• ८ मंसिर २०८१, शनिबार

राजनीतिमा सर्वोत्तम विकल्प

blog

सबै कुरा नयाँ राम्रो र असल, पुरानो सबै खराब र कमसल यो भाष्य गलत छ । खराबी नयाँ र पुराना सबैमा छन्/हुन्छन् । सिक्नु र जान्नुपर्ने विषय पुरानाको खराबीलाई नयाँले आफ्नो पदचाप नबनाउनु र पुरानाको असल पक्षको कट्टर पक्षपाती हुनु हो । नयाँको जोसलाई पुरानाको होसले सार्थक परिणतिमा पु¥याउन मद्दत गर्दछ । अनुहार, उमेर र स्वरमा नयाँ नभएर आजको राजनीतिले शैली, चिन्तन, व्यवहार, संस्कार, आचरणमा नयाँ खोज गरेको छ । यसर्थ विकल्प हो तर पुरानाको विकल्प नयाँ होइन । नयाँ, नयाँ हुनु पर्छ । राजनीतिमा सर्वोत्तम विकल्प आवश्यक छ । त्यो नयाँ भनिएकोबाट होस् या पुरानो भनिएकोमा नै खोजी गरियोस् । परिवर्तन रूपान्तरणको खाँचो आममान्छेले गरेको अपेक्षा हो । 

समाजलाई हेर्ने, सामाजिक समस्यालाई निराकरण गर्ने, असन्तोष र विद्रोहलाई सम्बोधन गर्ने दार्शनिक धरातल स्पष्ट हुनु पर्छ । फरक तरिकाले डेलिभरी गर्ने नीति तथा कार्यक्रम बन्नु पर्छ । पुरानाले गरेनन्, अब नयाँ र हामीले भन्ने कुरा अनुहारमा, पुस्तामा फरक होला । तरिकामा फरक नहुन सक्छ, जुन देखिएन पनि । नयाँलाई पनि सत्ताको चास्नी नै मन पर्न थाल्यो । नयाँ बिटुलो बन्ने क्रम जारी छ । 

आजको समय गहन दर्शन र वैचारिकीको मात्रै होइन, डेलिभरीको पनि हो । जनतालाई दिने सेवा र सुविधा चुस्त, दुरुस्त र शीघ्र डेलिभरीको हो । दर्शन र वैचारिकी मात्रले केही हुँदैन । नाङ्गो आङमा कपडा, भोको शरीरमा खाद्यान्न र चुहिने छानोमा जस्ता, सर्वसुलभ शिक्षा, स्वास्थ्यसहित दिगो लक्ष्य र सरल मार्ग अनि व्यवस्थित योजनासहितको विकास निर्माण, सभ्यता, संस्कार र चुस्त प्रशासनिक र न्यायिक सेवा आजको राजनीतिको मूल प्रस्थान विन्दु हो ।

नैतिक र चारित्रिक क्षयीकरण रोक्ने पाठ्यपुस्तक, रोजगारमूलक शिक्षा, बिरामी हुँदा घरखेत गुमाउनुपर्ने अवस्थामा परिवर्तनसहितको स्वास्थ्य क्षेत्रमा परिवर्तन आजको माग हो । समयलाई सम्बोधन गर्न सक्ने नूतन वैचारिकी समाजले खोजेको छ । कर्मशील, निष्ठावान् र इमानदार राजनीतिमार्फत सुशासन चाहेको छ । विधिको पक्षमा काम गर्ने नेता खोजेको छ । विधि छल्ने नेता धेरै थिए/छन्, नयाँले विधिलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाउँछन् भन्ने जनताको अपेक्षा थियो, सो अपेक्षामा क्रमशः तुसारापात भइरहेको छ । 

सार्वजनिक सेवा किन निकम्मा भए ? सार्वजनिक सेवाले डेलिभरी दिन नसक्नुको पर्याप्त कारण खोजेर शीघ्र उपचारात्मक प्रबन्ध देशलाई चाहिएको छ । यो वाद, दर्शन र सिद्धान्तको युग नभएर डेलिभरीको युग हो । स्थानीय आवश्यकता र अवस्थितिलाई सम्बोधन गर्ने स्वायत्त अधिकार उपयोगको समय हो । विगतको व्यवस्था परिवर्तन, योगदान र सक्रियताको ब्याज जीवनपर्यन्त भोग्ने लालसाको त्याग पुराना दलको हकमा अत्यावश्यक छ । 

जेलनेल, निर्वासन र भूमिगत जीवनको बायोग्राफीकै आधारमा एउटा पुस्ता योग्य र अर्को पुस्तालाई नजानिँदो निषेधले पुराना दलमा नयाँ अनुहारको आकर्षण कम देखिएको छ । नयाँलाई हामी नयाँ हौँ, जे पनि गर्न मिल्छ र सक्छौँ भन्ने भ्रम उत्पन्न भएको छ । नयाँको सबै स्वीकार्य र पुरानाको सबै अस्वीकार्य भन्ने सोच सर्वथा अनुपयोगी छ । पुरानाबाट सिक्ने र नयाँलाई सिकाउँदै स्थान दिने बानी पुराना पुस्ताका नेताले गर्नु पर्छ ।

