• २ माघ २०८१, बुधबार

प्रदेश खेलकुद विद्यालय घोषणाको तयारी हुँदै छ : मन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २६ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रदेशस्तरीय खेलकुद विद्यालय घोषणाको तयारीमा सरकार रहेको बताउनुभएको छ । त्यसका लागि गृहकार्य भइरहेको उहाँले बताउनुभयो । 

गोरखापत्र अनलाइनसँग शनिबार संक्षिप्त कुरा गर्नुहुँदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । उहाँको अनुसार एक प्रदेशमा दुई विद्यालयमध्ये एक सामुदायिक (सरकारी) र अर्को निजी विद्यालय छनौट गरी सो घोषणाको तयारी सरकारले गरेको छ । 

छनौटका लागि मापदण्ड तयार गर्ने काम सुरु भइसकेको र भदौ पहिलो साताभित्र सो घोषणा गरिने उहाँले जानकारी दिनुभयो । खेलकुदका लागि पर्याप्त खेलमैदान भएको, विद्यार्थी सङ्ख्या बढी भएको विद्यालयलाई प्रतिस्पर्धाका आधारमा छनौट गरिने उहाँको भनाइ छ । 

मन्त्री चौधरीले भन्नुभयो, “मुख्यतया आठ–दश खेलका लागि आवश्यक खेल मैदान तथा पूर्वाधार भएको विद्यालयलाई प्रतिस्पर्धाका आधारमा छनौट गरिनेछ । छनौट भएका विद्यालयलाई आवश्यक सहयोग सरकारको तर्फबाट प्रदान गरी खेलकुद क्षेत्रमा अब्बल खेलाडी उत्पादन गर्ने लक्ष्य छ ।”

मन्त्री चौधरीले मुख्यतया एथलेटिक्स, फुटबल, भलिबल, क्रिकेट, कबड्डी, कराँते, मार्सलआर्ट, उसु लगायतका खेललाई प्राथमिकता दिने बताउनुभयो । प्याव्सन, एन प्याव्सन, राष्ट्रिय खेलकुद परिषद्सहित सम्बद्ध सङ्घ संस्थासँगको आपसी परामर्श तथा समन्वयमा सरकारले काम गर्ने लक्ष्य लिएको मन्त्री चौधरीले बताउनुभयो । आवश्यक तयारी पूरा भएपछि छनौट प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।