प्रत्येक वर्ष श्रावणशुक्ल पञ्चमीका दिन नागको पूजाआजा गरी नागपञ्चमी मनाइन्छ । यस दिन घरको मूलढोकामाथि गाईको गोबरले नागको चित्र या तस्बिर टाँसी धानको लावासहित कपासले नागको खुट्टा बनाई दुध, दुबो, नैवेद्य, फलफूल, दक्षिणासहित नागराजालाई पूजाआजा गरी प्रसन्न पारिन्छ । नाग देवतालाई धूपबत्ती गरिसकेपछि निम्न श्लोक पढिन्छ : ‘अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः । मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डले ।। अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः । कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ।।’ घरका लागि वर्षदिनसम्म सुरक्षा, शान्ति र समृद्धि मिलोस् भनेर नागदेवतासँग आसिक मागिन्छ । यसो गर्दा घरमा मेघ र अग्निको भय हुँदैन, चट्याङ पर्दैन तथा सर्प आदिको भय हुँदैन भन्ने लोककथन छ । वराहपुराणमा उल्लेख भए अनुसार नागराजासँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावणशुक्ल पञ्चमीका दिन नागपूजाका लागि प्रसिद्ध रहेको छ । नागपञ्चमीको चलन वैदिककालदेखि चल्दै आएको हो । वेद, पुराण, उपनिषद्हरूमा नागमहात्म्यको उल्लेख पाइन्छ भने पानी बर्साउनमा, मेघ र अग्निबाट सुरक्षा दिएर शान्ति ल्याउनमा नागको विशेष भूमिका रहने बताइन्छ ।
हिन्दुहरू नागलाई शिव र विष्णुका रूपमा पूजा गर्छन् । शिवजीको घाँटी नागले बेरिएको छ । भगवान् विष्णु जलमाथि शेषनागको शøयामा फणाको छाता ओढेर शयन गरिरहेको पाइन्छ । बूढानीलकण्ठमा भगवान् विष्णुको विशालकाय मूर्ति नागहरूकै शय्यामा विराजमान छन् । ललितपुरमा नागनागिनीका मूर्ति प्रदर्शित गरिएको नागबहाल नामक एउटा ठुलो विहार नै छ । गणेशको एक हातमा नागवाण रहेको छ । कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार मानिन्छन् । मत्स्येन्द्रनाथको घाँटीमा कर्काेटक नागको माला छ । वासुदेवले भर्खर जन्मेका कृष्णलाई वृन्दावनदेखि गोकुलसम्म लैजाँदा नाग नै छाता बनेर कृष्णलाई वर्षादेखि जोगाएको कथन छ । त्यस्तै उपत्यकाका अनेकौँ मठमन्दिर र घरका झ्यालढोकामा मात्र नभई घरका गाह्रोमा पनि नागका आकृति देखिन्छ । सानाठुला मन्दिरका तोरणमा पनि नागका अनेक मूर्ति विभिन्न शैलीमा कुँदिएको पाइन्छ । यस प्रमाणबाट नागमहात्म्य बुझ्न सजिलो हुन्छ । भनिन्छ जुन घरमा नागको बास हुन्छ, त्यो घरमा लक्ष्मीको बास हुन्छ ।
