• ८ मंसिर २०८१, शनिबार

दिङ्लामा षडानन्द विश्वविद्यालय

blog

राणा शासन कालमा शिक्षाको ज्योति जगाउने श्री १०८ आबाल ब्रह्मचार षडानन्द अधिकारीका नाममा दिङ्लामा विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको छ ।

 “..जनताका छोराछोरीले जो विद्या पढ्न चाहन्छन् सो विद्या सुविस्ताले पढ्न पाउन भनी पाठशाला खोलेको छु ...” भन्ने कल्याणकारी उद्घोषका साथ भोजपुर जिल्लाको दिङ्लामा विक्रम संवत् १९३२ मा पाठशाला स्थापना गर्ने बालागुरुका नामले सुपरिचित षडानन्द अधिकारीका नाममा विश्वविद्यालय स्थापना गर्ने कार्यको अगुवाइ ऋषिराज लुम्सालीले गर्नुभएको छ । दिङ्लामा षडानन्दका नाममा उच्चस्तरको शैक्षिक संस्था सञ्चालन गरी यो क्षेत्रमा अत्यधिक शैक्षिक जागरण आओस् र शैक्षिक उन्नयन होस् भन्ने चाहना सबैमा छ ।

दिङ्लाको माया छातिभरि बोकेर विभिन्न कारणले छरिएर बाहिर बसोबास गरिरहेका स्वनामधन्य व्यक्ति दिङ्लामा षडानन्दका नाममा विश्वविद्यालय स्थापना गर्ने हो भने तन, मन, धन र वचनले सहयोग गर्न तयार रहेको पाइएको छ । षडानन्द नगरपालिकाका नगरप्रमुख सुरेन्द्र उदास र उपप्रमुख प्रमिला कोयु राई षडानन्द विश्वविद्यालय स्थापना गर्ने विषयमा पूर्ण सहमत हुनुहुन्छ । फलतः षडानन्द नगरपालिकाको सातौँ सभाले विश्वविद्यालय स्थापनार्थ विशेष प्रस्ताव नै पारित गरेको छ । षडानन्द नगरपालिकाका जनप्रतिनिधि, स्थानीय बौद्धिक व्यक्तित्व र सर्वसाधारण डेढ सय वर्षअघि नै यस क्षेत्रमा शिक्षाको ज्योति जगाउने षडानन्दका नाममा विश्वविद्यालय स्थापना गर्न भन्दै लागिपरेका छन् । 

अन्धकार युगमा पनि शिक्षाको ज्योति जगाउनु उत्तम कर्म थियो, जुन कर्म गरे षडानन्दले । अष्टाङ्ग योगसाधक तथा २४ पटक गायत्री पुरश्चरण गरेर सिद्धि प्राप्त गरेका यिनका सुकीर्ति किरण सर्वत्र फैलिएको छ । बालागुरु, गुरुमहाराज र कर्मयोगीका नामले प्रख्यात षडानन्दको जन्ममाता रुक्मिणी र पिता लक्ष्मीनारायणका कान्छा सन्तानका रूपमा विसं १८९२ मा भोजपुर जिल्लाको दिङ्ला गढिगाउँ हालको षडानन्द नगरपालिका–७ मा जन्म भएको हो । विसं १९७३ मा काठमाडौँ पचलीघाटमा यिनको देहावसान भएको थियो । 

आध्यात्मिक, शैक्षिक र सामाजिक क्षेत्रमा प्रख्यात सन्तशिरोमणि आबाल ब्रह्मचारी षडानन्दका नाममा विश्वविद्यालय स्थापना गर्ने चाहना कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको पनि छ । षडानन्द विश्वविद्यालय सरोकार समाजका अध्यक्ष ऋषिराज लुम्सालीसहितको प्रतिनिधिमण्डलले उहाँसँग तीन चरणमा भेटघाट गरिसकेको छ । हरप्रकारले विश्वविद्यालय स्थापनासहित सञ्चालन गर्न मुख्यमन्त्री दृढ नै देखिनुहुन्छ । दिङ्ला र षडानन्द बालागुरुसँग सुपरिचितव्यक्ति/व्यक्तित्वदिङ्लामा“षडानन्द विश्वविद्यालय’ कहाँ स्थापना गरे सबैलाई पायक पर्ला भनेर लागिपरेका छन् । दिङ्लामा षडानन्दका नाममा विश्वविद्यालय स्थापना गर्ने कुरामा स्थानीय, प्रदेश र सङ्घीय सरकारसमेत कसैको पनि असहमति छैन । तथापि नेपालमा विश्वविद्यालयको सङ्ख्या धेरै भइसकेकाले नयाँ विश्वविद्यालय स्थापनाको विषय लिएर दौडधूप गर्नुभन्दा अहिले स्वीकृति प्राप्त कुनै एक विश्वविद्यालयमा षडानन्दको नाम जोडेर जानु पर्छ भन्ने कतिपयको मत पनि छ । विश्वविद्यालय भनेको सडकको नाम परिवर्तन गर्दै पुरानो नाम फेरेर नयाँ नाम राख्ने विषय होइन, यो नाम र रूप परिवर्तन गर्नेभन्दा पनि सारभूत लक्ष्य प्राप्त गर्ने विषय हो । किनकि विश्वविद्यालय ज्ञानको भण्डार हो, प्राविधिक उत्पादन गरेर प्रविधिको विकास गर्ने थलो हो र व्यावसायिकताको पाठ सिकाएर नयाँ पुस्तालाई प्रविधि र व्यवसाय युक्त बनाउने पवित्र स्थान हो । विश्वविद्यालयलाई जागिरे उत्पादन गर्ने परम्परा अब स्वीकार्य हुँदैन । यो परम्परालाई प्रश्रय दिनु पनि हुँदैन ।

