नेपालको धार्मिक–सांस्कृतिक अभ्यास अनुसार हावा, पानी, वन, पर्वतको पूजा गरिन्छ । यिनको अनुशासित र आवश्यकता अनुसार प्रयोग गरिन्छ, जसले गर्दा वातावरण स्वच्छ र मानवमैत्री हुन्छ । त्यही भएर धार्मिक–सांस्कृतिक परम्परा स्थापित गरी यसलाई हरेक तिथि र पर्वमा उत्सवका रूपमा मनाउने चलन चलाइयो तर आजभोलि यो सत्कर्मबाट मानिस विमुख हुँदै छन् । प्राकृतिक सम्पत्तिको दोहन अत्यधिक भइरहेको छ ।
आज प्रकृति जस्तो स्वरूप र अवस्थामा रहनुपर्ने हो, त्यस्तो अवस्थामा छैन । मानवले कल्पनै नगरेका अनेक विपत्तिका घटना बढिरहेका छन् । प्रकृतिलाई आफ्नो स्वरूपमा रहन नदिएकै कारण ऋतु परिवर्तनको सिद्धान्त नै गडबडिएको छ । बुढापाकाले देखेको समय र अहिले धेरै अन्तर छ । गर्मीमा अत्यधिक गर्मी, जाडोमा अत्यधिक जाडो, वर्षामा अतिवृष्टि, हिउँदमा सुक्खा जस्ता कारणले जनजीवनदेखि प्राकृतिक संरचनालाई समेत गम्भीर असर परिरहेको छ । काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री रहे पनि ४० डिग्रीको तापक्रम बराबरको गर्मी महसुस भएको जल तथा मौसम विभागले यही वर्ष भनेको छ ।
यस्तो अवस्था नेपालमा मात्र होइन, विश्वका धेरै मुलुकमा रह्यो । अमेरिकाको न्युयोर्कमा दशकौँपछि अत्यधिक गर्मीको अनुभव गरियो । हिउँद सकिएर वर्षा सुरु हुनै लाग्दा त्यहाँका विभिन्न राज्यमा भीषण पानी परेर ठुलो जनधनको क्षति भयो । हरेक वर्ष विपत्जन्य घटनाको प्रकृति बदलिँदै र बढ्दै गएको छ । यसको प्रमुख कारण जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको कारक प्रकृति नभएर मानव हो । यो मानव सिर्जित समस्याको मारमा अहिले मानव समाज नराम्रोसँग परिरहेको छ ।
जलवायु परिर्वतनमा कुनै भूमिका नरहेको तर अत्यधिक मारमा परेको नेपालमा पनि मनसुन सुरु भएसँगै बाढी, पहिरो र डुबानका घटना बढिरहेका छन् । यो क्रम अरू बढ्दै छ । राजमार्गहरू पहिरोले छिया छिया भएका छन्, यातायात अवरुद्ध छ । जोखिमपूर्ण यात्रा गर्नु बाध्यता बनेको छ । हरेक वर्ष जसो नेपालमा विपत्का घटना बढ्दै छ । केही दशकअघिसम्म यस्तो अवस्था थिएन । अहिले किन यस्तो भयो ? प्रश्न जति सहज छ उत्तर पनि उत्तिकै सहज छ । विगतको अनुशासित प्राकृतिक स्रोतसाधनको उपयोग र प्रकृतिलाई देवता मानेर पुज्ने संस्कृति मासिएर भौतिकतामा रमाउनुको परिणाम पनि एक हो ।
जलवायु परिवर्तन हुनुमा जुन मुलुकको दोष नै छैन र जुन मुलुकले वातावरणीय सन्तुलनमा ठुलो योगदान दिइरहेका छन्, तिनै राष्ट्र बढी पीडित हुनु भनेको एउटा अनौठो पक्ष हो । नेपाल जस्ता हिमाली राष्ट्र जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परिसकेका छन् । यहाँका पानीका स्रोत सुक्दै छन् भने प्राकृतिक स्रोतसाधन पनि लोप हुँदै छन् । कतिपय जडीबुटी हराइसकेका छन् भने मौसम अनुसारका अन्नबाली तथा फलफूल पनि फल्न–पाक्न छोडेका छन् । खेती गर्नुपर्ने समयमा पानी नपर्ने र खेती भित्र्याउने समयमा घनघोर वर्षा हुने गरेको छ । यसले खाद्यान्न उत्पादनमा गम्भीर असर परेको छ । यसको प्रत्यक्ष असर निम्न आय भएका गरिब र दुर्गम भेगमा बस्ने बासिन्दामा पर्छ ।