नागहरू श्रीखण्डको सुगन्ध मन पराउँछन् । सङ्गीत भनेपछि हुरुक्कै हुन्छन् । गर्मीमा दुलोभित्र बस्ने र श्रावणशुक्ल पञ्चमीमा बाहिर निस्किने हुँदा वर्षा गराउनका लागि पनि नागलाई प्रसन्न राख्नु आवश्यक छ । नागका बाह्र नाम छन् । यी बाह्र नाम अनन्त, वासुकि, पद्म, शेष, कुलीर, कर्काेटक, अश्वतर, तक्षक, पिङ्गल, शङ्ख, गोमन र महापद्म हुन् । यी बाह्र वटा नागको स्मरण गरी नागको पूजाआजा गर्नु पर्छ भनिएको छ तर हामी प्रायः अष्टनागकै पूजा गर्ने गर्दछौँ । ती हुन्ः अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख । वासुकि नागलाई आठ नागका राजा मानिएको छ । यसैले हामी वासुकि नागलाई नारायणको अवतार मान्ने गर्दछौँ । समुद्र मन्थन गर्दा नागका राजा वासुकि नागलाई देवता र दानवले डोरीका रूपमा प्रयोग गरेका थिए । जसरी देवता बस्ने ठाउँलाई स्वर्ग भनिन्छ भने नागहरू बस्ने ठाउँलाई पाताल भनिन्छ । नागले हाम्रो परम्परा र नित्य पूजामा पानीलाई जनाउँछ, जसबिना हाम्रो जीवन चल्दैन । हाम्रो जीवनमा यति महत्वपूर्ण भूमिका खेलेको हुनाले हाम्रो जनैमा पनि नौ डोरा धागोमध्ये एउटाले नागको प्रतिनिधित्व गरेको हुन्छ ।
घर अथवा मठमन्दिर बनाउनुभन्दा अघि अर्थात् जग खन्नुअघि नाग कहाँ बसेका छन् भनेर हेर्नु पर्छ र नाग बसेको ठाउँबाट घरमा पानीको निकासका लागि एउटा प्वाल राख्नु पर्छ । यदि नाग बसेकै ठाउँमाथि घर निर्माण गरियो र त्यहाँ नाग चल्यो भने घर भत्किन पनि सक्छ भन्ने मान्यता छ । त्यसैले बेलबेलामा घरको निकासको मुखमा नागलाई अति मन पर्ने खानेकुरा जस्तै दही, मोही, दुध, भात आदि चढाउने चलन छ । यसरी नागलाई खानेकुरा खान ओहोरदोहोर गर्दा घरको निकास सफा रहन्छ र फोहोरमैलाले मानिसलाई जुन रोग लाग्ने हो, त्यसबाट ऊ बच्छ । वर्षको एक पटक वर्षा सुरु हुनुअघि जुन बेला नागले आराम लिएका हुन्छन्, त्यस बेला सिठीको दिनमा धारा, कुलो, इनार, कुवा र अन्य ठाउँमा जहाँ मानिसका लागि पानी प्राप्त हुन्छ, त्यहाँ सरसफाइ गरी नागलाई खानेकुरा चढाउने चलन छ । नागको यति ठुलो महत्वपूर्ण भूमिका छ कि आराध्यदेव पशुपतिनाथको पूजा गर्नुभन्दा अघि वासुकि नागको पूजा गर्नु पर्छ । किनकि वासुकिको दर्शन नगरी पशुपतिको दर्शन गर्दा फल पाइँदैन भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।
श्रीकृष्णले कालीय नागलाई यमुना नदीबाट निकालेपछि नागपूजाको पद्धति चलेको हो भन्ने कथन छ । फेरि श्रीकृष्णले श्रीमद्भागवद् गीतामा आफूलाई ‘नागहरूमा म वासुकि हुँ’ भन्नुभएको छ । काठमाडौँ उपत्यकामा नागसम्बन्धी अनेक लोककथन पाइन्छन् । एकताका गरुड र वासुकि नागबिचमा ठुलो झगडा प¥यो । गरुडबाट लखेटिएका वासुकि नाग पशुपतिनाथको शरणमा आइपुगे । पशुपतिनाथले पनि शरणमा आएकालाई मरण गर्नु हुँदैन भनेर रक्षा गरिदिनुभयो र फेरि उहाँले उनलाई भण्डारी बनाइदिनु भयो । पछि वासुकि नाग रहेको ठाउँको नाम नै वासुकि क्षेत्र कहलियो र आज पनि वासुकि नागको पूजाआजा चलिरहेकै छ । काठमाडौँ उपत्यकामा स्वयम्भू भन्ने स्थानमा शान्तिपुर भन्ने ठाउँ अद्यापि छँदै छ । उहिले एक चोटि पानी नपर्दा देशमा दुर्भिक्ष हुन खोज्यो । त्यसबेला