• २ माघ २०८१, बुधबार

स्पोर्ट्स अवार्ड भदौ २८ गते

blog

स्पोर्ट्स अवार्डका लागि मुख्य प्रायोजन सम्बन्धी सम्झौता गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, साउन ३० गते । २१औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार एक कार्यक्रमबिच अवार्डको मिति घोषणा गरेको हो ।

मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको यस अवार्डमा नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने छ । एनएसजेएफले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्नेछ । एनएसजेएफ एआइपिएस एसियाको सदस्य हो ।

स्पोर्ट्स अवार्डको पूर्वसन्ध्यामा एआइपिएस एसिया कंग्रेस पनि आयोजना गर्न लागिएको एनएसजेएफले जनाएको छ । उक्त कंग्रेस भदौ २५ देखि २८ गतेसम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ ।

अवार्डलाई मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकलले निरन्तरता दिएको छ ।  प्रायोजनसम्बन्धी सम्झौता पत्रमा बुधबार गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीबिच हस्ताक्षर भएको छ ।

यसवर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दि एयर, लाइफटाइम एचिभमेन्ट, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन छिट्टै सार्वजनिक गरिने बताइएको छ । टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधामा मनोनयन हुनेछैन । सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिनेछ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गर्नेछ । अन्य विधाका विजेतालाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।