• १२ असोज २०८१, शनिबार

लहानको उत्तरी भेगमा खानेपानीको समस्या समाधान हुँदै

blog

लहान–२४ मा सञ्चालनमा आएको खानेपानीको ओभर ट्याङ्की । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, साउन २६ गते ।
 लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने १३, १६ र २४ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान हुने भएको छ । यस वडाका कतिपय स्थानमा खानेपानीको समस्या समाधान भइसकेको छ भने कतै समाधान हुने कार्यमा रहेको नेपाल खानेपानी संस्थान लहानले जनाएको छ ।

लहान वडा नम्बर–२४ मा विगत एक वर्षदेखि खानेपानी स्थानीयहरूले प्रयोग गरिरहेको स्थानीय पञ्चलाल महतोले बताउनुभयो । विगत १० वर्षदेखि खानेपानीको ट्याङ्की निर्माण भएर त्यसै अलपत्र अवस्थामा थियो । एक वर्ष अगाडि नेपाल खानेपानी संस्थान लहानले आफ्नो स्वामित्वमा लिएर सञ्चालन गरेपछि खानेपानीको समस्या हटेको हो ।

खानेपानी सञ्चालनमा नआउँदा वैशाखदेखि इनारहरू सुक्न थालेपछि खानेपानीको ठुलो समस्या हुने गर्दथ्यो स्थानीयहरूले विगतको पीडा सम्झँदै भने, तर अहिले घरघरमा खानेपानी पुग्न थालेको बताए ।

सबैभन्दा बढी जनसङ्ख्या भएको लहान–२४ नम्बर वडामा सरे खोलाको वारिका आधा दर्जन बस्तीहरूमा हातेकल इनार सुक्न थालेपछि खानेपानीका लागि ठुलो समस्या हुने गरेको थियो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानीको ओभर ट्याङ्की निर्माण गरेर यसैअलपत्र रहेको खानेपानी सुचारु गराउन नेपाल खानेपानी संस्थान लहानसँग समन्वय गरेर सञ्चालन गराएको वडाध्यक्ष रासलाल रायले बताउनुभयो ।

अहिलेसम्म १०५जना उपभोक्ताले धारा जडान गरिसकेको छ । चार किलोमिटर धारा जडान कार्य सम्पन्न भएको छ । यसवर्ष थप ७ किलोमिटर जडान गरिनेछ । २७ किलोमिटरसम्म धारा जडान गरिने लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो ।

लहान–१३ मा पक्कीटोल र सुकरामपुरमा निर्माण भएको खानेपानी ओभर ट्याङ्की सञ्चालनमा ल्याउन खानेपानी संस्थानले आफ्नो स्वामित्वमा लिएको दुई महिना भएको कार्यालय प्रमुख ऋषिराज भण्डारीले भन्दै केही महिनामै पाइप जडान गरेर खानेपानी पुर्‍याउने गरी काम अघि बढेको बताउनुभयो ।

यसैगरी लहान–१६ मा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले निर्माण गरेको ओभर ट्याङ्की खानेपानी कार्यालय लहानले आफ्नो अधीनमा लिएर सञ्चालन गर्न सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको खानेपानी वितरण शाखा लहानका प्रमुख लटु प्रसाद यादवले बताउनुभयो ।

लोकमार्गदेखि उत्तरी भेगमा पर्ने वडा नम्बर १३, १४, १५, १६, १७ र १८ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान गर्न लहान नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर दीर्घकालीन रूपमा समस्या समाधान गर्न लागि परेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँको अनुसार नेपाल खानेपानी संस्थानबाट धारा जडान वाटर एडअन्तर्गत विकन परियोजनाको सहयोगमा दलित बस्ती र सामुदायिक विद्यालयहरूमा शौचालय र खानेपानीको सेवा प्रवाह भइरहेको छ । विगत वर्षहरूमा देखिएको खानेपानीको समस्या समाधान भइरहेको छ ।