हिजोआज मानिस सोमरस भन्नेबित्तिकै अर्को अर्थमा बुझ्ने गर्छन् र भन्ने गर्छन्, त्यस बेला देवताहरू पनि सोमरस पिउँथे । समाजमा नसालु पेयपदार्थलाई सहज रूपमा सोमरसको उपनाम दिई समाजीकरण गर्ने प्रयास गरिएको पाइन्छ, सायद त्यस्ता व्यक्ति जो नसालु पेयपदार्थका पारखी हुन्छन् । आखिर सोमरस के हो ? के साँच्चै देवताहरू सोमरस पिउँथे ?
ऋग्वेदमा सोमरसको उल्लेखनीय चर्चा गरिएको पाइन्छ । ऋग्वेदको सूक्त २.१ मा उल्लेख गरिएको छ– हे प्रियदर्शी वायु, हाम्रो प्रार्थना सुनेर तिमी यज्ञस्थल आइदेऊ । तिम्रो निमित्त सोमरस तयार छ, यो पान गर भन्दै ऋषिहरूले वायुलाई प्रार्थना गरेका छन् । सूक्त २.४ मा लेखिएको छ– हे इन्द्रदेव, वायुदेव, यो सोमरस तिमीहरूकै लागि पेलेर र निचोरेर तयार गरिएको हो । तिमीहरू अन्न आदि पदार्थ आफूसित लिएर आइदेऊ, सोमरसले तिमीहरू दुवैलाई खोजिरहेको छ । सूक्त ३.२ मा भनिएको छ– सोमवल्लीलाई ढुङ्गामा कुटेर, हातले निचोरेर रस निकाल्दा वरिपरि हातका औँलामाझबाट रस चुहिन्छ । सोमरस निचोर्दा औँलाका बिचबाट चुहिएको उच्चकोटिको पवित्र यो सोमरस तिम्रै लागि हो । सूक्त ३.३ मा उल्लेख गरिएको छ– रोग निको पार्ने, सधैँ सत्य बोल्ने, रुद्रदेव जत्तिकै प्रतापी, सुन्दर अनुहार भएका हे दुवै आश्विनी कुमार हो, तिमीहरू यहाँ आइदेओ र ओछ्याइएको कुशका आसनमा बसेर सफास“ग तयार गरिएको सोमरस पान गर । सूक्त ४.२ मा लेखिएको छ– सोमरस पान गर्ने हे इन्द्रदेव, तिमी सोम ग्रहण गर्नका लागि हाम्रा यज्ञमा आऊ । यहाँ आएर हवन गरेको सोमरस पिइसकेपछि प्रसन्न होऊ । त्यसपछि याजकहरूलाई यश, वैभव र गाईहरू प्रदान गर । सूक्त ५ मा भनिएको छ– हे याजक मित्रहरू हो, सोमरस निचोरिसकेपछि सोमयज्ञमा सबै जम्मा भएर सामूहिक रूपले शत्रुलाई पराजित गराउने बल र ऐश्वर्यका स्वामी इन्द्रलाई सत्कार गरौँ । सूक्त ५.५ मा उल्लेख गरिएको छ– शुद्धसँग पेलेर दही मिलाएर पान गर्ने इच्छा गर्ने इन्द्रदेवलाई सोमरस प्राप्त होस् । सूक्त ९.१ मा लेखिएको छ– हे इन्द्रदेव, सोमरूपी अन्नले तिमी प्रफुल्लित हुन्छौ । त्यसैले तिमी आफ्ना शक्तिले दुष्ट शत्रुमाथि विजय प्राप्त गर्ने छौँ ।
विजयश्रीले आफूलाई वरण गरून् भनेर क्षमता आर्जन गर्न तिमी यज्ञशालामा आऊ । सूक्त ९.१ मा भनिएको छ– हे याजकहरू, प्रसन्नता दिने सोमरस निचोरेर तयार गर, सम्पूर्ण कार्य पूरा गर्ने इन्द्रदेवको सामथ्र्य बढाइदिने यो सोमरस उनैलाई अर्पित गर । सूक्त १४ मा उल्लेख गरिएको छ– पिँधेर तयार पारिएका आनन्द र हर्ष बढाउने मधुर सोमरस अग्निदेवका लागि । सूक्त १९.९ मा लेखिएको छ– हे अग्निदेव, यो मधुर सोमरस सबैभन्दा पहिले सेवन गर्नका लागि तिमीलाई हामी अर्पण गर्दै छौँ । सूक्त २३.१ मा भनिएको छ– हे वायुदेव, निचोरिएको सोमरस खरो भएकाले दुध मिसाएर तयार गरिएको हो । तिमी आइदेऊ र सोमरस पान गर । सूक्त २८.१ मा उल्लेख गरिएको छ– जहाँ सोमरस बनाउने वनस्पति कुट्न ठुलो मुसल उचालिन्छ, त्यसै यज्ञशालामा बसेर कुटेर तयार गरिएको सोमरस पान गरिदेऊ । सूक्त २८.