• १२ असोज २०८१, शनिबार

चार दिनमा ६४ लाख दान सङ्कलन

blog

बर्दीबासमा मंलावारदेखि सुरु शिव पुराण महायज्ञमा सहभागीहरु । तस्विर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, साउन २६ गते । सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि बर्दिबासमा जारी शिव पुराण महायज्ञमा दानबाट ६० लाख बढी सङ्कलन भएको छ । 

महायज्ञका परिकल्पनाकार एवं भागवत मञ्जरी राधिका दासीको पुराण कथा श्रवण गर्न आएका भक्तजनले गरेको दान रकम उत्साहाजनकरुपमा वृद्धि भइरहेको बताइएको छ ।  

पुराण सुरु भएको शुक्रबार चौथो दिनसम्म दान दातव्यबाट ६४ लाख रुपियाँभन्दा बढी सङ्कलन भएको शिव पुराण महायज्ञ मूल समितिका सहसचिव नारायण घिमिरेले बताउनुभयो । यो रकम दान पेटिका बाहेकको दान दातव्यबाट सङ्कलन भएको उहाँले बताउनुभयो । 

यस अवधिमा सबैभन्दा बढी बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्री तथा धर्मपत्नी मञ्जु क्षेत्रीले आश्रममा २ कोठा निर्माणका लागि १५ लाख रुपियाँ दान गर्नुभएको छ । बर्दिबासकै समाजसेवी राजेश थापा र सुमित्रा भट्टराई दम्पतीले १ कोठा बराबरको ७ लाख ५१ हजार दान गर्नु भएको छ । 

बर्दिबासमा निर्माणाधीन हाम्रो मायाको घरका अध्यक्ष कृष्णप्रसाद गौतमले ७ लाख ५० हजार, रामनारायण महतोले १ लाख २ हजार १०० र हरिबहादुर थापाले १ लाख ८ हजार रुपियाँ दान गर्नु भएको छ । 

सचिवालयको रेकर्डअनुसार महायज्ञमा सिन्धुलीदेखि बाराको सिमरा र भारतबाट आउनुभएका धर्मपरायणदेखि एकादशी समूहलगायत धार्मिक सङ्घ संस्थाले पनि दान गर्नु भएको छ । महायज्ञ प्रारम्भ भएयता निरन्तरको वर्षाले मौसम प्रतिकूल भए पनि त्यसले भक्तजनको उत्साह र सङ्ख्यामा कुनै कमी देखिएको छैन । 

पुराण वाचिका राधिका दासीको प्रेरणाले ‘हाम्रो मायाको घर’ का लागि १५ जना दाताहरूले बर्दिबास वडा २ मा करिब डेढ करोड मूल्य बराबरको साढे ५ कठ्ठा जग्गा दान दिएपछि यसको निर्माण प्रक्रिया सुरु भएको छ । सोही जग्गामा दुई तले भवनको डिपिआर पनि तयार छ । 

दुवै भवन निर्माणका लागि आवश्यक ११ करोड रुपियाँको स्रोत जुटाउन पहिलो अभियानको थालनी महायज्ञबाट गरिएको हो । साउन २९ गतेसम्म आयोजना हुने महायज्ञको दान दातव्यबाट डेढ करोड रुपियाँसम्म जुट्ने महायज्ञ मूल समितिका अध्यक्ष हिरा गौतमले विश्वास व्यक्त गर्नुभयो ।