• ९ मंसिर २०८१, आइतबार

पूर्वी नेपालमा हात्ती पर्यटन विकासका लागि प्रयास

blog

बिष्णुप्रसाद पोखरेल
दमक, साउन २८ गते ।
झापासहित पूर्वी नेपालमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि हुँदै गएपछि यसको न्यूनीकरणसँगै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले हात्ती पर्यटन विकासका लागि प्रयास हुन थालेको छ ।

मानव र हात्तीबिचको सहअस्तित्व हात्ती पाइने क्षेत्रका प्रायजसो सबैको चासोको विषय भए पनि ठोस रुपमा काम अघि बढ्न सकेको छैन । फागुनको पहिलोसाता कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदारकार्कीले हात्ती हिँड्ने बाटोको अवलोकन र भ्रमण गरेपछि यस विषयले निक्कै चर्चा पाएको थियो ।

उहाँले झापाको बाहुँण्डागीदेखि उदयपुरको बेलटारसम्म जङ्गलनै जङ्गल सरोकारवाला निकायसहित २५० किलोमिटर पैदलयात्रा गर्नुभएको थियो । यसको उद्देश्य हात्ती पर्यटनको सम्भावाना खोज्नु रहेको बताइएको थियो । हात्ती करिडोर निर्माण तथा हात्तीको पुरानो जैविक बाटोको पहिचान गर्ने भनेर यो यात्रा भएको थियो ।

झापादेखि उदयपुरसम्मको हात्तीमैत्री पदयात्रा सरकारको तवरबाट पूर्वमा पहिलो पटक भएको भन्दै हात्ती संरक्षणकर्मीहरुले औपचारिकतामामात्र यात्रा सिमित नरहोस् भनेर सचेत पनि गराएका थिए । यो यात्राले हात्तीको संरक्षणमा जुट्नुपर्छ भन्ने सन्देश दिएको छ, तर अब काम कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी छ, मेचीनगर नगरपालिका वडा नं. ४ वडाध्यक्ष अर्जुन कार्कीले भन्नुभयो ।

वडाध्यक्ष कार्कीका अनुसार भारतबाट सयौंको सङ्ख्यामा एकैसाथ नेपालमा हात्ती प्रवेश गर्ने गरेका छन् । बाहुण्डाँगी र आसपास मेचीनगर किनार हुँदै हात्ती प्रवेश नगरेको दिन नहुने गरेको उहाँ बताउनुहुन्छ ।

‘‘स्थानीयहरुले अब यसलाई सहज रुपमा लिन थालेर हात्तीलाई माया गर्न थाल्नु भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘हात्तीसँग कसैको पनि रिस छैन, तर हात्तीले पुर्याउने गरेको क्षति प्रतिको चिन्ता छ ।’’

अब हात्तीलाई कमाइखाने माध्यम तथा पर्यटनसँग जोड्नलाई स्थानीय उत्साहित भएर लाग्न थालेको उहाँ बताउनुहुन्छ । हात्तीले पुर्याएको क्षति र समस्यामात्र बाहिर आउने गरेको बताउँदै अब यसलाई आयआर्जनमा जोड्ने विषय अहिले यहाँ चर्चाको विषय हुन थालेको उहाँको भनाइ छ ।

आफुहरुले केही वर्षअघि हात्ती रिर्सोट खोलेर हात्ती पर्यटन सुरुवात गरेको र त्यसपछि धेरै काम भइरहेको उहाँको भनाइ छ । अहिले हात्तीमैत्री होमस्टे, हात्ती आगमन सूचना केन्द्र स्थापना, हात्तीसँग मैत्रीपूर्ण व्यवहार र घुलमिल लगायतका विषयमा कार्यक्रमहरु भइरहेको जानकारी उहाँले दिनुभयो । हात्तीको विषयमा बुझ्न र हात्ती हेर्न मानिसहरु आउन थालेका छन्, उहाँ भन्नुहुन्छ ।

हात्तीहरु परम्परागत रुपमा हिँड्ने जङ्गल क्षेत्रहरु मानव बस्ति र कृषि क्षेत्रहरुमा परिणत हुँदा हात्तीहरुको नियमित आवागमनमा अवरोध पुगेकाले मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको बाहुण्डागीकै हात्ती संरक्षण कर्मी शंकर लुइटेल बताउनुहुन्छ । हात्तीको आनबानीको जिषयमा जानकार भएर होशियारी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर यहाँका बासिन्दाले बुझ्न थालेको लुइटेलको भनाइ छ ।

समुदायले हात्तीप्रति राख्ने धारणा परिवर्तन गराउने, हात्तीप्रति गर्नुपर्ने जिम्मेवार व्यवहारहरुबारे समुदायमा छलफल चलाउने, हात्तीबाट हुने बालिनाली वा सम्पत्तिको क्षति जोगाउन लाग्दा आफ्नो ज्यानलाई खतरा हुनसक्ने क्रियाकलापबाट रोक्ने कार्यमा केन्द्रित भएर लाग्न सक्नुपर्नेमा उहाँको जोड छ ।

समुदायले हात्तीप्रति गर्ने नकारत्मक व्यवहार परिवर्तन गराई हात्तीबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने प्रयास अनुसार हात्ती पर्यटनको सम्भावाना खोजी र काम पनि सुरु भएको उहाँ बताउनुहुन्छ ।