• १२ असोज २०८१, शनिबार

पानीको मूल्यमा एकरूपता

blog

काठमाडौँ, साउन २५ गते । काठमाडौँ उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) एकरूपता कायम राख्न सरकारले सबै पानी उद्योग तथा व्यावसायिक फर्मलाई निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्तिमार्फत पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिणामको पानीमा फरक फरक एमआरपी लगाई बिक्रीवितरण भएको भन्ने उजुरी विभागमा आएकाले मूल्यमा एकरूपता गर्न सबै व्यावसायिक फर्मलाई निर्देशन दिएको हो । 

त्यसो त पानी उत्पादक कम्पनीहरूले खास गरी होटेल, रेस्टुरेन्ट र व्यावसायिक फर्मसँग सम्झौता गरी जारको पानीको मनपरी एमआरपी राख्ने गरेका छन् । 

विभागका अनुसार काठमाडौँ उपत्यकामा बिक्री हुने प्रतिजार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपियाँ तोकिएको छ भने प्रतिलिटर बोतल पानीको मूल्य १६ रुपियाँ तोकिएको छ । 

यी मूल्यभन्दा फरक पर्ने गरी होटेल, रेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिँदै विभागले विज्ञप्तिमार्फत सचेत गराएको छ ।