२ मा लेखिएको छ– जहाँ दुई ढुङ्गा झैँ फैलिएका फल्याकहरू राखिएका छन् त्यस यज्ञशालामा ओखलमा तयार गरिएको सोमरस पान गरिदेऊ । सूक्त २८.३ मा भनिएको छ– जहाँ सोमरस तयार गर्न गृहिणीहरूले मुसल चलाएर कुट्ने परिश्रम गर्दछन्, त्यस ओखलमा कुटेर तयार गरिएको सोमरस पान गरिदेऊ । सूक्त २८.८ मा उल्लेख गरिएको छ– हे ओखल र मुसलरूपी वनस्पतिहरू, तिमीहरू दुवै सुन्दर छौ, सोमराग गर्नेहरूसँग रहेर इन्द्रदेवका लागि सोमरस तयार गर ।
सोमरस पान गर्न वायु, इन्द्रदेव र अग्निदेवलाई यज्ञस्थलमा आह्वान गरिएको छ । सोमरस पानका लागि रुद्रदेव जत्तिकै प्रतापी, सुन्दर अनुहार भएका आश्विनी कुमारहरूलाई पनि आह्वान गरिएको छ । सोमरस एक प्रकारको दुर्लभ वनस्पति सोमवल्लीबाट तयार गरिन्छ, त्यसलाई ढुङ्गा या ओखलमा कुटेर, पेलेर वा हातले निचोरेर शुद्धसँग तयार गरिन्छ र त्यसमा दुध वा दही मिसाइन्छ । यसलाई अन्नसँग पनि पान गर्न सकिन्छ । यो रोग निरोधक उच्चकोटिको शक्तिदायक पेयपदार्थ हो जसको सेवनबाट बल, बुद्धि र यश वृद्धि हुन सक्छ । त्यसैले सोमरस देवताका लागि प्रिय छ । यज्ञशालामा ओछ्याइएको कुशका आसनमा बसेर देवहरू याजकहरूसँग सामूहिक रूपमा सोमरस पान गर्दछन् । आयोजना गरिएको यज्ञशालामा प्रथम सोमरस पान गर्ने इष्टदेवता इन्द्र हुन् । मधुर सोमरसको पानबाट व्यक्तिमा आनन्द र खुसी प्राप्त हुन सक्छ । सोमरस तयार गर्ने उपयुक्त सामग्री र विधिलाई अनुसरण गर्नु पर्छ, ओखलमा रहेको सोमवल्लीमाथि ठुलो मुसल उचालेर कुटिन्छ वा ढुङ्गामा पिँधेर, पेलेर वा हातले निचोरेर तयार गर्न सकिन्छ ।
डा. स्वामी प्रपन्नाचार्यद्वारा लिखित पुस्तक ‘वेदमा के छ ?’ मा सोमरस विशेष महत्वको पौष्टिक पेयपदार्थ थियो, यसमा मादकता हुँदैन । कसै कसैले सोमरसलाई सुराको अर्थ दिए पनि त्यो गलत रहेको टिप्पणी गरिएको छ । साथै उहाँले वैदिककालमा आर्य समाजभित्र सुरापानको चलन नरहेको र वेदमा सुरापानको कतै उल्लेख नभएको प्रस्ट्याउनुभएको छ । शयर्णवत नामको ठुलो सरोवरको छेउछाउमा ‘सोम’ लता हुन्थ्यो, यो शयर्णवत अहिले कहाँ पर्छ र यथार्थमा ‘सोम’ लता कुन वनस्पति हो, पत्ता लगाउनुपर्ने विषय बनेको उहाँको पुस्तकमा उल्लेख छ ।
हिजोआज मानिसहरू सोमरसका रूपमा आयुर्वेदिक जुस सेवन त गर्छन् तर सबै आयुर्वेदिक जुस सोमरस होइन भन्ने प्रमाणित हुन्छ । सोमरसलाई जा“डरक्सीसँग तुलना गर्नु हास्यास्पद हो । सोमरस तयार हुने सोमवल्ली वा सोमलता वनस्पति हिजोआज पाइने नपाइने र त्यसका प्रयोगका सम्बन्धमा त्यसमा चासो राख्ने धार्मिक, आध्यात्मिक तथा योग गुरुहरूको धारणामा पनि भिन्नता देखिन्छ । वैदिक महìव, इतिहास, धार्मिक र स्वस्थ जीवनस“ग जोडिएको सोमरससम्बन्धी खोज र अध्ययन हुन सके यथार्थमा आजको समाज पक्कै लाभान्वित हुने थियो । वैदिक सनातन धर्मको गर्विलो इतिहास बोकेको वेदभूमि नेपालले वेदका अर्थ र मर्मलाई प्रस्ट्याउन सक्नु पर्छ र समाजलाई सकारात्मक बाटोमा हिँडाउन सक्नु पर्छ ।