• १३ पुस २०८१, शनिबार

मनसुनलाई यसरी बुझौँ

blog

हामी सबैले मनसुन भन्ने शब्द त सुनेकै छौँ । यो शब्द अरबी भाषाको ‘मवसिम’ बाट आएको हो । सामान्यतया मनसुन आयो भन्नेबित्तिकै हामीले अब वर्षा लाग्यो, पानी पर्ने भयो भनेर बुझ्छौँ तर मनसुन भन्नाले पानी पार्ने मात्र नभई सुक्खा पनि पर्न सक्छ । मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्छ । दक्षिणपूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा असर पु¥याउँछ । मनसुनी वायु समुद्रबाट जमिनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ । तसर्थ यो वायु बहदा विभिन्न स्थानमा वर्षा हुन्छ । स्थान अनुसार मनसुनको वायुचक्र बेग्ला बेग्लै समयमा रहन्छ । नेपालमा मनसुनको समयमा पूर्वी नेपालबाट पानी पर्न थाल्छ र मध्य भाग हुँदै पश्चिमतिर सर्छ । मनसुनको समयमा बिहानैदेखि कालो बादल मडारिएर वर्षा हुन्छ र जनजीवन प्रभावित पार्छ ।

मनसुन दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको छ । नेपालमा प्रवेश गर्ने मनसुनी वायु दक्षिण एसियामा बहने 

गर्मीयामको मनसुनको एक अंश हो । गर्मीयामका बेला दक्षिण एसियाको भूभाग र यससँग जोडिएको समुद्री भाग जस्तै बङ्गालको खाडी, अरब सागर र हिन्द महासागर असमानुपात ढङ्गबाट तात्ने कारणले गर्दा दक्षिण एसियामा मनसुनको सुरुवात हुने गर्छ । गर्मीयाममा दक्षिण एसियाका भूसतह समुद्री सतहको तुलनामा छिटो र बढी तात्ने हुनाले भूसतहको संसर्गमा आउने हावा तातो भई माथितिर उठ्छ जसले गर्दा दक्षिण एसियाको विभिन्न भाग न्यून वायुमण्डलीय चापमानमै रहन्छ । ठिक यसै बेला समुद्री सतह भूसतहभन्दा ढिलो र कम तात्ने कारणले गर्दा समुद्रमा उच्च वायुमण्डलीय चापीय केन्द्र हुन्छ । हावा जहिले पनि उच्च वायुमण्डलीय चापीय क्षेत्रबाट न्यूनतिर बहने प्राकृतिकस्वरूप सो क्षेत्र हिन्द महासागरबाट न्यून क्षेत्र दक्षिण एसियाको विभिन्न भागमा जोडदार हावा बहन थाल्छ, यसलाई मनसुन भनिन्छ । मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एसियामा सम्बन्धित छ तर संयुक्त राज्य अमेरिका र अन्य क्षेत्रमा पनि मनसुन देखा पर्छ ।

नेपालमा मनसुन सामान्यतः जुन १३ बाट प्रवेश गरेर अक्टोबर २ मा बाहिरिने गर्छ । यस अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको पाइन्छ । एकातिर मनसुन भित्रिएपछि हुने भारी वर्षाका कारण प्राकृतिक प्रकोप निम्तिने गर्छन् । अर्कोतिर कृषिका लागि मनसुनी वर्षा अपरिहार्य पनि छ ।

मनसुन परापूर्वकालदेखि चलिरहेको प्रक्रिया हो । हाम्रा बाबुबाजेले अनुभवका आधारमा सामान्यतया जेठ/असारदेखि वर्षा सुरु हुने र असोजमा वर्षा सकिने भन्ने अनुमान गरेर त्यसकै आधारमा खेतीबाली लगाउने र अन्य क्रियाकलाप गर्ने गर्नुभएको थियो । उहाँहरूलाई मनसुन र यसको कारण थाहा थिएन । अचेल भने मौसमका बारेमा पूर्वजानकारी दिने अत्याधुनिक प्रविधि र उपकरण विकास भइसकेका छन् ।   

साउन मुना २०८१

Author

रामप्रसाद सुवेदी