• १३ असोज २०८१, आइतबार

बागलुङमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा

blog

गलकोट (बागलुङ), साउन २८ गते । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गत आवमा उक्त कार्यक्रम सफल भएपछि जिल्लामा आलु उत्पादन बढाउन यस वर्ष पनि आलुखेतीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको हो ।

चालु आवको कुल बजेटको ३५ प्रतिशत आलुको उत्पादन, प्रशोधन, बजार व्यवस्थापनलगायत क्षेत्रमा विनियोजन गरिएको केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रमका लागि एक करोड ४९ लाख बजेट विनियोजन भएको छ । समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवर्द्धन आयोजनाअन्तर्गत सिँचाइ पूर्वाधार सहयोग, यान्त्रिकीकरण, बाली कटानी, प्याकेजिङ तथा बजारीकरण, बीउ उत्पादनमा सहयोग र बिमा शुल्कमा अनुदानलगायत कार्यक्रम ल्याइएको प्रमुख सिलवालले बताउनुभयो । 

आलु प्रवर्द्धन कार्यक्रमले उत्पादन र खेतीको क्षेत्रफल वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । केन्द्रले आलुपछि सुन्तलालाई प्राथमिकता दिएर बजेट ल्याएको छ । सुन्तला जातको फलफूल विकास आयोजनाका लागि ९३ लाख बजेट विनियोजन गरेको छ । सुन्तला किसानलाई तालिम, बाली कटानी, यान्त्रिकीकरण, सिँचाइ व्यवस्थापन, नयाँ बगैँचा विस्तार र पुरानाको सुधार तथा बिमालगायत कार्यक्रम गरिने प्रमुख सिलवालले जानकारी दिनुभयो ।

“केन्द्रले आलु र सुन्तलालाई बढी प्राथमिकतमा राखेको छ, गत वर्ष आलुखेती विस्तार भएको थियो”, उहाँले भन्नुभयो, “जिल्लामा आलु र सुन्तलाको सम्भावना बढी हुनाका साथै आम्दानी पनि बढी हुने भएकाले किसानलाई प्रोत्साहन गर्न कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।” उहाँका अनुसार एक वर्षमा २० करोडको सुन्तला निर्यात भएको छ भने गत वर्ष दुई हजार सात सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको थियो । 

कृषि ज्ञान केन्द्रका अनुसार खाद्यान्न बाली प्रवर्द्धनअन्तर्गत ३७ लाख ४० हजार बजेट विनियोजन गरिएको छ । मसला तथा निर्यातयोग्य बालीतर्फ आठ लाख, स्थानीय बालीतर्फ १४ लाख, जलवायुमैत्री प्रविधि प्रवर्द्धन गर्न १० लाख, पोषण सुरक्षा कार्यक्रमअन्तर्गत चार लाख बजेट विनियोजन गरिएको केन्द्रका प्रमुख सिलवालले जानकारी दिनुभयो । रासस