• २९ पुस २०८१, सोमबार

जोससँगै होस पनि

blog

राजनीतिक दलबिच समीकरण फेरबदलपश्चात्को नयाँ सरकार गठनसँगै सुधारिएको धितोपत्र बजार निरन्तर उकालो लागिरहँदा कारोबारीमा खुसियाली छाएको छ । लामो समयदेखि लगातार ओरालो लाग्दा ठुलो मात्रामा सेयर कारोबार गर्दै आएकाहरू निराश हुँदै ‘पर्ख र हेर’ को स्थितिमा थिए । सरकार परिवर्तनपछि देखिएको उत्साह केन्द्रीय बैङ्कले जारी गरेको लचिलो मौद्रिक नीतिका कारण निरन्तर वृद्धि भएर एकपछि अर्को कीर्तिमान कायम हुन थालेको छ । यसअघि २०७८ भदौमा सम्पूर्ण परिसूचकमा वृद्धिसहित सेयर बजारमा उच्च कारोबार भएको थियो । पुराना उच्च विन्दुको कीर्तिमान पछ्याउने क्रममा रहेको बजारमा साताको पहिलो दिन आइतबार उछाल आयो र त्यसलाई अर्को दिन सोमबारले पनि निरन्तरता दियो । निरन्तर हरियाली छाउँदै उकालो लागेको सेयर बजारले सोमबार २९ सयको विन्दु पार गर्‍यो । कारोबारमा पनि नयाँ कीर्तिमान कायम भयो ।

विगतमा नेपाल राष्ट्र बैङ्कले सेयर बजारलाई कस्ने नीति अख्तियार गर्नु नै बजार ओरालो लाग्नुको कारण मानिएको थियो । अहिलेको मौद्रिक नीति सेयर बजारमैत्री आउनु नै लगानीकर्ता उत्साहित हुने आधार भएको विश्लेषकको भनाइ छ । दुई साताअघि जारी चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले लगानीकर्ताको मनोबल उच्च तवरले बढाएको देखिएको छ । खास गरी संस्थागत लगानीकर्ताको कर्जामा २० करोड रुपियाँको बन्देज हटाएपछिको परिणाम नै अहिलेको वृद्धिको आधार भएको सेयर दलालहरूको भनाइले पुष्टि हुन्छ । सोमबार बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेको नभएर कारोबार रकम र बजार पुँजीकरणले समेत अहिलेसम्मको कीर्तिलाई भत्काएर नयाँ कायम हुन पुगेको छ ।

सेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान कायम हुँदै छ । सोमबार नयाँ कीर्तिमान कायम भयो । नेप्से परिसूचक दुई हजार ९३१.६५ पुग्यो । अघिल्लो दिनभन्दा ७०.८१ अङ्कले बढ्यो । त्यस्तै कारोबार रकमसमेत अघिल्लो दिनलाई उछिन्दै २७ अर्ब २४ करोड रुपियाँ पुगेर हालसम्मकै नयाँ कीर्तिमान कायम भएको छ । एक महिनाअघि एक सातामा समेत नहुने कारोबार यताका दिनमा एकै दिन हुन थालेको छ । अर्थतन्त्र चलायमान हुन थालेको छ भने सरकारलाई राजस्वसमेत राम्रै गरी योगदान पुग्न थालेको छ । सेयर बजारमा नयाँ लगानीकर्ता दिनदिनै थपिन थालेका छन् । सेयरप्रति आमसर्वसाधारणको चासो बढेको छ ।

लगानीकर्ताको आकर्षण जीवन बिमा, लघुवित्त, लगानी र जलविद्युत् उपसमूहमा ज्यादै देखिएको छ । बैङ्क तथा वित्तीय क्षेत्र लामो समयदेखि सेयर बजारमा सुस्ताए पनि बिस्तारै लगानीकर्ता फर्कन थालेका छन् । सेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने केन्द्रीय बैङ्कको पछिल्लो नीति अनुसार हालसम्म ३४ वटा धितोपत्र दलाल कम्पनीलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैङ्क तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपियाँको सीमा खारेज गरिनु नै बजार उत्साहित हुनुको कारण मानिएको छ । दैनिक अर्बौं रुपियाँको कारोबार हुने सेयर बजारलाई चलायमान बनाउँदा समग्र अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि सेयर बजारमा सामान्य तलमाथि भने भइरहन्छ । यस्तोमा संयम र सतर्कता पनि उत्तिकै आवश्यक हुन्छ । खास गरी साना लगानीकर्ताले यस खालको बुलिस बजारमा होस पुर्‍याउनु आवश्यक हुन्छ । ठुला लगानीकर्ताको चापमा साना लगानीकर्ता पर्न सक्छन् ।

बैङ्कहरूमा तरलता वृद्धि भएर निरन्तर रूपमा घटाएको कर्जा र निक्षेपको ब्याजदरको सेयर बजारमा प्रत्यक्ष प्रभाव देखिन थालेको छ । सेयर बजारमा देखिएको यो उच्च उत्साहले बहुआयामिक प्रभाव पारी अर्थतन्त्रले बिस्तारै लय लिन सके अर्थतन्त्रले समृद्धिको गति समात्न सक्ने छ । सरकार सेयर बजारप्रति उदार हुने प्रधानमन्त्री र अर्थमन्त्रीको अभिव्यक्ति आएसँगै सुधारिएको बजार लचिलो मौद्रिक नीतिपछि निरन्तर उकालो लागिरहे पनि जोखिम भने कायमै छ । सेयर बजारको यस्तो अवस्थामा सीमित नाफाखोरी फस्टाउने र आमसर्वसाधारण खाल्डोमा पर्ने जोखिम हुन सक्ने हुँदा सचेत हुनै पर्छ । सुधारिएको सेयर बजारलाई पुनः खस्किन नदिन र लगानीकर्ताको उत्साह कायमै राख्न सरकारले सेयर बजारमैत्री नीति नियममा निरन्तर समीक्षा गर्नुका साथै आवश्यक परिमार्जनतर्फ पनि ध्यान दिन वाञ्छनीय छ । सर्वसाधारण लगानीकर्ताले पनि जोससँगै होस पुर्‍याउनु उत्तिकै जरुरी छ ।