धनी र औद्योगिक राष्ट्रहरूले गरेको दोषको परिणाम गरिब मुलुकका गरिब जनताले भोग्नु परिरहेको छ । विशेष गरेर हिमालय र समुद्र किनारका मुलुकको भविष्य जलवायु परिवर्तनकै कारण जोखिममा पर्न थालेको छ । यसको सर्वाधिक मार दक्षिण एसियाले भोग्नुपर्ने विज्ञहरूले घोषणा गरिसकेका छन् । अहिलेको अवस्थाममा सुधार नहुने हो भने दक्षिण एसियाका सवा अर्ब मानिस भोकमरीको सिकार हुने बताउन थालिएको छ ।
दक्षिण एसिया हिमालयदेखि समुद्रसम्म फैलिएको जैविक विविधताको धनी क्षेत्र भएका नाताले यो क्षेत्रका बासिन्दाको प्रकृतिसँग गहिरो सम्बन्ध छ । प्रकृतिलाई नै भगवान्का रूपमा पूजा गर्ने यो क्षेत्र यतिबेला जलवायु परिवर्तनको गम्भीर दुष्चक्रमा फस्दै छ । दक्षिण एसियामा जलवायु परिवर्तनको सर्वाधिक डरलाग्दो अवस्था हिमताल फुट्ने र यसले समथर भूभागलाई जलमग्न गराउने खतरा बढिरहेको छ ।
समस्या नेपालको मात्र होइन, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान तथा श्रीलङ्का सबैको हो । हिमालदेखि समुद्रसम्म पहुँच भएका सबै मुलुक जलवायु परिवर्तनको दुष्चक्रमा फस्दै गएका छन् । दक्षिण एसिया विश्वमा सर्वाधिक गरिब बस्ने क्षेत्र हो र सर्वाधिक जनसङ्ख्या भएको क्षेत्र पनि यही हो । यही क्षेत्रमा दुर्लभ वन्यजन्तुदेखि प्राकृतिक स्रोतसाधन पनि छन् । अब यिनीहरू बिस्तारै लोप हुँदै छन् । धनी मुलुकले गरेको हरितगृह ग्यास उत्सर्जनको परिणाम नेपाल जस्ता प्राकृतिक रूपले सम्पन्न मुलुकले भोग्नु परिरहेको छ । एक किसिमबाट भन्ने हो भने सिङ्गो दक्षिण एसिया नेपालकै नियति भोग्ने दिशातिर अग्रसर छ ।
यति गम्भीर समस्यामा पनि सामूहिक आवाज उठाउने जमर्को प्रभावकारी रूपमा हुन सकिरहेको छैन । आआफ्नो व्यापारिक स्वार्थका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो । पृथ्वीको भविष्य नै जोखिममा पारेर भावी पुस्तालाई अक्सिजनको सिलिन्डर बोकेर हिँड्नुपर्ने अवस्था निर्माणमा अहिलेको पुस्ता कुदिरहेको छ ।
विश्वमा जैविक विविधताको सवालमा नेपाल अग्रणी मुलुक हो । जलवायु परिवर्तनका कारण यहाँको सम्पदा मासिँदै जान थालेको छ तर हाम्रा अभियान कर्मकाण्ड पूरा गर्नमै सीमित छ । हिमालमा परेको असर, पहाडमा परेको असर, तराईमा परेको असर, कृषि, रोजगारी, पर्यटन, स्वास्थ्य, शिक्षा र जनताको दैनिकीमा परेको असर एकमुष्ठ तथ्याङ्क सङ्कलन गरेर यसका क्षतिपूर्ति लिने र प्रभावित भएकाको उद्धारमा खर्च गर्ने काम नै हुन सकेको छैन । वनजङ्गल संरक्षाणवापत पाउने केही अर्ब रुपियाँमै चित्त बुझाइएको छ ।
जलवायु परिवर्तनका कारण हिमाल पग्लँदै छ । यसको असर पर्यटन व्यवसायमा पर्छ । हिमनदी फुट्ने सम्भावना बढिरहेको छ । यसबाट बाढी र डुबानको समस्या टार्नै सकिन्न । बहुमूल्य जडीबुटी र जीवजन्तु लोप हुने अवस्थामा छन् । यसले यहाँको जैविक विविधता नै नष्ट हुने छ । यसको प्रत्यक्ष असर मानव समाजलाई नै पर्ने हो । नदीहरूमा कुबेलामा बाढी आउने, मौसम अनुसारको वर्षा नहुने गर्दा खाद्यान्न उत्पादनमा ह्रास आउने र भोकमरी बढ्ने अवस्था छ । विगत केही वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा खाद्यान्न उत्पादन घटिरहेको छ । कृषिचक्र बदलिएको छ ।
