जनार्जन खत्री
सर्लाही, असोज ३ गते । आगजनीबाट तहसनहस भएका सर्लाहीका विभिन्न पालिकाका वडा कार्यालयहरुलाई सेवा सुचारु गर्न कठिन भएको छ ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगजनी गर्दा जिल्लाका एक दर्जन बढी वडा कार्यालयमा पूर्ण क्षति पुगेको छ । तीमध्ये केही वडा कार्यालयले आंशिक सेवा सुचारु गरेका छन् ।
आगजनीमा कम्प्युटरसहितका विद्युतीय उपकरण जलेकाले पछिल्लो समय अनलाइनबाट प्रदान गरिने नैसर्गिक अधिकारभित्र पर्ने जन्मदर्ता, मृत्युदर्ता सहितका व्यक्तिगत घटना दर्ताको सेवासमेत ठप्प हुन पुगेको छ । जनप्रतिनिधि र कर्मचारीहरु के–कसरी सेवा सुचारु गर्ने भन्ने अन्यौलमै छन् ।
नागरिकसँग प्रत्यक्ष जोडिएको वडा कार्यालयको सेवा रोकिँदा सयौं सेवाग्राही मारमा परेका छन् । सर्लाहीमा बरहथवा नगरपालिकाको कार्यालय परिसरभित्र रहेको वडा नं. ५, ६ र ७ ले अझै सेवा प्रारम्भ गर्न सकेका छैनन् ।
बरहथवाका यी तीन वटै वडा कार्यालयमा भदौ २४ गतेदेखि व्यक्तिगत घटना दर्तासहितका सेवा ठप्प छ । नगरपालिका कार्यालयसमेत आगजनी गरी ध्वस्त पारिएकाले सेवाग्राहीलाई अत्यावश्यक केही सेवाबाहेक अधिकांश सेवा दिन नसकिएको नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिनुभयो ।
आगजनीले कार्यालयहरु खरानी भएकाले तत्काल पूर्णरुपमा सेवा दिन सक्ने अवस्था नरहेको बरालको भनाइ छ । “खै केही नै त बाँकी छैन यो अवस्थामा कसरी सेवा दिनु र ! हामी नै अलमलमा छौँ” बरालले भन्नुभयो, “कर्मचारी भएपछि कार्यालय त आउनै पर्छ तर दिनभर त्यसै बस्नुपरिरहेको छ ।”
यस्तै आगजनीपछि आधा दर्जन बढी वडा कार्यालयमा क्षति पुगेको लालबन्दी नगरपालिकामा वैकल्पिक व्यवस्था गरी क्रमशः वडा कार्यालयहरुको सेवा सुचारु हुन थालेका छन् । लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले वडा कार्यालय ध्वस्त भएपछि तत्कालका लागि वडा नं. ६ स्थित पुरानो नगरपालिका कार्यालयको भवनबाट आंशिक सेवा सुरु गरिएको बताउनुभयो ।
नगरपालिकाको सेवासमेत ठप्प रहेकाले लालबन्दी नगरपालिकाका कर्मचारी आफैं केही दिनदेखि कार्यालयको सरसफाइमा जुटिरहेका छन् । त्यस्तै, हरिपुर नगरपालिका २ का वडाध्यक्ष नीलविक्रम थापाले नगरपालिकाबाट एक थान ल्यापटप प्रदान भएकाले अब बल्ल आगजनी भएको वडा कार्यालयलाई सरसफाई गरी व्यक्तिगत घटना दर्तासहितका सेवा सुरु गर्ने तयारीमा जुटेको बताउनुभयो ।
आगजनीबाट पूर्ण क्षति पुगेका हरिपुर ७ र ८ को वडा कार्यालयको सेवा भने तत्कालका लागि हरिपुर नगरपालिका २ मा पर्ने नगरपालिका कार्यालयबाटै प्रदान हुने भएको छ । यसैगरी हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्ज्वल ढुङ्गानाले आगजनीबाट पूर्ण क्षति भएको वडा कार्यालय सरसफाइ गरी नागरिकता सिफारिस, चार किल्लासहितका आंशिक सेवा प्रवाह गर्न सुरु गरिएको बताउनुभयो ।