राजनीतिमा नयाँ जोससहित आएकालाई कतिपय प्रक्रिया, विधि र सामाजिक अनि राजनीतिक मूल्यबारे कम ज्ञान छ । यसर्थ राजनीतिक ज्ञानको मार्ग फराकिलो गर्नुपर्ने आवश्यकता नयाँका लागि चुनौती हो । ज्ञान, सिप र अनुभवबेगर रुचि र साहसले मात्रै कोही पनि सगरमाथा आरोहण गर्न सफल हुँदैन । आरोहणका पनि आफ्नै प्राकृतिक नियम हुन्छन् । आरोहण सफल भनेको शिखर पुग्नु मात्रै होइन, सहज अवतरण पनि हो । 

नयाँले व्यक्तिलाई भन्दा प्रणालीलाई जोड दिनु पर्छ । नीति र प्रयोगलाई प्राथमिकीकरण गर्नु पर्छ । यद्यपि प्रणाली निर्माण गर्ने काम नेतृत्वदायी व्यक्तिका कदम कदममा निहित हुन्छन् । भुइँ छोडेर गरिएको रसेन्द्र भट्टराईको उटपट्याङ गफलाई धेरैले केही समय पत्याए पनि । काल्पनिक भ्रमको आयु छोटो हुन्छ । आजको डिङ हाँक्ने राजनीति पनि अनुजा (अनुजा बानियाँले ९१ लाख र हिराको हार फिर्ता गरेको, २०६८ वैशाख) को इमान र नेपाली समाजको भावनात्मक लहड जस्तै छ । आँखा चिम्लेर विश्वास गर्ने, आलोचनात्मक चेत राखेर प्रश्न ग¥यो भने नाजायज सम्झनेको सपनाले देश बन्दैन मात्र होइन, पटक्कै बन्दैन, जसको क्षति सामान्य पनि हुँदैन । विश्वसनीयताको खती राष्ट्रिय महारोग हो । 

रसेन्द्र भट्टराईको आश्चर्यजनक आर्थिक उन्नति, प्रगति र अनुजा बानियाँको इमानदार छविमा पुलकित भएर हुर्केको र भावनात्मक बनेर बहकिएको देख्ने हामी आज कसैको चामत्कारिक जित र हारमा आँखा चिम्लेर विश्वास गर्न सक्दैनौँ । हाम्रो पुस्ता २०६४ मा माओवादीको आशातीत सफलता र मधेशवादीको बहार देखेर राजनीतिको विश्लेषण मूल्याङ्कन गर्ने क्षमता राख्दछ । यो पुस्ताले हेमबहादुर मल्ल र शारदा मल्लको अत्यधिक मतसहितको २०४३ को राष्ट्रिय पञ्चायतको चुनावी जित र २०४८ सालको संसदीय चुनावमा उनैको जमानत जफत भएको पनि पढेको सुनेको छ । २०६४ सालको संविधान सभाको चुनावमा डाक्टर बाबुराम भट्टराईले ४० हजारभन्दा बढी मतान्तरमा चुनाव जितेको पनि बिर्सेको छैन । मदन भण्डारी र विद्या भण्डारीले २०४८ र २०५० मा कृष्णप्रसाद भट्टराईलाई पालैपालो चुनाव हराएको पनि भुलेको छैन । २०८० वैशाखमा रवि लामिछानेले चितवनमा प्राप्त गरेको ५४ हजारभन्दा बढी मत आक्रोश र नेपालको सपनाको पछिल्लो विम्ब थियो । 

जो जसरी नेता भए पनि ऊ सामाजिक चेतना र व्यवहारको उपज हो, उत्पादन हो । विशेष धातुनिर्मित विशेष वस्तु होइन । हुँकार गर्नेको नैतिक धरातल बलियो हुनु पर्छ । अनैतिकले धेरै ठुलो हुँकार प्रदर्शन गर्छ । नैतिक सामान्य हुँकार ? नागरिकतालाई कागजको विषय र भावनाको विषय मात्रै बनाउने अतिवादी हुन् । नागरिकता भावना र कागज मात्रै होइन, जन जनको आफ्नो ममत्व र माटोप्रतिको माया, देशप्रतिको कर्तव्य र अविश्रान्त लगाव हो । कागज प्राविधिक कुरा मात्र होइन भने प्रक्रियाको प्राविधिक त्रुटि अक्षम्य अपराध बन्दैन । तथापि वस्तुनिष्ठ बन्न जानिएन भने फन्दामा परिन्छ । कानुनले भावना र व्यावहारिकता हेर्दैन, प्रमाण र कानुनी प्रबन्ध हेर्छ । त्यसैले बहकिन छोडेर यथार्थ धरातलमा बस्न जान्नु पर्छ । 

