• ७ पुस २०८१, आइतबार

उपसमितिले दिएको सुझाव कार्यान्वयन गर्न सरकारलाई समितिको निर्देशन

blog

कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी ।

काठमाडौँ, साउन २५ गते । कानुन, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारमा रहेका कैदी तथा थुनुवाहरुको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न तीन वटा उपसमिति गठन गरेको थियो ।

सो उपसमितिहरुले समिति समक्ष प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनहरुमाथि छलफल गरेर समितिले ति प्रतिवेदनले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले मोरङको बिराटनगर बाल सुधारगृह तथा मोरङ, सुनसरी र धनकुटा जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन, २०८१ को सुझावलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै वीरगञ्जको बाल सुधार गृह र पर्सा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन २०८१ र बाँकेको जयन्दु बाल सुधार गृह र बाँके, बर्दिया र सुर्खेत जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन २०८१ मा रहेका सुझावहरु कार्यान्वयन गर्नका लागि गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिनुभयो ।

समितिले उपसमितिको प्रतिवेदनमा नसमेटिएका सुझावहरु पनि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउने जनाएको छ ।