हिमाली तथा पहाडी जिल्लामा लगाइएको स्याउ खेतीमा जलवायु परिवर्तनको ग्रहण लागेको छ । सीमित मात्रामा उत्पादन हुने खाद्यान्न पनि हुन छाडेको छ । हिउँ पर्नुपर्ने समयमा नपरेपछि ती क्षेत्रको खाद्यान्न उत्पादन पूरै घटेको छ । यसको क्षतिपूर्ति पाउने गरी दह्रो अभियान मुलुकका लागि आवश्यक भइसकेको छ । जलवायु परिवर्तनले असर गर्ने क्षेत्र एउटा मात्र होइन अनगन्ती छन् । यसले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत अनेक क्षेत्रमा नकारात्मक प्रभाव पार्छ । नेपालले गर्दै नगरेको दोष भागीदार किन बन्ने ? मूल प्रश्न यही हो । हामी अरूले गरेको गल्तीको सिकार बन्नुपर्ने विडम्बनापूर्ण स्थितिबाट मुक्त हुनु पर्छ । उनीहरूका कारण सिर्जना भइरहेको समस्याको क्षतिपूर्ति उनीहरूबाट पाउनु पर्छ । मनसुनमा वर्षा नहुँदा धान उत्पादनमा पुगेको क्षतिपूर्ति गराएर खाद्यान्न उत्पादनका लागि वैकल्पिक सिँचाइको व्यवस्था गर्ने योजना तयार हुनु पर्छ । खानेपानीका स्रोत र मुहानमा परेको असरको पनि क्षतिपूर्ति लिनु पर्छ । यसका लागि राष्ट्रिय सोचका साथ दृढतापूर्वक आफ्ना समस्या राख्न सक्नु पर्छ ।
जलवायु परिवर्तनले स्वास्थ्य र रोजगारीको क्षेत्रमा समेत प्रभाव पारेको छ । खेती किसानी गर्न चाहनेलाई निरुत्साहित बनाएको छ । यसै त बेरोजगारीको भयावह स्थिति भोगिरहेको बेला जलवायु परिवर्तनले कृषि व्यवसाय नै चौपट हुने अवस्था सिर्जना भएको छ । पशुपालन र फलफूल खेतीको दारुण चित्र बिस्तारै सार्वजनिक भइरहेका छन् । हिमाली क्षेत्रमा लगाइने फलफूल खेती नष्ट हुन थालेका छन् । यसको क्षतिपूर्ति कसले गर्ने ?
यस्ता समस्या नेपालको मात्र होइन, अत्यधिक प्रभाव पार्ने सबै राष्ट्रको हो । यसमा उनीहरूको सामूहिक आवाज हुनु जरुरी छ र यो अभियानलाई सफल पार्न सबै मुलुकले एउटा गठबन्धन नै बनाउनु पर्छ तर जलवायुसँग सम्बन्धित सम्मेलनमा एकताबद्ध भएका मुलुक सम्मेलनपछि आआफ्नै बाटो लाग्छन् । दुर्भाग्य यही हो । सबै तत्कालको लाभका पछि कुद्छन् ।
प्राकृतिक प्रकोप प्रकृृतिले मानवलाई दुःख दिन आफैँ सिर्जना गरेको होइन । यो सबै मानव आफैँले सिर्जना गरेको समस्या हो । मानव स्वयम्ले गरेका वातावरणीय र प्राकृतिक विनाशको परिणाम हो । भौगर्भिक अध्ययनबिनाका निर्माणले राजमार्गमा हिउँद–वर्षा दुवै याममा पहिरो खस्न थालेका छन् । विकास निर्माणको नाममा भूमिको अवस्थासमेत नहेर्दा धनजनको क्षति हुन पुगेको छ । यस्ता घटना बढ्न नदिन निर्माणमा बहुपक्षीय अध्ययन गरेर मात्रै काम गर्नु आवश्यक छ । किनभने प्रकृति ईश्वर हो र ईश्वरले आफ्ना सबै स्रोत मानवहितमा समर्पित गरेको हुन्छ तर त्यसको उपयोगमा अनुशासन कायम गरिएन भने प्रकृति कुपित हुन्छिन् र वितण्डा मच्चिन थाल्छ । यसै तथ्यलाई मनन गरी वातावरण संरक्षणका लागि आधुनिकदेखि हाम्रा परम्परागत मूल्य मान्यतालाई पुनः अभ्यासमा ल्याउनु पर्छ । अनि मात्र भावी पुस्तालाई सुरक्षित भविष्य हस्तान्तरण गर्न सकिन्छ ।