• १२ असोज २०८१, शनिबार

पर्यटन मन्त्रीको पूर्व निर्धारित कार्यक्रम स्थगित

हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा: मन्त्री पाण्डे

blog

काठमाडौँ, साउन २४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभएको छ । बुधवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएसँगै मन्त्रीले प्रेस नोट जारी गर्दै यस्तो बताउनुभएको हो । 

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा बुधवार दिउँसो दुर्घटना भएको एयर डाइनेष्टिको ९एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वाभाविक ढिलाइ भएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ । 

दुर्घटनास्थल पहिचान हुनासाथ प्रतिकूल मौसमका बाबजुद उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर पठाइएको सो हेलिकप्टर फिर्ता हुन नसकी राती पनि सोही स्थानमा नै रहेको जानकारी गराउनुभएको छ । करिब १५ दिनको अवधिमा दुई वटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निष्कर्षसहित मन्त्रालयले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राख्दै आजैबाट तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ । 

यसै बिच मन्त्रीले एक हप्ताभरका लागि पूर्व निर्धारित सबै औपचारिक कार्यक्रमलाई स्थगित तथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाका विषयमा केन्द्रित गर्दै आवश्यक कदम चाल्न मन्त्रालय र मातहतका निकायहरूलाई परिचालन गर्ने तयारी गर्नुभएको जनाएको छ ।