• १६ भदौ २०८१, आइतबार

सिनेमाको सुटिङ यसरी गरिन्छ

blog

भाइबहिनीहरू, चलचित्र (सिनेमा) हेर्न मजा हुन्छ है ? सिनेमा तयार गर्दा कति मेहनत पर्छ भन्ने कमैलाई थाहा हुन सक्छ । चलचित्र बनाउन निर्माता, निर्देशक, कलाकार र प्राविधिकको भूमिका हुन्छ । निर्देशकले चलचित्र निर्माण गर्न राम्रो कथा छान्छन् । कथामा लगानी गर्न सक्ने निर्मातालाई उनले लाग्ने खर्चका बारेमा भन्छन् । निर्माताले आफूले रकम खर्च गर्न तयार भएको निर्णय गरेपछि निर्देशकले कलाकार र प्राविधिक छनोट गर्छन् । त्यसैले सिनेमाका निर्देशकलाई क्याप्टेन अफ दी सी अर्थात् जहाजको कप्तान पनि भनिन्छ । 

पहिलो चरण 

निर्देशकले कथा छानेपछि त्यस अनुसार कथालाई छायाङ्कन गर्न मिल्ने शैलीमा पटकथा तयार पारिन्छ । त्यसलाई दृश्यको शृङ्खला पनि भनिन्छ । त्यसपछि संवाद लेखिन्छ । कल्पना गरिएको दृश्य र संवाद अनुसार उपयुक्त हुने कलाकारको चयन गरिन्छ । कलाकारको चयन सँगै फिल्मका दृश्य खिच्नका लागि क्यामरा म्यान, प्रकाश मिलाउनका लागि लाइट म्यान, सिँगार गर्नका लागि मेकअप म्यान, पोसाक तयार गर्नका लागि ड्रेस म्यान, विभिन्न काममा सहयोग गर्न स्पट ब्वाय, सुटिङका बेला खाना पकाउन भान्से, खाना र सामान बोक्न चालक आदिको व्यवस्था गरिएको हुन्छ ।  

दोस्रो चरण 

नायक (हिरो), नायिका (हिरोइन), सहायक कलाकार, खलनायक (भिलेन) को को हुने, कस्तो वेशभूषा लगाउने, कसरी बोल्ने आदि सबै विषयमा निर्देशक र कलाकारबिच कुराकानी हुन्छ । कलाकारले के संवाद बोल्ने भनेर पढ्न थाल्छन् । 

निर्देशकले क्यामरा म्यानलाई कसरी, कुन कोणबाट, कहाँ कहाँ खिच्ने भनेर छलफल गर्छन् । निर्देशक र क्यामरा म्यानबिचमा राति र दिउँसोको दृश्य कसरी खिच्ने, कति बत्ती प्रयोग गर्ने, क्यामरा कति वटा चाहिने सबै छलफल भएपछि फिल्म युनिट सुटिङ गर्ने स्थानमा जान्छन् । 

सुटिङ स्पट 

सुटिङ स्पट भनेको कथा अनुसारका दृश्य छायाङ्कन गर्ने ठाउँलाई भनिन्छ । सुटिङ स्पट आउटडोर र इनडोर हुन्छ । आउटडोर भन्नाले बाहिरी ठाउँ हो जहाँ सूर्यको उज्यालोमा छायाङ्कन गरिन्छ । जस्तोः गाउँठाउँको चौतारीमा, स्कुलको आँगनमा वा खोलाको छेउमा । 

इनडोर जसलाई अन्तस्थलीय भनिन्छ जहाँ बिजुलीबत्तीको उज्यालोको सहायतामा छायाङ्कन गरिन्छ । जस्तोः घर, जेल, अस्पताल, विद्यालय आदिका भवनभित्र । निर्देशकले कलाकारलाई सुटिङ स्पटमा कसरी अभिनय गर्ने, संवाद कसरी बोल्ने आदिका बारेमा व्याख्या गर्छन् । त्यसै अनुसार कलाकारले अभ्यास गर्छन् । सुटिङ स्पटमा कलाकारलाई चरित्र अनुसारको वेशभूषा, कपाल, अनुहारमा सिँगार गरिन्छ ।

  सुटिङ सुरु

कलाकार तयार भएपछि निर्देशकले उनीहरूलाई क्यामराको अगाडि बोलाउँछ । निर्देशकको निर्देशन अनुसार कलाकारले रिहर्सल (अभ्यास) गरिसकेपछि छायाङ्कन सुरु गरिन्छ । निर्देशकले क्यामरा म्यानलाई अर्डर दिन्छन् । उनले ‘क्यामरा’ भन्छन् ।  

क्यामेरा म्यानले ‘रनिङ’ भनेर साउन्ड म्यान (ध्वनि नियन्त्रक) लाई निर्देशन दिन्छन् । साउन्ड म्यानले ‘रोलिङ’ भनेर जवाफ दिएपछि निर्देशकले कलाकारलाई ‘एक्सन’ भनेर आदेश दिन्छन् । अनि कलाकारले अभिनय गर्छन् । 

सुटिङ सकिएपछि त्यसलाई सम्पादन गरिन्छ । डबिङ गरिन्छ । प्राविधिकसम्बन्धी धेरै काम गरिन्छ । बल्ल चलचित्र तयार हुन्छ । अनि हामी सिनेमा हलमा गएर मज्जाले सिनेमा हेर्छौं ।  

साउन मुना २०८१

Author

प्रकाश सायमि