• २३ भदौ २०८१, आइतबार

घरबासले ल्याएको परिवर्तन

blog

चितवन समाचारदाता

मेघौली (चितवन), साउन २७ गते । आफू बस्ने घरलाई नै पाहुनाघर बनाएर पर्यटकलाई सेवा दिन सके आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् चितवनका थारू समुदाय । पर्यटकीय नगरी मेघौलीमा ठुला लगानीमा होटेलहरू सञ्चालनमा छन् । यहाँ आएका पर्यटकलाई आफ्नो क्षमता अनुसार बास बस्न, खान र घुम्नका लागि थारूको घरबास एउटा राम्रो विकल्प रहेको छ । महँगो शुल्क तिर्न नसक्ने तथा गाउँघरकै स्थानीय खाना खान चाहनेका लागि उपयुक्त स्थान बनेको छ, थारू समुदायले सञ्चालन गरेको थारू सामुदायिक घरबास । 

सामान्य खेतीपाती गरी जीवन सञ्चालन गर्दै आएका यहाँका थारू समुदायले आफ्नै घरमा पाहुनालाई बास बस्न दिएर, जे छ त्यही खाना खुवाएर सुरु गरेको घरबासमा अहिले सबैको आकर्षण बढेको छ । 

२०६७ सालमा तत्कालीन जिल्ला विकास समितिले आयआर्जनको बाटो खोल्ने भन्दै स्थानीय थारू समुदायलाई होमस्टे (घरबास) को अवधारणा ल्याएर सुरु गर्न प्रोत्साहन गरेको थियो । आफू बस्दै आएको घरमा सफा र बास बस्नका लागि अलग्गै कोठाको व्यवस्था गरी ओढ्ने ओछ्याउने दिएर सुरु गरिएको थियो । घरबासमा अहिले थारू समुदायले अलग्गै वातानुकूलित (एयर कन्डिसन) कोठा निर्माण गरी पाहुनालाई सुविधा दिँदै आएका छन् । 

थारू सामुदायिक घरबासका अध्यक्ष सोमलाल महतोले भन्नुभयो, “एउटा घरमा बास बस्न दिएर सुरु गरेको पर्यटक पाहुनाघर अहिले व्यवस्थित रूपमा सञ्चालन गरेका छौँ ।” परम्परागत कृषिमा निर्भर भएका समुदायलाई यो घरबास व्यवसायले राम्रो आम्दानी दिन सफल भएको छ । “घरमा नै बसेर विदेशी रुपियाँ आर्जन गर्न सक्ने वातावरण बनेकामा हामी खुसी छौँ,” उहाँले भन्नुभयो, “एउटा घरबाट सुरु भएको यो घरबास पर्यटन व्यवसाय सात वटा घरमा विस्तार भएको छ । अहिले एकै पटक हामीले ६० जना पाहुनालाई राख्न सक्छौँ । उहाँहरूलाई खाना खुवाउन थारूको मौलिक संस्कृति देखाएर मनोरञ्जन दिन सकेका छौँ ।” 

अध्यक्ष महतोले भन्नुभयो, “एउटा घरमा चार/पाँच वटा कोठा छन्, शुक्रबार, शनिबार र बिदाको दिनमा सबै भरिन्छ ।” 

उहाँ मात्र होइन, धेरै कमाउन भनेर मलेसिया जानुभएका भरतपुर महानगरपालिका–२७, मेघौलीका वेदकुमार महतो विदेश छाडेर आफ्नै घरमा पर्यटकलाई राख्न घरबास व्यवसाय सुरु गर्नुभयो । सात वर्ष मलेसिया बस्दा कमाउन नसकेको उहाँले २०७५ सालबाट घरबास सुरु गर्नुभएकोमा अहिले अलग्गै पाँच वटा कोठा निर्माण गर्नुभएको छ । 

घरबास व्यवस्थित गर्न ३५ लाख रुपियाँ लगानी गरेको बताउँदै महतोले कम्तीमा पनि मासिक २५ देखि ३० हजार रुपियाँसम्म नाफा हुने गरेको बताउनुभयो । भरतपुरको चौबिसकोठीबाट २७ किमी पश्चिममा रहेको मेघौली चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहाँ आउने पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यसँगै निकुञ्जभित्र जङ्गल सफारी गरेर वन्यजन्तु हेर्न पाउने व्यवस्था छ । भरतपुर महानगरपालिकाका वातावरणविज्ञ विश्व सुवेदीले अहिले महानगरभित्र छ वटा घरबास पर्यटन व्यवसाय सञ्चालन भइराखेको बताउनुभयो ।