व्यक्तिगत स्वार्थ त्यागेर सामाजिक उत्थानमा समर्पित स्वनामधन्य व्यक्तिका सुकीर्ति गाथा र जीवनी उनीहरूको कर्मबाट प्राप्त विषय हुन् । समाज सेवामा समर्पित व्यक्तिको परिचय दिलाई उनीहरूका सुकर्मलाई परिभाषित गराउन पनि यस्ता व्यक्तित्वका नाममा विश्वविद्यालय खोल्नु आफैँमा असल कर्म हो । षडानन्द अधिकारीले दिङ्लामा १४८ वर्षअघि गुरुकुल पद्धतिको पाठशाला स्थापना गरेका थिए । अहिले नेपालभरका गुरुकुल यही पद्धति अनुसार सञ्चालनमा छन् । सबै संस्थाले यही पद्धतिको अनुसरण गरिरहेका छन् । त्यो गुरुकुल कालान्तरमा षडानन्द पाठशालाका नामले परिचित भयो । त्यो पाठशाला षडानन्द संस्कृत प्रधान पाठशालामा परिणत हुँदै हाल षडानन्द माध्यमिक विद्यालयका नामले सञ्चालित छ ।

 विसं १९३२ देखि २००७ सम्मको नेपालको शैक्षिक इतिहास केलाउँदा राणाका परिवार मात्र पढ्ने दरबार हाइस्कुल थियो  । जनताका छोराछोरी पढ्ने अरू विद्यालय नरहेको कहालीलाग्दो त्यो समयमा षडानन्द बालगुरुले प्रारम्भ गरेको त्यो विद्यालयले ७५ वर्षसम्म एक्लै शैक्षिक जागरणको

अभिभारा बोकेको थियो । त्यो विद्यालयबाहेक अन्यत्र कहीँकतै शिक्षा आर्जन गर्ने माध्यम थिएनन् । तसर्थ नेपालको पूर्वसहित पश्चिम भागबाट र भारत, सिक्किम र भुटानबाट आएर विद्यार्थी विद्या आर्जन गर्दथे ।

षडानन्दले पहिले कैलाशमा नर्मदेश्वर महादेवको मन्दिर स्थापना गरेका थिए । कैलाश डाँडाबाट हालको मन्दिर आदि भवन रहेको स्थानमा सारिएको हो । यहाँ षडेश्वर महादेव र सीताराम मन्दिर स्थापना गरेर त्यो समयमा उनले शैक्षिक जागरण र धार्मिक आस्थाको बीजारोपण गरेका थिए । पाठशाला र मन्दिर सञ्चालनका लागि त्यस क्षेत्रमा बसोबास गर्ने उदारमना दाताबाटै गुठी सञ्चालनका लागि जमिन आर्जन गरेका थिए । उनले आर्जन गरेर सञ्चालनमा आएको त्यो ‘षडानन्द सीताराम गुठी’ दिङ्लामा अहिले पनि सञ्चालनमा छ । त्यो गुठीको पदाधिकारी हुन पाउनु आफैँमा गौरवको विषय हो । 

दिङ्लालाई कर्मथलो बनाएर बसोबास गर्नेहरूको प्रयासमा स्थापित षडानन्द बहुमुखी क्याम्पस सञ्चालनमा छ । यसले दिङ्लामा उच्च शिक्षाको पठनपाठनमा सघाउ पु¥याएको छ । 

