तम्घास समाचारदाता
तम्घास, साउन २७ गते । गुल्मी जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६५ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका छन् । जसमध्ये ४३ मुद्दा फर्स्योट भएको र २२ वटा मुद्दा फर्स्योट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार गत आवमा अदालतमा ३८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा फस्र्योट भएको र ७३ मुद्दा फर्स्योट गर्न बाँकी रहेका छन् । पुरुषवादी पक्ष भएका ६५ मध्ये ४३ र महिलावादी पक्ष भएका ३१८ मध्ये २६७ मुद्दा फर्स्योट भएका छन् ।
आव २०७९/८० मा ७३ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका थिए । सम्बन्धविच्छेदसम्बन्धी परेको कुल ३८२ थान मुद्दामध्ये ७३ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका थिए । मुलुकी देवानीसंहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको पन्थीले बताउनुभयो । विशेष गरी श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेको उहाँको भनाइ छ ।
यस्तै महिलाले पुरुषसँग सम्बन्धविच्छेद गरिपाऊँ भनी दर्ता गरेका ३०९ थान मुद्दामध्ये २७२ थान मुद्दा फर्स्योट भएको र ३७ थान मुद्दा फर्स्योट गर्न बाँकी रहेका छन् । महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्नुका कारणमा घरेलु हिंसा, कुटपिटलगायत रहने गरेको अदालतले जनाएको छ । गत आवमा जिल्ला अदालत गुल्मीमा कुल ६७४ थान मुद्दा रहेकामा ४८० थान मुद्दा फर्स्योट भएको र बाँकी १९४ मुद्दा रहेको अदालतले जनाएको छ । अदालतको लक्ष्य अनुसार वार्षिक रूपमा फैसला गर्नुपर्ने मुद्दाको सङ्ख्या ४५४ मध्ये असार मसान्तसम्म ४८० थान मुद्दा फर्स्योट भएकाले लक्ष्यभन्दा २६ मुद्दा बढी फर्स्योट भएको सूचना अधिकारी कमल पन्थीले बताउनुभयो ।