• ९ मंसिर २०८१, आइतबार

तनहुँका जनजातिले धुमधाम मनाउँदै विश्व आदिवासी दिवस

blog

तनहुँको सदमुकाम दमौलीमा विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा निकालिएको र्‍यालीमा सहभागी। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन २५ गते।  तनहुँका आदिवासी जनजातिले ३० औं विश्व आदिवासी जनजाति दिवस धुमधामसँग मनाइरहेका छन्। तनहुँको सदरमुकाम दमौलीमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन तथा सास्कृति कार्यक्रम गरी धुमधामसँग मनाइरहेका छन्।  

मौलिक पोसाकमा सजिएका जनजातिहरुले कौरा नाच, घाँटुनाच, लाखे नाच,  लोपोन्मुख अवस्थामा रहेको सोरठी भाकामा गीत गाउँने, पञ्चे बाजा बजाउँदै दमौली बजार परिक्रमा गरेका थिए। सांस्कृतिक विभिन्न आदिवासी जनजाति समुदायका युवायुवती र पाका पुस्ताको सहभागिता छ।  

मौलिक कला संस्कृतिको संरक्षण र युवापुस्तामा संस्कृतिक हस्तान्तरणमा टेवा पुग्ने उद्देश्यले सदरमुकाम दमौलीलगायत पालिका स्तरमा सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष सुजित हिराचनले बताउनुभयो। जनजातिको संस्कृति झल्कने पहिरनसहित तनहुँको सदरमुकाम दमौलीको अनशनचोकबाट निस्केको  र्‍यालीले बजार परिक्रमापछि खुला चौरमा कार्यक्रममा परिणत भएको छ।

 तनहुँका सबै पालिकामा सार्वजनिक बिदा

तनहुँका सबै पालिकाले ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका छन्। तनहुँ आदिवासी जनतातिको बाहुल्य रहेको ठाउँ भएकाले पनि आदिवासी दिवसको अवसरमा तनहुँका ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटै स्थानीय तहले आज बिदा दिएका हुन्।

नगरपालिकाहरु व्यास, भानु, शुक्लागण्डकी र भिमाद तथा गाउँपालिका म्याग्दे, ऋषिङ, घिरिङ, देवघाट, आबुँखरैनी र बन्दीपुरले सार्वजनिक बिदा दिएका हुन्। अत्यावश्यक बाहेक पालिकाभित्रका सबै विद्यालय, पालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था तथा निजी सङ्घसंस्था र निकायहरूलाई समेत सार्वजनिक बिदा दिइएको पालिकाहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।