बाजुरा समाचारदाता
बाजुरा, साउन ३१ गते । पाखो तथा भिरालो बस्तीका स्थानीयलाई बर्खाको बेला डरैडरमा बास बस्ने अवस्था आएको छ । पाखो तथा भिरालो बस्तीको तलमाथिबाट पहिरो जाने जोखिम रहेकाले डरैडरमा बस्नु परेको स्थानीयवासी बताउँछन् ।
पानी परेका बेला गाउँबस्तीको तलमाथिबाट पहिरो जाने गरेकाले घरमा रातदिन बसोबास गर्न निकै डर लाग्न थालेको हिमाली गाउँपालिका–३ का हंस बुढाले बताउनुभयो । “भिरालो ठाउँमा बसोबास छ, पानी परेका बेलामा राति घरको माथिबाट पहिरो आएर कति बेला पुर्छ भन्ने डरैडरमा रात काट्नु परेको छ,” उहाँले भन्नुभयो ।
साउन २६ गते गोठालो गएका बेला दिउँसै माथिबाट पहिरो आएर धेरै पशुचौपाया मरेको घटना उहाँले सुनाउनुभयो । सो पहिरोका कारण घाइते भएका बुढा कहिले घरमाथिबाट पहिरो जाने हो डरमर्नु भएको बताउनुहुन्छ ।
हिमाली, बुढीनन्दा, स्वामीकार्तिक, जगन्नाथ, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदहलगायतका पालिकामा पाखो तथा भिरालो ठाउँ अहिले बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।
बर्खाको समय लगातार परेको अविरल वर्षाका कारण अधिकांश ठाउँमा पहिरो जाने गरेकाले पछिल्लो समय बस्ती पनि बाढीपहिरोको जोखिममा रहेका हुन् ।
असारको पहिलो सातादेखि साउनको अन्तिमसम्म हिमाली, जगन्नाथ, खप्तडछेडेदह र त्रिवेणीलगायतका पालिकाको अधिकांश पाखो तथा भिरालो ठाउँका बस्तीमा गएको पहिरोले धेरैको उठिबास लगाएको छ ।
पहिरोले घरवारविहीन भएका स्थानीय अहिले खुला आकाशमा त्रिपालमुनिको बास बसिरहेका छन् । बाढीपहिरोको जोखिममा रहेका बस्तीलाई स्थानान्तरणका लागि स्थानीय तहले जिल्ला विपत् व्यवस्थापन समितिलाई पत्राचार गरेको छ तर कुनै जवाफ नआएको पालिकाले जनाएका छन् ।
गत साउन २६ गते हिमाली गाउँपालिका–३, बौडीमा दिउँसै पहिरोमा परेर ४१ पशुचौपाया मरेका छन् । गोठालो गएका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोका कारण विभिन्न गाउँमा लगाइएको धान, कोदोलगायत अन्नबालीमा क्षति हुनुका साथै घर भत्काउँदा लाखौँको क्षति भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।
यहाँको करिब १३५ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । यी बस्तीलाई विगतका केही वर्षदेखि नै स्थानान्तरण गर्नेुपर्ने हो तर अहिलेसम्म ती बस्ती कतै स्थानान्तरण हुन नसकेको प्रहरी अधिकारीको भनाइ छ ।
बस्ती स्थानान्तरणका लागि नौ वटै स्थानीय तहबाट आएका सिफारिसपत्र गृह मन्त्रालयमा पठाएको र उताबाट जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भूकम्प तथा बाढीपहिरोबाट घरबासविहीन भएकाका लागि टहरा निर्माण गर्न १४ करोड रुपियाँ बजेट आएको छ । सोही बजेटबाट स्थानीय तहले टहरा निर्माण गरिरहेका छन् । कतिपय स्थानीय तहले सो रकम पनि नलिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “घर निर्माण गर्नुपर्ने धेरै छन् । उताबाट कम रकम आएको छ । यो रकमले सबैलाई घरटहरा निर्माण गर्न नपुग्ने भएकाले पुनः गृह मन्त्रालयमा रकम माग गरिरहेका छौँ ।” उताबाट रकम आयो भने भूकम्प तथा बाढीपहिरोबाट प्रभावित भएकालाई घर निर्माणका लागि वितरण गर्न सकिने भनाइ प्रमुख जिल्ला अधिकारी पौडेलको छ ।