शैक्षिक भूमि मात्रै नभई आध्यात्मिक थलोसमेत रहेको दिङ्ला कर्मयोगी सिद्धपुरुष षडानन्दका नाममा विश्वविद्यालय स्थापना गर्न प्रतिबद्ध भएर लागेको छ । विश्वविद्यालय स्थापनाका लागि षडानन्द स्मृति प्रतिष्ठान इटहरीस्थित षडानन्दले स्थापना गरेको पाठशालामा अध्ययन गरेका र गुरुका सुकीर्ति किरणबाट प्रभावित केही व्यक्तिको भेलाले प्रस्तावित षडानन्द विश्वविद्यालय सञ्चालन गर्न स्थानीय र प्रदेश सरकारसमक्ष नीतिगत रूपमा अवधारणा पेस गर्न ऋषिराज लुम्सालीको संयोजकत्वमा अवधारणापत्र मसौदा समिति गठन गरेको छ । समितिको सदस्यमा प्राडा नन्दीश अधिकारी, प्राडा रमेश घिमिरे र डा. दिवाकर रेग्मी रहनुभएको छ । 

मसौदा समितिले अवधारणापत्र तयार गर्दैगर्दा ऋषिराज लुम्सालीकै अध्यक्षतामा ‘षडानन्द विश्वविद्यालय सरोकार समाज’ नामक संस्था पनि गठन गरिएको छ । समाजका अध्यक्षसहितको प्रतिनिधि मण्डलले षडानन्द नगरपालिका प्रमुख तथा षडानन्द विश्वविद्यालय सरोकार समाजका संरक्षक सुरेन्द्र उदास र उपप्रमुख तथा सहसंरक्षक प्रमिला राई कोयुलाई भेटेर यसै नगरपालिका क्षेत्रमा स्थापना हुने षडानन्द विश्वविद्यालय नियमअनुसार दर्ता प्रक्रिया अगाडि बढाउन आग्रह ग¥यो । नगर प्रमुखकै पहलमा सरोकार संस्था दर्तासमेत भएको छ । 

मस्यौदा समितिले तयार पारेको सो अवधारणा पत्रमा दिङ्लाको शैक्षिक विकासको ऐतिहासिक क्रमलाई जोडिएको छ । देशबाट पलायन भइरहेको युवा तथा श्रमशक्ति रोक्न स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, बाँझो रहेका जग्गा जमिनमा अनुसन्धानमा आधारित उन्नत एवं जैविक प्रविधि अपनाएर माटो अनुरूप परम्परागत रूपमा चल्दै आएका मौलिक र रैथाने बालीलाई आधुनिक प्रविधि अपनाएर संरक्षण गर्ने पत्रमा उल्लेख छ ।

सकारात्मक सोच, नैतिक सदाचार एवं कल्याणकारी सङ्कल्प बोकेका कर्मयोगी र कर्मकुशल नागरिक बनाउन यम, नियम, आसन, प्राणायाम र प्रत्याहार जस्ता सैद्धान्तिक र प्रयोगात्मक योगशिक्षा प्रदान गर्ने सो अवधारणा पत्रको उद्देश्य छ । ‘आफ्नो उद्धार आफैँ गर’ भन्ने गीताका वचन, ‘अप्प दीपो भव’ भन्ने बुद्धका वचन र ‘अहम् ब्रह्मास्मि’ भन्ने वेदवचन सार एवं मर्मलाई व्यवहारमा उतार्ने पनि सो अवधारणा पत्रको उद्देश्य छ ।

नेपालमा सञ्चालित विश्वविद्यालयको पठनपाठनमा प्राज्ञिक एवं सैद्धान्तिक पक्षमाथि जोड दिइएको पाइन्छ । प्राविधिक भनेर खोलिएका विश्वविद्यालयमा पनि प्राविधिक पक्षको प्रयोग विश्वविद्यालय परिसरमा भएको प्रयोगशालामा नै सीमित छ । प्रस्तावित षडानन्द विश्वविद्यालय व्यावहारिक ज्ञान सिक्ने सिकाउने कार्यमा संलग्न हुने छ । 

नेपालमा निजी क्षेत्रबाट यातायात, हवाईजहाज,विद्युत् उत्पादन,औद्योगिक केन्द्र र विश्वविद्यालय पनि सञ्चालित छन् । तसर्थ षडानन्द विश्वविद्यालयका लागि प्रदेश सरकारले सञ्चालन खर्चको जोहो गरिदिए अन्य भौतिक संरचनाको काम जनस्तरबाट गरिने छ । 

इटहरी लेडी जेसिजले नेपालका प्रख्यात कूटनीतिज्ञ तथा परराष्ट्रविद् डा. भेषबहादुर थापालाई इटहरीमा भव्य सम्मान पनि गरेको छ । कार्यक्रमपछि प्रदेश सरकारका तर्फबाट षडानन्द विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदल गठन गरी यसको दर्ता प्रक्रिया यथाशीघ्र अघि बढाइदिन मुख्यमन्त्रीसँग विशेष अनुरोध पनि गरियो । यो विश्वविद्यालय स्थापना र सञ्चालनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ज्ञान हासिल गरेको र नेपालको प्रशासनिक फाँटमा विज्ञता हासिल गरेको व्यक्ति खोज्नुपर्ने मुख्यमन्त्री कार्कीको सदासयता थियो ।   

Author

कृष्णविनोद लम्साल