काठमाडौँ, साउन २९ गते । देशका विभिन्न भागमा हैजा तथा डेंगुको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको थियो । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालीन कदम अघि बढाएको हो ।
मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ ।
टोलीहरूले बिरामीहरूको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलिन नदिन र सङ्क्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको स्वास्थ्य मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
आगामी दिनमा थप समस्या आउन नदिन केन्द्रीय, प्रदेश, तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी र अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ ।
डेंगु फैलिन नदिन लामखुट्टे नियन्त्रणमा जोड
देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेंगु प्रकोप नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा प्राथमिकता दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि सातै प्रदेशमा डेंगु परीक्षणका लागि प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ ।
डेंगु नियन्त्रणका लागि विनियोजित १० करोड रुपियाँबाट प्रदेशसँगै स्थानीय तहमा समेत लामखुट्टेको वासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयले उल्लेख गरेको छ । प्रशिक्षण दिएका एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियन्त्रण तथा निदानमा परिचालन गरेको मन्त्रालयले सङ्घीय अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजमा डेंगु नियन्त्रणका लागि सम्पर्क व्यक्ति तोकेर समस्या देखिएमा तत्काल रोकथामको कदम चाल्ने प्रबन्ध गरेको जनाएको छ ।
हालसम्म, मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक ७३ जिल्लामा तीन हजार तीन सयभन्दा बढी व्यक्तिमा डेंगु सङ्क्रमण पुष्टि भएको छ, जसमा एक जनाको मृत्यु भएको छ ।
डेंगु नियन्त्रणका लागि संघ, प्रदेश, र स्थानीय तहहरूबिचको सहकार्यलाई सुदृढ गर्न मन्त्रालयले डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ तयार गरी सबै प्रदेश र स्थानीय तहमा पठाइसकेको छ । मन्त्रालयले बढी जोखिम देखिएका १३ वटा जिल्लाका १२६ स्थानीय तहमा डेंगु नियन्त्रणका लागि विशेष प्राथमिकता दिएर अल्पकालीन र दीर्घकालीन योजना तयार पार्न प्रक्रिया थालेको छ ।
हाल डेंगु नियन्त्रणमा मन्त्रालयले डेंगु रोगबारे जनचेतना फैलाउन नेपाली भाषासहित १३ वटा अन्य भाषामा रेडियो सन्देश प्रसारण गरिरहेको छ । साथै, बिरामीका समस्या र जिज्ञासा समाधान गर्न टोल फ्री हटलाइन १११५ सञ्चालन गरिरहेको छ ।
स्वास्थ्य मन्त्रालयले डेंगु परीक्षणका लागि पर्याप्त निःशुल्क किट उपलब्ध गराउँदै जोखिममा रहेका जिल्लाहरूमा डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ कार्यान्वयनमा लगेको छ ।