हजारौँको रगत, पसिना, बलिदानीपछि सत्तामा पुगेको माओवादीले सत्ता प्रवेश गर्दा नगर्दै आफ्नो आधारभूत चरित्र गुमाएर सुखभोग, सत्ताभोग र अवसरवादको भुलभुलैयामा प¥यो । २०६४ ताका माओवादी को थिएन ? माओवादीले गर्न नसक्ने कुरा के थियो ? माओवादीले देखाउन बाँकी सपना कुन थियो र ? प्रचण्ड, बाबुरामको देवत्वकरण गर्दा छुटेका कुनै विम्ब, प्रतीक र मानकहरू थिएनन् । चमत्कारको भाष्य सिर्जना गर्न कुनै कसर छोडिएको थिएन । 

परिणाम कस्तो आउँदै गयो जगजाहेर छ । २०७४ को चुनावपछि नेकपाको शक्तिले विपक्षीलाई अत्याएको थियो । दुई तिहाइको सरकारको सामथ्र्यले अरू तीन/चार आवधिक निर्वाचन नेकपाबाट कसैले खोस्न सक्दैन भन्ने जन जनको बुझाइ थियो । समय यसरी फेरियो कि ती सबै राजनीतिक घटनाक्रमबाट कोही अनभिज्ञ छैनौँ ।

लहड, लहर, वेग र आक्रोशको मत थाम्न नयाँ पार्टीले थुप्रै ढुङ्गा चपाउने र पचाउने क्षमतासहित राजनीतिको रथ हाँक्नु पर्छ । पार्टीका नेता कार्यकर्तालाई बेस्सरी प्रशिक्षण दिएर फलामे अनुशासनमा राख्नु पर्छ । सबैको घर, व्यवहार र अनुहारमा पारदर्शी ऐना राख्नु पर्छ । अन्यथा ऋतुहरू परिवर्तन भइरहन्छन् । राप र तापलाई इनर्जी बनाएर राजनीतिको फ्रेममा हाल्न सकिएन, वैचारिक पाइन लाउन सकिएन भने दुर्घटना कसैको बसमा रहन्न । 

अरूले गर्न नसकेको उसले गर्न सक्दैन भन्ने होइन तर जादुको छडी कसैसँग छैन । राज्यको पनि सामथ्र्यको कुरा आउँछ । व्यक्तिभन्दा प्रणाली बलियो बनाएर जानु सबैभन्दा उत्तम विकल्प हो । एउटा व्यक्तिलाई अतृप्त सपनाका सबै भारी उठाउन लगाइयो भने सही निस्कर्ष ननिस्कने सम्भावना बेस्सरी हुन्छ । कदाचित व्यक्ति दुर्घटनामा परे वा पलायन रोजे पनि उसको मुद्दा र अभियान असमयमा मृत्युवरण गर्ने स्थितिमा पुग्नुहुन्न । राजनीति भेलबाढी होइन, गड्गडाएर सुकी जाने खहरे पनि होइन । अविरल बगी रहने नदी हो । राजनीतिको नदी सङ्लो र धमिलो भइरहन्छ, यो एउटा प्रक्रिया हो । नदी सङ्लो बनाउने प्रयत्न भने भगीरथ रूपमा हुनु पर्छ । 

गन्तव्य चुनाव मात्रै जित्ने हुनु हुँदैन । जसरी पनि जित्नुपर्ने राजनीति सचेत मान्छेले खोजेको पनि होइन । उच्चतम आदर्श चाहिँदैन, न्यूनतम नैतिकता ख्याल गरिदिए हुन्छ । अनुपस्थितिमा उपस्थितिको ग्यारेन्टी खोज्या हो । व्यक्तिलाई सम्बोधन नभएर मुद्दा र विषयलाई सम्बोधन भएन आजसम्म भन्ने सरोकार हो । व्यक्तिको प्रतिनिधित्व एउटा आवाज हो, मुद्दाको प्रतिनिधित्व सामूहिक र बृहत्तर आवाज हो । 

पुरानोको विकल्प नयाँ भनेको सुनिन्छ । यो भाष्यमा पनि परिवर्तनको खाँचो देखिन्छ । पुरानोको ठाउँमा नयाँ होइन, पुरानोको स्थानमा फरक सोच, दीर्घकालीन योजना, नयाँ शैली शील र स्वभाव पनि हो । दृष्टिकोण नै नयाँ हो । पुरानो बदलेर नयाँ नभएर पुरानै पनि नयाँ हुनु हो ।    

Author

सञ्जीव कार्की