• १६ भदौ २०८१, आइतबार

अन्तर्राष्ट्रिय हात्ती दिवस विशेष

मान्छेको औषधी खुवाएर हात्ती टिबीमुक्त

blog

हात्ती प्रजनन केन्द्र खोरसोरमा हात्तीका आमाछोरा । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली

नारायणगढ, साउन २८ गते । हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो । 

उपचार थालिएको चार वर्षयता हात्तीमा टिबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन् । यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधी र उपचार प्रभावकारी देखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताउनुभयो । 

“विगतमा क्षयरोगले हात्तीहरू भटाभट मर्न थालेपछि चिन्ता थियो, अहिले कुनै पनि हात्तीमा क्षयरोगका लक्षण देखिएको छैन,” उहाँले भन्नुभयो । चितवनमा अहिलेसम्म ६७ वटा हात्तीलाई टिबीको औषधी खुवाएर निको पारिएको पनि उहाँले जनाउनुभयो । २०६७ सालमा टिबी भएरै औषधी खुवाइएको बहादुर गज अहिले सौराहामा नियमित निकुञ्ज सुरक्षाका लागि गस्तीमा परिचालित छ । 

यस्तै मेनका कली अहिले पर्सा राष्ट्रिय निकुञ्जको गडुवालाइन पोस्टमा छ । उसलाई पनि २०६८ मा टिबीकै उपचार गरिएको हो । टिबीको उपचार गरिएकामध्ये अहिलेसम्म दुई हात्तीको मृत्यु भएको छ तर दुवैको पोस्टमार्टममा क्षयरोगको कुनै पनि लक्षण देखिएन । “पछिल्लो पटक निकुञ्जमा मरेको भोलाप्रसाद टिबीकै उपचार गरेको हात्ती हो । उपचारको लामो समयपछि मरेको यो हात्तीको पोस्टमार्टम गर्दा कुनै पनि क्षयरोगको लक्षण देखिएन,” हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरन चौधरीले भन्नुभयो । 

हात्तीलाई एक वर्षसम्म नियमित औषधी खुवाइएपछि मात्रै क्षयरोगबाट मुक्त हुने गरेका छन् । डा. श्रेष्ठका अनुसार क्षयरोग सङ्क्रमित हात्तीलाई एथेमब्युटोल, रिफ्यामपिसिन र आइसोनाइजिट औषधी खुवाइएको हो । यी औषधी मानिसका लागि पनि प्रयोग गरिन्छन् । “यो औषधी मानिसभन्दा हात्तीलाई चालिस गुणा बढी दिनु पर्छ,” उहाँले भन्नुभयो । नेपाल प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौलाले भन्नुभयो, “हात्तीको तौल हेरेर मान्छेलाई भन्दा चालिस गुणाभन्दा बढी औषधी खुवाएपछि मात्रै हात्तीलाई टिबी निको गराउन सकिएको हो,” उहाँले भन्नुभयो । हात्तीको तौल चार हजार किलोग्रामसम्म हुने भएकाले एउटा हात्तीलाई १५० देखि २०० मात्रासम्म औषधी दिनुपरेको स्मरण उहाँले गर्नुभयो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष आइयुसिएनले खतराको सूचीमा राखेको वन्यजन्तु एसियाली हात्ती नेपालसहित छिमेकी केही देशमा मात्रै पाइन्छ । सन् २०२० सम्म चितवनमा कम्तीमा १५ वटा हात्ती क्षयरोगका कारण मरेका थिए । हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका प्रमुख मनिपुरन चौधरीका अनुसार त्यसरी मर्न थालेपछि लक्षणका आधारमा हात्तीमा टिबी परीक्षण गरिएको थियो ।

“राजा महेन्द्र हुन् वा वीरेन्द्र चितवन सफारी हुँदा दुवैले जङ्गल सफारीका लागि रोज्ने हात्ती पशुपति कली थियो । त्यही नै टिबीका कारण पहिलो पटक २०६५ सालमा मरेको थियो,” उहाँले भन्नुभयो । 

टिबीका जीवाणुले फोक्सो हुँदै मस्तिष्क र करङमा समेत असर गर्ने चिकित्सक बताउँछन् । समयमा उपचार नपाए ज्यानसमेत लिन्छ । यो रोग लागेका मानिसमा जस्तै हात्तीमा पनि लामो समय खोकी लागि रहने, राति हल्का ज्वरो आउने, अत्यधिक थकाइ लाग्ने, राति पसिना आउने, जाडो धेरै हुने, धेरै भोक लाग्ने आदि लक्षण देखिन्छ । टिबीको माइक्रो ब्याक्टिरियम ट्युबरक्लोसिस जीवाणु खोक्दा वा हाच्छुँ गर्दा हावाबाट दोस्रोमा सर्छ । नेपाल प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौला हात्तीका लागि क्षयरोगको परीक्षण गारो विषय भएको बताउनुहुन्छ । हात्तीको छाला बाक्लो हुने भएकाले फोक्सोको एक्सरे गर्न नसकिए पनि र्‍यालको परीक्षणबाट टिबी पहिचान गरिने उहाँले जनाउनुभयो । 

“सामान्य परीक्षण त चितवनमै गरिन्छ तर कल्चर नै गर्नुपर्दा हामी काठमाडौँमा मानिसकै टिबी परीक्षण गर्ने ल्याबमा पठाउँछौँ,” उहाँले भन्नुभयो । हात्तीको सुँढको टुप्पादेखि छाती अर्थात् फोक्सोसम्मको भाग लामो हुने भएकाले पनि एक्सरे गर्न गारो हुने बताइन्छ । 

हात्तीलाई औषधी खुवाउन पनि सजिलो छैन । जानकारहरूका अनुसार भेली, कुचीलगायतका खाद्यान्नमा मिसाएर मुखबाट खुवाउने, नसके पानीमा घोलेर मलद्वारबाट पाइप लगाएर पठाइने जानकारी दिन्छन् । मुखबाट खाए जस्तो प्रभावकारी मलद्वारबाट दिएको नहुने चिकित्सकहरू बताउँछन् । 

नेपालमा निकुञ्ज तथा संरक्षित क्षेत्रसँग १०७ र निजी क्षेत्रसँग ५० वटा हात्ती छन् । जसमध्ये चितवनमा निकुञ्जमा ५५ वटा र निजी क्षेत्रसँग ४० वटा हात्ती छन् । यसका अलवा नेपालमा झन्डै दुई सय जङ्गली हात्ती रहेकामा चितवनमा ५५ देखि ६० रहेको निकुञ्जले जनाएको छ । यसैबिच साउन २८ गते अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइँदै छ ।