• १२ असोज २०८१, शनिबार

सवारी दुर्घटना : तीन वर्षमा २८ जनाको मृत्यु

blog

जुम्ला, साउन २४ गते । जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारी साधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३१, आव २०७९/८० मा २५ तथा आव  २०८०/८१ मा ३५ सवारीसाधन दुर्घटनामा परेका थिए । तीन वर्षमा ६ ट्रक, चार  बस, १६  जीप र कार तथा १५ ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै ३१ मोटरसाइकल र १८ अटोरिक्सा पनि दुर्घटनामा परेका थिए । 

ती सवारी साधन दुर्घटना  हुँदा ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक धामीले बताउनुभयो । तीव्र गतिका कारणले सवारी साधन बढी दुर्घटना हुने गरेका पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन, चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ । जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट छन् । पातारासी गाउँपालिकाको उर्थुमा एक, तिलाको रारालिहीमा दुई, तातोपानीको लिताकोटमा एक, हिमाको बड्कीमा एक तथा कनकासुन्दरीको गुठीज्युलामा एक  ट्राफिक प्रहरी कार्यरत रहेको कार्यालयले जनाएको छ । रासस