले देखिरहेका छौँ । मानवीय मर्यादा भनेको मान्छेको आत्मसम्मानका साथ अन्य सुविधाजन्य मानिसको जस्तै बाँच्न पाउने अधिकार हो । हाम्रो समाजले यान्त्रिक तवरले सभ्यताको फड्को मारे पनि समाजको एकाइ परिवार तहदेखि नै मानव मूल्य र मानवीय मर्यादाको सिकाइ नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्दै जानु पर्छ ।
शोषित पीडित र सीमान्तीकृत समुदायले शान्तसँग सम्झौता गरेर बसिदिएर पनि मर्यादा राख्नु पर्छ । बदलिँदो विश्वसँग समायोजन हुन तथा सभ्य समाज निर्माण गर्न हामीले मानवतावादभित्र पर्ने मानव मर्यादाको विषयमा पनि सोच्ने हो कि ?