एक जना तन्त्रविद् शान्तिकर गुभाजूले अष्टनागलाई आह्वान गरी उनीहरूबाट रक्तदान लिएर त्यस रगतले अष्टनागको मूर्ति र मन्त्र भएको एउटा पुस्तक लेखे । तदुपरान्त देशमा पानी परी सहकाल भयो भन्ने कथन छ । पछिसम्म पनि देशमा अनावृष्टि हुने बेलामा नागको साधना गरी त्यो पुस्तक शान्तिपुरबाट बाहिर ल्याई घाममा देखाउने चलन थियो । अनि सो पुस्तक घाममा देखाउनेबित्तिकै वृष्टि हुन्थ्यो ।
नागहरूलाई स्वतन्त्र छोडिदिनु पर्छ, बन्धनमा राख्न हुँदैन । नागहरूलाई बन्धनमा पारेको खण्डमा देशमा अनिकाल लाग्छ, पानी पर्दैन भन्ने कुराको प्रमाण वंशावलीमा उल्लेख गरिएको एक घटनाले प्रस्ट पार्छ । एक समय काठमाडौँमा अनिकाल परेको हुनाले गोरखनाथलाई कसैले भिक्षा दिएनन् । अनि आफू उपत्यकामा अपमानित भएको महसुस गरी गोरखनाथले टौदह, नागदहलगायत केही नागलाई आफ्नो शक्तिले गुह्येश्वरी स्थलमा खिँचेर ती नागको टाउकोमा आसन गरी समाधिमा बसे । त्यसरी बस्दा उपत्यकामा निकै ठुलो खडेरी, अनिकाल र महामारी फैलियो । यो घटना घटेको धेरै समयपछि गोरखनाथले नौ नागको साधना गरी तपस्या गरिदिनाले यस्तो भएको हो भन्ने कुरा राजा नरेन्द्रदेवले त्यसबेलाका तन्त्रविद् बन्धुदत्त आचार्यद्वारा थाहा पाए । तान्त्रिकले खडेरी र अनिकालको रहस्य राजालाई बुझाएर भने कि गुरु गोरखनाथले गुह्येश्वरीमा सबै नागलाई खिचेर राखेका कारण समस्या आएको हो । यो समस्या समाधान गर्न गुह्येश्वरीबाट नाग छुटाउनु पर्छ भनेर राजालाई सल्लाह दिए ।
तान्त्रिकले राजालाई यो पनि भने कि, गोरखनाथका गुरु मत्स्येन्द्रनाथ कामरु कामाक्ष पीठमा रहनु हुन्छ । त्यहाँ गएर मत्स्येन्द्रनाथलाई ल्याएर गोरखनाथका सामुन्ने उभ्याएपछि आफ्ना गुरु अगाडि देख्नासाथ गोरखनाथले नागहरू छाडिदिन्छन्, गुरुको दर्शन गर्न उठ्छन् । अनि त्यतिबेला नागहरू फुत्कन्छन् र पानी पार्छन् । पानी परेपछि खडेरीको अन्त्य हुन्छ भनेपछि राजाले तान्त्रिकलाई कामरु कामाक्ष पठाएका थिए । राजाको आज्ञा अनुसार तान्त्रिक बन्धुदत्त आचार्य भरिया रथचक्रलाई साथ लिई कामाक्ष पीठबाट मत्स्येन्द्रनाथलाई ल्याई पु¥याए । आफ्ना गुरु मत्स्येन्द्रनाथ आउनुभयो भन्ने कुरो थाहा पाएपछि गोरखनाथ उठ्न पुगे र गुरुचरणमा स्पर्श गर्न पुगे । त्यसपछि नागहरू मुक्त भई आआफ्ना स्थानमा पुगेर पानी पार्न थाले । त्यसपछि पानी प¥यो, अन्न बाली हुन थाल्यो, अनिकाल ट¥यो अनि राजा र जनता सबै खुसी भएर रहेका थिए भन्ने वर्णन पाइन्छ ।
नागको कृपा र आशीर्वाद प्राप्त गर्न सकेमा हाम्रो भौतिक एवं आध्यात्मिक उन्नति प्रगति सहज रूपमा हुन सक्दछ । वर्षको एक दिन नागपञ्चमीमा हामी नागलाई नागदेवताका रूपमा पूजा आराधना गर्दछौँ । यो हाम्रो संस्कार, संस्कृति हो । यसको पालना गर्नु हाम्रो धर्म हो ।